चस्मा लगाउनुका कारण छन् । घामको चम्कीलो प्रकाश र धुलोबाट बच्न या आँखाको पावर बढाउन । टाउकोमा टोपी लगाउनुका कारण लेखिरहनु परोइन्, राम्रो देखिन, घामबाट टाउको जोगाउन या तालु छोप्न ।
नारीहरु गाजल लगाउँछन्, आँखाको सौन्दर्य बढाउन या आँखा स्वस्थ राख्न । ओठमा लिपस्टीक र गालामा लाली पाउडर दल्ने भनेको सौन्दर्यमा अझ चमक ल्याउन नै हो । कपालमा रातो, कालो, खैरो मेहन्दी लगाउनुमा पनि अनेक प्रयोजन छन् । कोही फुलेको कपाल रंग्याएर तन्नेरी देखिन चाहन्छन्, कोही अझ सुन्दर देखिन ।
निधारमा टिका चाहिँ किन लगाइन्छ रु यसका धेरै कारण छन् । सौन्दर्यको पक्ष त छँदैछ, यसका धार्मिक, आध्यात्मिक र रहष्यमय कारण छन्, जसबारे केही चर्चा गरौं ।
टिका लगाउने चलन लामो समयदेखि चल्दै आएको छ र त्यसकै एउटा मुख्य अनुष्ठान हो, दशैंको टिका ।
निधारमा टिका लगाउने चलन कहिलेदेखि सुरु भयो भन्नेबारे कतै उल्लेख भएको पाइदैन । महिला वर्ग निधारको माथिल्लो भागमा टिकीया लगाउँछन् । मन्दिरमा गयौं भने पुजारीले टिका लगाएर फूल प्रसाद दिन्छन् । घरको कुनै सदस्य विदेश भ्रमणमा जाँदैछ भने टिका र माला लगाएर दही खुवाई बिदा गरिन्छ ।
सैनिक जवानहरु युद्धमा जाँदैछन् भने पनि टिका लगाएर विजयको उत्साह बोक्छन् । रुद्री, सप्ताह या लाखबत्ती पुजामा कन्याहरुलाई टिका लगाएर दक्षिणा दिइन्छ । अनि विवाहमा जन्ती जानेहरुलाई पनि केटीतर्फकाले टिका लगाएर दक्षिणा दिने चलन छ ।
हरेक शुभ कार्यमा टिका लगाउने गरिन्छ । पशुपतिको दर्शन गरेर फर्कनेहरुको निधारमा चन्दनको टिका हुन्छ भने साइ बाबाका भक्तहरु विभुती लगाउँछन् । कृष्ण भक्तहरु ‘यू’ आकारको तिलक लगाउँछन् भने तन्त्रसाधकहरु कालो रंगको टिका लगाउँछन् । जे होस्, टिका पूर्वीय सभ्यताको एउटा प्रतीक हो ।
दशैंमा ब्राम्हण क्षत्रीहरु रातो अक्षता निधारमा लगाउँछन् । दशैंमा लगाइने टिकाको परिशुद्ध रुप चाहिँ गाईको दुधको दही, चिनी, जिठोको रातो रंगमा मिश्रण गरिएको अक्षता हो । दशैंमा अक्षता लगाउने चलनका पछाडि आशिष लुकेको छ । चामलको अक्षताजस्तै जीवन पुष्ट र पूर्ण होस् भन्ने कामना यसमा निहित छ । यही कारण दशैंमा टुक्रिएको आधा चामल प्रयोग गरिँदैन ।
नेवारहरु दशैंमा कालो टिका लगाउँछन् । नेवार समुदायमा दशैंलाई ‘मोहनी’ भनिन्छ । कालो टिका अर्थात अरुलाई आकर्षित गर्ने टिका लगाउने भएकाले मोहनी भनिएको हो । कथा अनुसार देवी दुर्गा र दानव महिषासुरबीच युद्ध सुरु हुन्छ । महिषासुर देवीको मुहार देखेर मोहित हुन्छन् । देवीको मुहारमा रहेको सम्मोहनका कारण महिषासुरको ध्यान भट्किन्छ, उनी युद्ध नगरी देवीकै मुहार हेरिरहन्छन् । सोही मौकामा महिषासुरको बध हुन्छ । यो किंवदन्तीसँग पनि नेवार जातीले दशैंमा लगाउने कालो टिकाको सन्दर्भ मेल खाने संस्कृतिविदहरु बताउँछन् ।
नेपालका तामाङ, राई, मगर, गुरुङ, लिम्बु आदि जनजाती समुदायले दशैंमा दहीमा सेतो चामल मुछेर टिका लगाउँछन् । पशुपालन र खेतीकिसानीको चलन सुरु भएपछि नयाँ पाकेको धान कुटेर अक्षताको टिका लगाउने चलन सुरु भएको हो । निधारमा चामल नअडिएपछि दहीमा मुछ्न थालियो ।
अहिलेजस्तो बजार र पसलहरु नभएको त्यो युगमा विभिन्न रंगहरु थिएनन् । त्यसैले चामल र दहीको सेतो टिका लगाउने परम्परा सुरु भयो । रंगको उपलब्धतापछि चाहिँ टिकाहरु पनि रंगीन हुन थालेको हो ।
टिकाको रंग चाहिँ समय र सन्दर्भ अनुसार लगाउँदै आइयो । शान्तिका लागि सेतो, पितृ कर्ममा पहेंलो र शक्तिका सन्दर्भमा रातो र कालो रंगको टिका लगाउन थालिएको हो । तन्त्रशास्त्रमा कालो र रातो टिका लगाउने चलन छ । थारु समुदाय पनि सेतै अक्षता लगाउँछन् ।
