भ्रामक सूचनाबाट महिला झन् बढी प्रताडित छन्: परराष्ट्र मन्त्री राणा

काठमाडौँ। परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले भ्रामक सूचना (डिसइन्फर्मेसन्) बाट महिला झन् बढी प्रताडित भएका बताएकि छिन्।

क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकको शनिवार समापनका क्रममा उनले भनिन्, “विश्वमा अहिले गलत सूचना अर्थात् भ्रामक सूचनाको बाढी नै आएको देखिन्छ। तथ्य र तथ्याङ्कमै नपुगी गरिने यस्ता सूचनाको सम्प्रेषणले  समाजलाई गलत दिशातर्फ उन्मुख पनि गराएको छ। यस्तो सूचनाका कारण पुरुषभन्दा अझ बढी महिला सिकार हुने गरेका पाइएको छ।”

महिला नेतृत्व र भ्रामक सूचना विषयक सत्रलाई सम्बोधन गर्दै उनले आफू पनि नेपालमा यस्तै गलत सूचनाहरूको सिकार भएको अनुभव राखिन्। यस्ता सूचनाहरूले आफ्नो व्यक्तिगत तथा राजनीतिक अर्थात् संस्थागत क्षति गर्न खोजिएको प्रसङ्ग उनले राखिन्। 

विश्वका १६ देशका महिला विदेश मन्त्री सहभागी सो बैठकमा उनले भनिन्, “मसँग यस्ता धेरै उदाहरण छन् कि मलाई भ्रमपूर्ण सूचनासँग जोडेर, काल्पनिक घटना तथा प्रकरणहरू खडा गरेर म आफू कहीँ कतै संलग्न नै नभएका विषयमा जबरजस्ती तानेर दोषी देखाउने अनेक प्रयास भएका थिए। जुन कुराको कुनै प्रमाण नभएकाले कानुनबाट कहिल्यै पनि प्रमाणित हुन सक्दैन। अध्ययनबाट मैले पाएको छु नेतृत्वमा रहेका र जान चाहने महिलाका विरुद्धमा अन्यत्र पनि यस्तै हुने गरेको छ।” 

प्रविधिले दिएको विकासलाई यसरी सूचनाको दुरुपयोगमा प्रयोग गर्न नहुने उनको सुझाव थियो। सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा अहिले तीव्र गतिमा विकास भइरहेको र यससँगै अनेक चुनौती पनि थपिएका उनको तर्क थियो। 

भर्चुअल दुनियाँमा विशेष गरी सामाजिक सञ्जालमा धेरैजसो महिलाविरुद्धमा यस्ता सूचनाहरू दिने गरिएको पनि उनले बताईन्। यसबाट महिलाका विरुद्धमा अनेक प्रकारका दुर्व्यवहार हुने, विभिन्न प्रकारका हिंसा र उत्पीडन हुने पनि देखिएकाले यस्ता भ्रमपूर्ण सूचनाहरूबाट पुरुषभन्दा महिला बढी प्रताडित भएका पनि उनले बताईन्। 

विभिन्न अध्ययनहरूले महिला राजनीतिज्ञ एवं नेतृत्वमा जान चाहनेहरूका विरुद्धमा यस्ता सूचनाहरू लक्षित हुने गरेका देखिएको पनि उनको भनाई थियो। 

अल्पसङ्ख्यक समूहका महिला राजनीतिकर्मी, नेतृत्वमा जान चाहने महिला, नारीवादी मुद्दाहरूको वकालतमा क्रियाशील महिला यस्तो प्रवृत्तिको अझ बढी सिकार हुने गरेका उनको भनाई थियो। 

यी समस्याको समयमै सम्बोधन गर्न नसकिए यसले महिला विरुद्धको हिंसा झन् बढाउने र महिला सशक्तीकरणमा हाल प्राप्त उपलब्धिलाई पनि खोस्न सक्ने खतरा रहेको उनले बताईन्। 

डिजिटल दुनियाँको कुनै सिमाना नहुने भएकाले यो समस्याको समाधानका लागि विश्वव्यापी सहकार्य आवश्यक रहेको र यसका लागि डिजिटल र सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरू समेतको सहकार्यमा बहुपक्षीय दृष्टिकोण अपनाउनु जरुरी रहेको मन्त्री डा राणाले बताईन्। 

भ्रामक सूचनाले प्रायः: द्वन्द्व र हिंसा बढाउने, भेदभावको अवस्थालाई प्रश्रय दिने र मानवअधिकारहरूको उल्लङ्घन गर्ने भएकाले यसलाई रोकेर सही सूचनाको प्रवाहका लागि विश्वव्यापी सञ्जाल निर्माण गरेर कार्य योजनाका साथ अघि बढ्नुपर्नेमा पनि मन्त्री डा राणाले जोड दिइन्।

प्रतिक्रिया