दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं । व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्दै देशव्यापी विरोध प्रदर्शनको तयारी गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले आज पक्राउ गरेको छ ।

उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ गरिएको प्रहरीले जनाएको छ । भक्तपुरको ठिमीस्थित उनकै निवासबाट प्रसाईंलाई पक्राउ गरिएको हो ।

साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्यूरोले जानकारी दिएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

नागरिक बचाउ महाअभियान नेपालको नामबाट प्रसाईंले लघुवित्तको कर्जा लिएका सयौं मानिसहरुको घरबास र जायजेथा नै जफत गरिएको र त्यसकै कारण धेरैले आत्महत्या समेत गरेको भन्दै नेता, व्यवसायी र विचौलियाहरुको चर्को विरोध गर्दै आएका थिए ।

आक्रामक शैलीमा विरोध गरिरहेका उनका अभिव्यक्तिबाट ती सबै पक्ष क्रुध्द भएपछि प्रसाईंलाई नियन्त्रणमा लिन प्रधानमन्त्रीमाथि नै व्यापारीहरु र वैंक तथा वित्तिय संस्था सञ्चालकहरुले दवाव दिईरहेका थिए ।

प्रतिक्रिया