‘भैरहवा र पोखरा विमानस्थल सञ्चालन भए दोब्बर पर्यटक नेपाल भित्रिन्छन्’

काठमाडौँ। नेपाल होटल सङ्घ (हान) का अध्यक्ष विनायक शाहले नेपालका लागि दिगो रुपमा विदेशी मुद्रा आर्जनको मुख्य स्रोत पर्यटन क्षेत्र रहेको बताएका छन्।

पर्यटन दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राज्यले घोषणा गरेको पर्यटन दशकलाई सार्थक बनाउन होटल सङ्घलगायत सम्बन्धित सङ्घसंस्थाहरु टुगेदर फर टुरिजमको नाराका साथ अघि बढिरहेको बताए। उनले सरकारसँग काँधमा काँध मिलाएर अघि बढ्न आफूहरु तयार रहेको जानकारी दिए। उनले सबै मिले देश बनाउन सकिने भन्दै एकजुट भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले नयाँ विमानस्थलहरु भैरहवा र पोखरालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनसके मुलुकमा पर्यटन आगमन आजको अवस्थाभन्दा दोब्बर हुने विश्वास व्यक्त गरे।

उनले भने, ‘‘दिगो रुपमा विदेशी मुद्रा आर्जनको मुख्य स्रोत पनि पर्यटन नै हो। राज्यले घोषणा गरेको पर्यटन दशकलाई सार्थक बनाउन, राज्यले अवलम्बन गरेका नीति र कार्यक्रमहरुमा होटल सङ्घलगायत हामी सबै पर्यटन व्यवसायमा लाग्नेहरु टुगेदर फर टुरिजमको नाराका साथ सम्बन्धित सङ्घसंस्था सबैले काँधमा काँध मिलाएर सहकार्य गरी यो देशको उन्नति र प्रगतिको लागि अघि बढेका छौँ। नयाँ विमानस्थलहरु भैरहवा र पोखरालाई पनि पूर्णरुपमा सञ्चालनमा ल्याउनसके मुलुकमा पर्यटन आगमन आजको अवस्थाभन्दा दोब्बर हुन सक्छन्।’’

अध्यक्ष शाहले तर्जुमाको क्रममा रहेको पर्यटन नीति, पर्यटन ऐन समग्र पर्यटन विकास, विस्तार र सुदृढीकरण जोड दिनेगरी बन्नेमा आशावादी रहेको बताए।

प्रतिक्रिया