विशेष टिप्पणी

अमेरिकामा प्रधानमन्त्रीको अपमानको सन्देश

काठमाडौं । संयुक्त राष्ट्रसंघको उनासीऔँ महासभामा भाग लिने सिलसिलामा अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेपाली समुदायले न्यूयोर्कमा आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी हुन पाएनन् । त्यहाँको नेपाली निकायले जारी गरेको सूचना अनुसार ‘व्यस्तता’ र ‘सुरक्षा संवेदनशीलता’ अर्थात् असुरक्षाका कारणले कार्यक्रम रद्द गर्नुप¥यो । 

Nepali Teamयस विषयमा लामो भूमिका आवश्यक छैन । कुरा यत्ति हो कि प्रधानमन्त्री ओली नेपाली समुदायको कार्यक्रममा सहभागी हुन पाएनन् किनभने त्यहाँ उनका विरुद्ध नारा लाग्ने भयो, कालो झण्डा देखाइने भयो । कुनै अनपेक्षित वितण्डा हुन सक्ने भयो । 

त्यही न्यूयोर्कमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा भारतीय समुदायले आयोजना गरेको भव्य समारोह संसारभरका नेपालीहरूले हेरे, देखे; र नेपालबाट पनि । 

अमेरिकामा होस् कि जुनसुकै विदेशी मुलुकमा, त्यहाँको नेपाली समुदाय आफ्नो देशको सरकारसँग असन्तुष्ट रहन सक्छ, असन्तुष्ट हुन पाउँछ, विरोध गर्न पनि पाउँछ । कुरो असन्तुष्टि र विरोधका सम्बन्धमा होइन, शैलीका सम्बन्धमा हो, शैलीको अशिष्टताका सम्बन्धमा हो । 

न्यूयोर्कमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु राणाविरुद्ध भएको नाराबाजी र गौरा पर्वका अवसरमा टुँडिखेलमा भएको नाराबाजी उस्तै होइन । प्रधानमन्त्रीको स्वागत कार्यक्रममा सहभागी हुन अमेरिकाको निकै टाढाटाढाबाट पनि नेपालीहरू जम्मा भएका थिए । यहाँ आफ्ना प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने अवसर थियो । कामको, सुझाबको, स्पष्टीकरणको, नेपाली दृष्टिकोणको, अमेरिकामा बसोवास गरेका नेपालीको दृष्टिकोणको, असन्तुष्टिको वा विरोधकै किन नहोओस्; प्रश्न जे पनि हुन सक्थ्यो । 

यसरी ठाउँको ठाउँ प्रधानमन्त्रीसँग संवाद गर्ने र उनको जवाफ सुन्ने अवसर थियो । त्यो अवसर नेपाली समुदायले गुमायो; आफ्नै कारणले, आफ्नै उत्तेजनाले र आफ्नै अशिष्टताका कारणले । 
नेपाली समुदायले यस्तो अवसर मात्र गुमाएन; बुद्धभूमिमा उत्पत्ति हुनुको र नेपाली नागरिक हुनुको प्रतिष्ठा पनि गुमायो । 

कवि भूपि शेरचनले ‘हामी’ शीर्षकको कवितामा लेखेका छन्– हामी वीर छौँ तर बुध्दुु छौँ, हामी बुद्धु छौँ र त हामी वीर छौँ, हामी बुद्धु नभईकन वीर कहिल्यै हुन सकेनौँ ।

न्यूयोर्कमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको ‘हामी’ वीर भएर हो कि बुद्धु भएर हो ?
 
बुद्धु भएर हो भनौं त अति विकसित र विश्वशक्ति अमेरिकामा आफ्नो क्षमताले बसोबास र व्यवसाय गरेका गरेका नेपाली ! वीर भएर हो भनौँ त पाहुना भएर गएका आफ्नै देशका प्रधानमन्त्री सहन नसक्ने ! 

ज्ञातव्य छ, प्रधानमन्त्री ओली सर्वगुण सम्पन्न होइनन्; उनी अनालोच्य पनि छैनन्, विरोधबाट मुक्त पनि छैनन् । यसको अर्थ उनी देशको प्रधानमन्त्रीका रूपमा त्यति असैह्य नेता पनि होइनन् जति असैह्य अमेरिकामा रहेका केही नेपालीका लागि भए । 

भारतीय प्रधानमन्त्री मोदी पनि अनालोच्य छैनन् । उनी त लोकप्रियताको ग्राफ स्वाट्टै ओह्रालो लागेका प्रधानमन्त्री हुन् । केही महिनाअघिको निर्वाचनमा अफ्नो दलको बहुमत गुमाएर अरूको सहयोगमा प्रधानमन्त्री बनेका हुन् । 

त्यही न्यूयोर्कमा कति भव्यरूपमा मोदीको स्वागत भयो ! भारतीय समुदायले कुन उत्साहका साथ उनको कुरा सुन्यो ! 

नेपाली समुदायमा के भयो ! 

अमेरिकामा बस्ने नेपाली समुदायका अनेक दुःखहरू होलान्, नेपाल सरकारसँग अनेक गुनासाहरू होलान् । तिनको समाधान पाहुना भएर गएका प्रधानमन्त्रीसँग संवाद र छलफलबाट निस्कन्थ्यो कि नाराबाजीबाट ? 

