स्थलगत ताजा खबर

बीपी राजमार्ग नखुल्ने नै हो त ?

काठमाडौं । बीपी राजमार्गमा ट्रयाक खोल्ने कार्य कठिन बनेको छ । रोशी क्षेत्रमा अलपत्र गाडी पठाउन र दशैँको बेला पूर्वतिरको यात्रा सहज बनाउन सडक विभाग, स्थानीय निकाय, जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकर्ता खटिनै रहेका छन् ।

 

D SS 1

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामासँग भर्खरै कुराकानी भयो । उहाँ यतिबेला रोशी क्षेत्रमै हुनुहुन्छ । हेलिकप्टरबाट लगिएको डिजल सकिएको छ। पिप्लेमा रोशी डाइभर्सन जटिल बनेको प्राविधिकले बताएका  छन् । दुम्जा नेपालथोकबाट माम्तीतिर पनि काम भइरहेको छ । तर, रोशी डाइभर्सन त्यति सजिलो भइरहेको छैन ।बिकल्पका रूपमा भकुण्डेबाट तिमालको बाटो पनि छ । 

तिमाल गाउँपालिका उपाध्यक्ष दलमान ठोकरका अनुसार, शनिबारसम्म तिमालको मेच्छे पौवा र सुनकोशी पुल सिंदुरेटारसम्म सडक सफा गरिसकिने छ । भकुण्डेबाट कोटतिमालसम्म माटो दलदले र चिप्लो अवस्था छ । बस चल्नसक्ने सम्भावना कम छ । तर, चार चक्के गाडी र बाइक मेच्छे पौवासम्म लैजान सकिने भनाइ उहाँको छ । तिमाल डाँडाबाट माम्ती झरेर बीपी राजमार्ग जोडिन सक्छ । तर, माम्तीनिरको बीपी मार्गमा रोशी डाइभर्सन सम्भव भएमा । भोलिसम्म माम्तीमा रोशी डाइभर्सन गर्ने लक्ष्य प्राविधिकले लिएका छन् ।

बीपी राजमार्ग  
 
Dsss 4

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग प्रयोगकर्तालाई त्यति खुशीको समाचार दिएको छैन । दशैअघि बीपी राजमार्ग खोल्न नसकिने मन्त्रालयले जनाएको छ । तथापि, रोशी खोला क्षेत्रमा अलपत्र रहेका गाडीलाई अन्यत्र पठाउनसमेत चाँडोभन्दा चाँडो ट्रयाक खोल्नुपर्ने अवस्था छ । 

त्यहिअनुसार सडक विभाग र स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकर्ता जुटिरहेका छन् । दर्जन स्काभेटर रोशीखोला तर्काउने र बाटो बनाउनेमा खटिएका छन् । मन्त्री र सचिव भेटेर समेत सडक सञ्चालनका लागि माग गरिरहेका छन् । 

प्राविधिकले समेत रोशी खोलाले अझै आफ्नो आकार नलिएको बताएका छन् । जसले गर्दा पानी निकासका लागि कल्भर्ट राख्न समस्या भइरहेको छ । रोशीले आफ्नो स्थान बनाएपछि मात्र त्यहाँ ढल राख्न सकिन्छ । अन्यथा, रोशीले खियाएर गहिरिने क्रम जारी राखेको छ । 

बीपी मार्गको विकल्पका रुपमा भकुण्डे–तिमाल मेच्छे पौवासम्म यातायात सञ्चालनका लागि बाटो सफा गर्ने कार्यसमेत भइरहेको छ । बीपी राजमार्गको विकल्पका रुपमा सडक विभागले त्यतातिर पनि सहयोग केन्द्रित गरी सडक खुलाउन सक्छ । 

D SS

बीपी राजमार्ग वातावरणमैत्री सुन्दर सडकका रुपमा चर्चित छ । आज त्यहि सुन्दर राजमार्ग कुरुप अवस्थामा छ । वातावरणमैत्री सडक स्वयं प्राकृतिक दोहनको शिकार बनेको छ । बाढीले रोशीखोला क्षेत्रको बीपी राजमार्गको जगैसहित सिनित्त बनाएको अवस्था छ ।

जापान सरकारले बनाएको सडक यसरी किन र कसरी बगायो ? यो गम्भीर प्रश्न हो । सडक निर्माणमा नै प्राविधिक त्रुटि थियो या सडकको भारवहन क्षमतााभन्दा बढी हामीले प्रयोग गर्यौ ? या रोशी आसपास, छेउछाउ दर्जनौँ ढुङ्गाखानी, बालुवाखानी, क्रसर चलाएर सडकलाई कमजोर बनायौँ ? राज्यले यस विषयमा अध्ययन गर्ला नै । सरकारले नगरे पनि जापान सरकारले पक्कै यसको अध्ययन गर्नेछ । रोशी बाढीले यस्तो क्षति कसरी पुर्यायो ?
 
(सिन्धुलीको दुम्जा निवासी पत्रकार दिपक श्रेष्ठले त्यस क्षेत्रको ताजा अपडेट आफ्नो फेसबूकमा पोष्ट गरिरहेका छन् । सार्वजनिक सरोकारको सूचनाहरु भएकाले दिपकसँग अनुमति लिएर हामीले यहाँ पोष्ट गरेका हौं । तस्बिरहरु पनि उनकै । धन्यवाद)

प्रतिक्रिया