काठमाडौँ। संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ।
सोमबार श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम पारित गर्ने वा अस्वीकार गर्ने भन्ने निर्णय लिन बसेको बैठक आवश्यक सांसदहरुको अनुपस्थितिले स्थगित भएको हो।
यसअघि बाँकी १६ जना विभिन्न देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेपनि श्रीलङ्काका लागि प्रस्तावित राजदूत भट्टराईको स्नातक तहको सर्टिफिकेट उपलब्ध नगराएको भन्दै नाम अनुमोदन गरिएको थिएन।
यसअघि आइतबारका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको थियो। नाम स्वीकृत/अस्वीकृत गर्न समितिमा रहेका दुई तिहाई बहुमत सांसदहरुको उपस्थिति अनिवार्य हुन्छ।
आज बसेको बैठकमा समितिमा रहेका १५ सांसदमध्ये ८ जना मात्रै उपस्थित भएकाले निर्णय लिन नसकिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताईन्। दुई तिहाईका लागि समितिमा १० जना सदस्य अनिवार्य उपस्थिति हुनुपर्छ। उनले आजको बैठक स्थगित भएको र मङ्गलवार बिहान ९ बजे बस्ने जानकारी दिईन्।
गत बैठकमा समितिले श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको स्नातक तहको सर्टिफिकेट मागेको थियो। जसमा हालसम्म पनि भट्टराईले सर्टिफिकेट नदिएको बैठकमा उपस्थित एक सांसदले बताए। सरकारले राजदूतमा सिफारिस गरेको भोलि (मङ्गलबार) ४५ दिन पुग्ने भएकाले भोलि नै राजदूत भट्टराईको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने समितिले टुङ्गो लगाउने छ।
प्रतिक्रिया