प्रश्न सामान्य होइन किनभने देशको प्रधानमन्त्री आफ्नै देशमा होइन, विदेशी भूमिमा आफ्नै समुदायको विरोधका कारणले पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन पाएनन् । 

कार्यक्रम नै रद्द गर्नुपर्नेगरीको विरोध र नाराको खास कारण के थियो ? माग के थियो ? हाम्रा प्रधानमन्त्रीले थाहा पाएनन्, यता नेपालमा रहेका नेपालीले पनि थाहा पाएनन् । शायद कार्यक्रम आयोजकहरूले पनि थाहा पाएनन् । 

यसैकारणले भनेको ‘उत्तेजना’ भनेर । 

हामी नेपालीको बुद्धि कहीँ गए पनि नसुध्रिने भयो कसरी भनूँ ! अमेरिकाले त्यो हदको अशिष्टता सिकायो कसरी भनूँ ! प्रधानमन्त्रीलाई गरिएको अवरोध खासमा केही सीमित व्यक्तिहरूको अतिपूर्वाग्रह र अशिष्टताको परिणाम हो । अमेरिकाले त नेपालीलाई उच्च शिक्षा दिएको छ, प्रविधि दिएको छ, अवसर दिएको छ । त्यही अमेरिकामा कयौं नेपालीहरूले आफ्नो देशको सुनाम बनाएका छन्, व्यवसाय गरेका छन्, धन कमाएका छन्, मातृभूमिमा लगानी गरेका छन् । 

आफ्नो देशका प्रधानमन्त्री विरुद्ध विदेशी भूमिमा चरम अनादर गर्नेहरू तिनै हुन् जसले आफ्नो भूमिमा त केही सिकेनन् नै, त्यो विश्वशक्तिको भूमिमा पनि सिकेनन् । तिनले कहिल्यै आदर र शिष्टाचार सिक्दैनन्, कहिल्यै पनि आफ्नो मातृभूमिको आदर गर्न सक्दैनन् । 

आफ्ना प्रधानमन्त्रीलाई आफ्नै समुदायको कार्यक्रममा सहभागी हुन नदिएको घटनामा नेपालबाट हेर्दा अशिष्टता र असहिष्णुताको पराकाष्ठा देखियो । संसारमा शिर उचो गरेर रहेको सगरमाथाको देश, शान्तिका अग्रदूत गौतम बुद्धको देशको प्रतिष्ठा धमिलिएको देखियो । नेपाली हुनुको गौरव धमिलिएको देखियो । 

यस घटनाको पृष्ठभूमिमा ‘संसारको जुन देशमा पुगे पनि जति उच्च शिक्षा हासिल गरे पनि नेपालीको बुद्धि सुध्रिएन’ भन्ने भाष्य सही होइन । अमेरिकामा प्रधानमन्त्रीको स्वागत कार्यक्रम आयोजना गर्ने पनि नेपाली नै   हुन् । निश्चय नै, विरोधी समुदायको तुलनामा आयोजक समुदाय नै ठूलो थियो । बिथोल्नेहरू जहाँ भए पनि र कहिल्यै पनि नसुध्रिने मुठीभर नै हुन् । 

हामीले मुठीभरका भने पनि अमेरिकाले नेपाली नै भन्छ, विश्वसमुदायले पनि नेपाली नै भन्छ । यो घटनाले नेपाली हुनुको गौरव बढाएन, धुलिसात् गरायो । उत्तेजनाका सामुन्ने ‘अतिथि देव भवः’ निरीह भयो । 

यता नेपालमा हाम्रा लागि दुःखको कुरा यही हो । 

न्यूयोर्कमा रहेको नेपाली निकायले भनेको ‘व्यस्तता’ र ‘सुरक्षा संवेदनशीलता’ अर्को पराकाष्ठा हो । व्यस्तताले रद्द हुने किन होइन भने त्यो कार्यक्रम पूर्वनिर्धारित थियो । सुरक्षा संवेदनशीलता किन होइन भने यति बेला नेपाली प्रधानमन्त्रीसँगै संसारभरका धेरै सरकारप्रमुखहरू न्यूयोर्कमा छन्, तिनलाई अमेरिकाले सुरक्षा दिन सकेकै छ । 

विरोध हुनु असुरक्षा होइन । अमेरिकी सुरक्षा अधिकारीहरूले सहभागी नहुन सल्लाह दिएका हुन् भने कार्यक्रममा नेपालीहरूबाटै प्रदर्शन हुन सक्ने अशिष्टता र उत्तेजनामा अमेरिकी सुरक्षा अधिकारीहरूको असहमति हो । 

नेपालमा रहेका नेपालीका लागि यो घटना दुःखद् हो, अशोभनीय घटना हो । नेपाली हुनुको गौरवमाथिको प्रहार हो । यसो हुन नहुने थियो तर नहुनुपर्ने नै भइदियो । 

अपेक्षा गरौँ अमेरिकामा र जुनसुकै विदेशी भूमिमा पनि, उपरान्त यस्तो उत्तेजना र अशिष्टता हुनेछैन । आशा गर्ने ठाउँ छ किनभने हामी नेपाली रत्नाकर नामका डाकु वेदव्यास बनेको कथा सुनेर–पढेर हुर्केका हौं नि ! 
 

प्रतिक्रिया