काठमाडौं । चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरीले राम्रो तयारी गरेको जनाएको छ । दशैंका बेला बढी भिड हुने खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती बढाएर सुरक्षा दिईने प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ ।
आज शुक्रबवार सम्वाददाता भेलामा जिल्ला प्रहरी परिसर, काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो । प्रहरीले चाडपर्व लक्षित सुरक्षाका क्षेत्रहरु, स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने स्थानहरु, अन्य जिल्लाका लागि सवारी छुट्ने स्थानहरु, व्यक्तिहरुको खालि रहेको घर, सरकारी कार्यालय र भीडभाड हुने बजारहरु रहेको उल्लेख गरेको छ ।
त्यस्तै एटिएम बुथ, खसीबजार, गरगहना पसल, धार्मिक स्थल, शक्तिपीठ, पूजास्थल, बस टिकट काउन्टर, बसपार्क र बस पकेटहरुमा पनि सुरक्षा दिनुपर्ने भन्दै ती स्थानहरुमा सुरक्षाकर्मीको उपस्थिति रहने जनाएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले प्रहरीले सुरक्षा दिनुपर्ने आवश्यक सबै स्थानहरुमा सुरक्षा दिनका लागि प्रहरी तयार रहेको बताए । प्रहरीले व्यक्ति तथा सम्पत्तिहरु, मठमन्दिर तथा जात्राहरु, बढी भीडभाड हुने बैंक तथा वित्तीय संस्थाहरुमा प्रहरी गस्ती गरी सुरक्षा दिने रजौरेले बताए ।
त्यसैगरी सहज तथा उचित मूल्यमा टिकटको व्यवस्थापनमा प्रहरी सचेत रहेको र पर्याप्त सवारी साधनको उपलब्धता तथा सहज ट्राफिक सञ्चालनमा सहयोग गर्ने प्रहरीको भनाई छ ।
त्यसैगरी प्रहरीले सरकारी सम्पत्ति तोडफोड हुनसक्ने र भीडभाड बजारमा पकेटमारी हुन सक्ने भन्दै सुरक्षाका लागि प्रहरीको व्यवस्था मिलाइएको जानकारी दिइएको छ । एटिएम बुथ क्षेत्रतर्फ गस्ती निगरानी गर्ने, गरगहना पसलको सुरक्षामा, शक्तिपीठ, मन्दिर तथा पूजास्थलमा पनि गस्ती हुने छ ।
टिकट काउन्टरहरुले महँगो भाडा असुल्ने, झैझगडा, चोरी, विवाद हुनसक्ने भन्दै त्यहाँ यात्रु सहायता कक्षको व्यवस्था गरी सुरक्षा व्यवस्थापन गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया