अमेरिका। संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका लागि सहगोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छिन्।
असंलग्न राष्ट्रहरुको सङ्गठन, नामको मन्त्रिस्तरीय बैठकलाई सोमबार न्युयोर्कमा सम्बोधन गर्दै मन्त्री डा. राणाले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराएकि हुन्।
उनले नेपाल बिपीन जोशीको स्वागतका लागि व्यग्र प्रतिक्षामा रहेको भन्दै यसका लागि विश्व समुदायको सहयोगको आग्रह गरिन्।
गत अक्टोबरमा हमास समूहद्वारा इजरायलमा भएको आतङ्ककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो। सो आक्रमणपछि हमासले जोशीलाई अपहरण गरी लगेका थिए। उक्त हिंसात्मक आक्रमणमा परी अरु पनि कैयौँ मानिस मारिएका थिए।
नेपाल सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको मन्त्री डा. राणाले सो बैठकमा बताईन्।
सम्बोधनका क्रममा मन्त्री डा. राणाले विश्वमा हाल शान्ति स्थापनाका लागि सामूहिक पहलको खाँचो रहेको पनि औँल्याईन्। विभिन्न नाम र बहानामा विश्वका कैयौँ ठाउँमा अहिले पनि युद्ध, विद्रोह तथा हिंसाजन्य कार्यहरु भइरहेकाले हत्या हिंसाको अन्त्य र शान्तिको स्थापनाका लागि विश्वले नै सामूहिक पहल गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो।
मन्त्री डा. राणाले अहिले पनि विश्वका देशहरु निरन्तर रुपमा जारी रहेका यस्ता द्वन्द्व रोक्न, युद्धबाट सृजित समस्याहरुको समाधान खोज्न र नागरिकमा शान्ति र अमनचयन कायम गर्न चुकेको अवस्था देखिएको पनि बताईन्।
परराष्ट्रमन्त्री डा. राणाले गाजामा नागरिकहरुको मृत्यु र यसको सङ्ख्या सुन्दा र देख्दा बडो हृदयविदारक रहेको तथा रुस युक्रेन युद्धमा नागरिकहरुले पाइरहेको दुःख पनि त्यस्तै रहेको भन्दै यस्ता हिंसाजन्य कार्यहरु तत्कालै रोकी समस्याको शान्तिपूर्ण निकास खोज्न आग्रह गरिन्। यस्ता कार्यले कसैलाई पनि न्याय गर्न नसकेकोतर्फ सबै सचेत हुनुपर्ने उनको भनाइ थियो।
नेपाल गाजामा नागरिक, पत्रकार, राष्ट्रसङ्घीय कर्मचारी, स्वास्थ्यकर्मी तथा सबै सर्वसाधारण नागरिकको हत्या, पूर्वाधारहरुमाथिको आक्रमणको निन्दा गर्दछ भन्दै त्यहाँ अस्पताल, निजी घरहरु, विद्यालय आदिको क्षतिले मानिसहरुलाई डर र त्रासमा बस्न बाध्य पारिएकाले यस्ता कार्य तत्कालै रोक्न पनि मन्त्री डा. राणाले माग गरिन्।
मन्त्री राणाले इजरायल र प्यालेष्टिन, रुस युक्रेन होस् या अन्य यस्ता प्रकारका द्वन्द्वहरुको समाधान रचनात्मक तरिकाबाट खोज्न र हिंसा अन्त्यका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध पनि गरिन्।
मन्त्री डा. राणाले नेपाल असंलग्न अभियानको एक प्रतिवद्ध सदस्य राष्ट्र रहेकाले सबै देशहरुबिच शान्तिपूर्ण सहअस्तित्वका आधारमा सहकार्य गरी अघि बढ्ने धारणा राख्दै शान्ति र सहअस्तित्वका लागि एक हुन विश्व समुदायलाई अपिल गरिन्।
प्रतिक्रिया