शिया-सुन्नीबीचको भूमि विवादमा पाकिस्तानमा फेरि झडप, ३६ जनाको मृत्यु

इस्लामाबाद। पाकिस्तानको खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा शिया र सुन्नी मुस्लिमबीचको जग्गा विवादमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ। ८० भन्दा बढी घाइते भएका छन्। समाचार एजेन्सी एपीका अनुसार दुई समुदायबीच ५ दिनदेखि झडप चलिरहेको छ। कुर्रममा तैनाथ एक अधिकारीले लडाईमा धेरै घर जलेको बताएका छन्।

हिंसा अन्त्यका लागि सरकारले गरेको प्रयास अहिलेसम्म असफल सावित भएको छ। रिपोर्टका अनुसार कुर्रममा पछिल्ला केही वर्षहरूमा शिया-सुन्नी विवाद धेरै पटक भइसकेको छ। सुन्नी समुदायले सीमापार अफगान जनजातिहरूबाट समर्थन पाउँछन्। जुलाईमा पनि दुई समुदायबीच जग्गाको विवादमा ५० भन्दा बढीको ज्यान गएको थियो।

दुई परिवारबीच सुरु भएको झगडा जिल्लाभर फैलिएको हो। यो विवादको जरा ३० एकड जमिन हो। कुर्रम जिल्लाको बुसेहरा गाउँमा दुई जातिबीच स्वामित्वको हकलाई लिएर विवाद भएको छ। अगस्टमा, अधिकारीहरूले आदिवासी समुदाय जिर्गाका अग्रजहरूसँग मिलेर दुई समुदायबीच सम्झौता गराए, त्यसपछि केही समय विवाद शान्त भयो।

पाकिस्तानी पत्रिका डनको रिपोर्ट अनुसार सन् २००७ मा सुन्नी मिद्दी र शिया मलिखेल समुदायबीच विवाद सुरु भएको थियो। त्यतिबेला पनि हिंसाका घटनाहरु भएका थिए। गत वर्ष जुलाईमा पनि विवाद भएको थियो, जसमा धेरैको मृत्यु भएको थियो।

गत वर्ष समाप्त भएको विवाद २०२३ को जुलाईमा फेरि सुरु भएको थियो। दुई पक्षबीचको झगडा रोकिएपछि उनीहरुबीच सहमति भएको थियो। कसको जग्गा हो भन्ने निर्णय सरकारले गर्ने निर्णय भयो। दुबै पक्षले जग्गा विवाद समाधान गर्ने भूमि आयोगको नियम पालना गर्नुपर्नेछ, त्यसपछि आयोगले आफ्नो निर्णय गर्दै यो जग्गा शिया समुदायलाई दिएको हो।

तर एक वर्षपछि यो विषयमा फेरि विवाद सुरु भयो। सन् २०२४ को जुलाईमा जग्गासम्बन्धी विवादमा वार्ता भइरहेको बेला एक व्यक्तिले गोली चलाएको थियो। त्यसपछि दुई समुदायबीच रक्तपातपूर्ण द्वन्द्व सुरु भयो।

प्रतिक्रिया