अमेरिकामा हेलेन आँधी: १ करोडभन्दा बढी प्रभावित

अमेरिका। अमेरिकामा हेलेन आँधी निकै खतरनाक तहमा पुगेको छ। यसबाट हालसम्म कम्तीमा ४ जनाको मृत्यु भइसकेको छ। सीएनएनका अनुसार हेलेन बिहीबार फ्लोरिडा प्रवेश गरेको थियो। यस अवधिमा प्रतिघण्टा २२५ किलोमिटरको गतिमा हावा चलेको थियो।

आँधीका कारण फ्लोरिडा र आसपासका राज्य जर्जिया, नर्थ क्यारोलिना, साउथ क्यारोलिना, भर्जिनिया र अलाबामामा आपतकाल घोषणा गरिएको छ। यसबाट करिब १ करोड २० लाख मानिस प्रभावित छन्। यो आँधी अन्य राज्यहरूमा फैलिने सम्भावना छ, जसबाट ५ करोड मानिस प्रभावित हुनेछन्।

आँधीका कारण एक हजारभन्दा बढी उडान रद्द भएका छन्। यसबाहेक ४ हजारभन्दा बढी उडान ढिला भएको छ।

अमेरिकी मौसमविद् फिल क्लोट्ज्बाचले विगत ३५ वर्षमा हेलेनभन्दा तीन वटा मात्रै ठूला आँधी भएको बताएका छन्। २०१७ को इर्मा, २००५को विल्मा र १९९५ को ओपल।

इर्मा आँधीका कारण अमेरिका र आसपासका देशमा १३४ जनाको मृत्यु भएको थियो। विल्माबाट २३ जना र ओपल आँधीबाट २७ जनाको मृत्यु भएको थियो।

मौसमविद्का अनुसार बढ्दो तापक्रमका कारण शक्तिशाली आँधीको संख्या बढ्दै गएको छ।

प्रतिक्रिया