अफगानिस्तानको तालिबान समूहले काबुल शहरको पसलहरूको ‘साइनबोर्ड’मा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिबानको उक्त निर्णयले अन्तर्राष्ट्रिय समुदायमा उसको छविलाई थप चिढ्याउन सक्ने कदमका रूपमा अधिकारकर्मीहरूले व्याख्या गरेका छन् ।
काबुलका पसल तथा व्यापारिक केन्द्रका साइनबोर्डहरूमा महिलाहरूको सबै फोटो हटाउन सरकारले नगरपालिकाका अधिकारीहरूलाई आदेश दिएको कुरा टोलो न्युजले काबुल नगरपालिकाका प्रवक्ता नेमतुल्लाह बाराक्जाईलाई उदृत गर्दै लेखेको छ । सरकारको निर्णयको आधारमा इस्लामी नियमको विरुद्धमा रहेका फोटोहरू विज्ञापन पाटीबाट हटाइने बाराक्जाईले बताएको समाचारमा उल्लेख गरिएको छ ।
काबुलमा सौन्दर्य सैलूनका मालिकहरूले इस्लामिक इमिरेटको निर्णयको आलोचना गरे र सरकारलाई उनीहरूको व्यवसायमा प्रतिबन्ध नलगाउन पनि आग्रह गरेका टोलो न्यूजले समाचारमा लेखेको छ ।
सात वर्षदेखि ब्यूटी सैलुनमा काम गरी आफ्नो १० सदस्यीय परिवारलाई आर्थिक सहयोग गरिरहेको र सरकारको निर्णयले आफूलाई आर्थिक तथा व्यवसायिक सङ्कट पर्ने काबुलकी सौन्दर्य व्यवसायी शायस्ता सैफीले बताए । उनले भने, “निर्णयले महिलाहरूको व्यवसायमाथि नै प्रतिबन्ध र नियन्त्रण गर्नेछ ।
आगामी केही दिनहरूमा तिनीहरूले हाम्रो पसलमा ताला लगाइदिनेछन् भन्ने त्रास बढेको छ ।” महिला अधिकारकर्मी परवानाले सरकारको निर्णयको विरोध गर्दै प्रतिप्रश्न गरे, “महिलाको फोटो हटाई सरकारलाई के फाइदा हुन्छ ? यो महिलालाई सामाजिक उत्तरदायित्वबाट पछि पार्ने कामबाहेक केही होइन ।”
अन्तर्राष्ट्रिय संगठनहरूले तालिबानलाई महिलाहरूको अधिकारको उपेक्षा नगर्न र समाजबाट महिलालाई सीमान्त नबनाउन बारम्बार आह्वान गर्दै आएका छन् भने तालिबानले पनि आफ्नो पहिलेको शासनकालमा जस्तो कडा प्रस्तुत नहुने र आफ्ना शुभचिन्तक तथा विपक्षी सबैलाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता प्रकट गर्दै आएको छ । यद्यपि तालिबान सरकारको भनाइ र कार्यशैलीमा भने भिन्नता रहने गरेको अधिकारकर्मीहरूले बताउँदै आएका छन् । उनीहरूले तालिबान समूहले आफ्नै प्रतिवद्धतालाई उल्लङ्घन गर्ने गरेको आरोप लगाएका छन् ।
प्रतिक्रिया