चीनको बेइजिङस्थित तिआनानमेन स्क्वायरमा भएको नरसंहारको सम्झनामा युनिभर्सिटी अफ हङकङमा स्थापना गरिएको एउटा प्रख्यात प्रतिमा हटाइएको छ ।
आठ फिट अग्लो तामाको उक्त प्रतिमा हटाउनका लागि प्लास्टिकले उक्त क्षेत्र छोपेर रातभर कामदारहरू खटिएका थिए । ’द पीलर अफ सेम’ भनिने उक्त मूर्तिमा सन् १९८९मा चिनियाँ अधिकारीहरूले हत्या गरेका प्रजातन्त्र पक्षधर समर्थकहरूको सम्झनामा लासको थुप्रो देखाइएको छ । विश्वविद्यालयले गत अक्टोबर महिनामा उक्त मूर्ति हटाउन निर्देशन दिएको थियो ।
अधिकारीहरूले बुधबार त्यो मूर्ति हटाउने निर्णय गरेको युनिभर्सिटी अफ हङकङले जनाएको छ । “विश्वविद्यालयको सर्वोत्तम हितको लागि पुरानो मूर्तिबारे निर्णय बाहिरी कानुनी सल्लाह र जोखिम मूल्याङ्कनमा आधारित थियो,“ एक विज्ञप्तिमा भनिएको छ। डेनमार्कका मूर्तिकारले बनाएको सो प्रतिमा विश्वविद्यालयमा २४ वर्षदेखि राखिएको थियो ।
विश्वविद्यालयका अधिकारीहरूले मूर्ति स्थापना गरिएको क्षेत्रलाई प्लास्टिकले बारेसँगै बुधबार अबेर उक्त प्रतिमा हटाउन लागिएको पहिलो सङ्केत प्राप्त भएको थियो । सुरक्षामा खटिएका कर्मचारीहरूले सञ्चारकर्मीहरूलाई उक्त स्थानसम्म पुग्नमा रोक लगाएका थिए र त्यो दृश्य कैद गर्नमा पनि रोक लगाउने प्रयास गरेका थिए ।
विश्वविद्यालयले त्यो मूर्ति आफ्नो गोदाममा राख्ने जनाएको छ । सन् १९८९ मा बेइजिङको तिआनानमेन स्क्वायरमा चिनियाँ सुरक्षा फौजले सयौँ प्रदर्शनकारीहरूको हत्या गरेका थिए।
प्रतिक्रिया