मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के पुरस्कार

काठमाडौं । भारतीय सिनेमाका अभिनेता मिथुन चक्रवर्ती दादासाहेब फाल्के पुरस्कारका चयन भएका छन् । बलिउड सिनेमाको क्षेत्रमा योगदान गरेका कलाकारलाई सम्मान स्वरुप प्रदान गरिने यो पुरस्कारलाई सिनेजगतको उच्च सम्मान मानिन्छ । 

भारतका केन्द्रीय मन्त्री अश्विनी वैष्णवले ट्विटमा यो सूचना सार्वजनिक गरेका हुन् । उनले दादासाहेब फाल्के चयन निर्णायक मण्डलले यस प्रतिष्ठित पुरस्कारको लागि लोकप्रिय अभिनेता चक्रवर्तीलाई चयन गरेको खुलासा गरेका हुन् ।

अवार्ड अक्टोबर ८ मा हुने ७० औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा प्रदान गरिने छ ।

मिथुन चक्रवर्ती तीन पटकको राष्ट्रिय पुरस्कार विजेता, डेब्युमा उत्कृष्ट अभिनेताको अवार्ड जित्ने थोरै मध्ये एक हुन्हि । उनले हिन्दी, बंगाली, भोजपुरी, ओडिया, तेलुगु र तमिलमा ३५० भन्दा बढी चलचित्रहरूमा अभिनय गरिसकेका छन् ।

कलकत्तामा जन्मेका चक्रवर्तीले १९७६ को फिल्म 'मृगया' बाट आफ्नो अभिनयको सुरुवात गरे, जुन भूमिकाले उनलाई सर्वश्रेष्ठ अभिनेताको लागि राष्ट्रिय चलचित्र पुरस्कार दिलायो । उनले आफ्नो करियरमा, 'तहदर कथा' १९९२ र 'स्वामी विवेकानन्द' (१९९८) मा आफ्नो अभिनयका लागि थप दुईवटा राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए। हालै उनी विवेक अग्निहोत्रीद्वारा निर्देशित ‘द कश्मीर फाइल्स’ मा देखा परेका थिए ।


 

प्रतिक्रिया