काठमाडौं । संसदको अर्थ समितिले सार्वजनिक खरिद ऐन संशोधन गरेपछि स्वदेशी वस्तु उपभोग कार्यविधिलाई मन्त्रीपरिषद्बाट पास गर्न बाटो खुलेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अर्थ समितिबाट सार्वजनिक खरिद ऐन संशोधन पास गरे लगत्तै स्वदेशी वस्तु उपभोग कार्यविधिलाई मन्त्रीपरिषद्बाट पास गर्ने प्रतिवद्धता गरेका छन् ।
काठमाडौंमा आज सुरु भएको तेस्रो हिमालयन अन्तर्राष्ट्रिय एक्स्पोमा बोल्दै मन्त्री भण्डारीले पछिल्लो समय धेरै विधेयकहरु समितिहरुमा अल्झेर बसेकाले सरकारले काम गर्न नपाएको खुलासा गरेका थिए ।
संघीय सरकार, संघीय संसददेखि स्थानीय तहसम्म सबै तहका सरकारहरु, निजामति, सेना, प्रहरी, सशस्त्र प्रहरी, विद्यालयहरु लगायतका क्षेत्रमा स्वदेशी वस्तु उपभोग अभियान सुरु गर्ने सरकारको चाहनालाई अब बाटो खुलेको मन्त्री भण्डारीको भनाई छ ।
सांसदहरुको संशोधन प्रस्ताव स्वीकार गर्छु भनेर समितिमा पटक–पटक भन्दा पनि समितिहरुले विधेयकहरु अगाडि बढाउन नसकेको भण्डारीको गुनासो थियो ।
सार्वजनिक खरिद ऐनमाथि सरकारी निकाय, निजी क्षेत्र र साना ठूला ठेक्कापट्टामा सम्बन्ध रहेका व्यक्ति तथा कम्पनीहरुको गहिरो चासो रहने गरेको छ । महालेखा परीक्षक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतमा समेत यही ऐनसँग स्वार्थ जोडिएका कैयौं विवाद अल्झिएर रहने गरेका छन् । (न्यूज एजेन्सी नेपालको सहयोगमा)
प्रतिक्रिया