अक्षताको महिमा अपार
हिन्दू धर्ममा चामललाई सम्पन्नताको प्रतीक मानिएको छ । चामलले घरमा खुशीयाली र आर्थिक सम्पन्नता भित्र्याउने विश्वास गरिन्छ । यही कारण शुभ कार्यमा चामलको उपयोग गरिन्छ । पुजापाठ, हवन, प्रसादमा चामल नभइ हुन्न । चामललाई सबैभन्दा शुद्ध अन्न मानिएको छ । कहाँसम्म भने भगवानलाई पनि चामलकै भोग लगाइन्छ । चामल नै यस्तो शुद्ध अन्न हो, जुन हवनमा देवी देवतालाई चढाइन्छ ।
दहीमा चामल मुछेर लगाइने टिकालाई अक्षता भनिन्छ । अक्षत् अर्थात अक्षय । यस्तो टिका जुन लगाउँदा व्यक्ति अक्षय हुने भएकाले चामलको टिकालाई अक्षता भनियो । अक्षता लगाउँदा नकारात्मकता अर्थात नेगेटिभ इनर्जी पर भाग्छ र त्यसले कुनै क्षय गर्न पाउँदैन, सकारात्मक उर्जा मात्र ल्याउँछ र मानिसको प्रगति हुन्छ ।
निधारमा टिका लगाउँदा कुनै पनि काममा ध्यान केन्द्रित हुनसक्छ । बिद्यार्थीलाई परीक्षा आदिमा जाँदा पनि अक्षता लगाएर पठाइन्छ । यसबाट विद्यार्थीको पढाइमा ध्यान केन्द्रित हुनसक्ने विश्वास छ । जागीरेलाई पनि अक्षता लगाएर जान भनिन्छ, ताकि दिनभरी उ काममा मन लगाओस् । अक्षताले नकारात्मक उर्जालाई धपाउने भएकाले चामल छर्किने पनि चलन छ ।
निधारमै किन ?
अक्षता प्रायः हाम्रो निधारको विचमा लगाइन्छ । दुबै आँखाको विचको भाग अर्थात आज्ञाचक्रमा टिका लगाउने गरिन्छ । आज्ञाचक्रमा टिका लगाउँदा मानिसमा आध्यात्मिक जागरण हुन्छ भन्ने विश्वास छ ।
हाम्रो शरीरमा सात चक्र हुन्छन् । मलद्वार वरिपरीको भागमा मुलाधार चक्र हुन्छ । गुप्ताङ आसपास स्वाधिष्ठान चक्र अवस्थित छ । नाभी केन्द्रमा मणिपुर चक्र छ । मुटुनेर हृदयचक्र छ । घाँटी विशुद्धी चक्र हो । त्यसभन्दा माथि निधारमा आज्ञा चक्र छ भने त्योभन्दा माथि सहस्त्रार चक्र छ, जहाँबाट मानिसको उर्जा सोझै ‘सुपर नेचुरल पावर’सँग जोडिन्छ ।
पशुपंक्षी र आम मानिसको उर्जा प्रायः मुलाधारदेखि मणिपुर चक्रमै सिमित छ । आहार, निद्रा, भय र मैथुन रुपी नैसर्गिक स्वभावमै लिप्त पशु तथा मानवको उर्जा यदि हृदय चक्र हुँदै आज्ञा चक्रसम्म उर्ध्वगमन गराउन सकियो भने समग्र ब्रम्हाण्डको उर्जा उसमा समाहित हुनसक्छ ।
ध्यानी, योगी र साधकहरु यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा र ध्यानको साधनाबाट आफ्नो आज्ञाचक्र जागृत गराउँछन्, जसलाई तेश्रो नेत्र खुल्ने पनि भनिन्छ ।
आज्ञा चक्रलाई गुरु चक्र पनि भनिन्छ । यही नै मानव शरीरको केन्द्र हो । आज्ञाचक्रमा होस साध्ने हो भने त्यसबाटै मानिस एकाग्र र ज्ञानबाट भरिपूर्ण हुनसक्छ । गुरुचक्रलाई बृहस्पति ग्रहको पनि केन्द्र मानिन्छ । बृहस्पति सबै देवताका गुरु भएकाले आज्ञाचक्र अर्थात् गुरु चक्र जागृत हुँदा बृहस्पति पनि अनुकूल हुन्छन् भन्ने मान्यता छ । सदा गुरु चक्रको स्मरण भइरहोस् र ज्ञानको मार्गमा लाग्न प्रेरणा मिलिरहोस् भनेर नै निधारमा टिका लगाउने गरिएको हो ।
मानिसमा दुइ आँखा हुन्छन् । तर, सुक्ष्म रुपमा तेश्रो आँखा पनि हुन्छ भन्ने साधकहरुको विश्वास छ । तेश्रो नेत्र भएको भागमा टिका लगाउँदा त्यो जागृत भइ मानिसले दिव्य शक्ति प्राप्त गर्ने मान्यता पनि छ ।
दशैंमा दाहिने हातका पाँचै औंलाले टिपेर अक्षता लगाइदिने गरिन्छ । मुद्रा विज्ञान अनुसार मानिसका पाँच औंला भनेका प्रकृतीका पंच तत्व हुन् । मानिसको शरीर पृथ्वी, जल, तेज, बायु र आकाशबाटै बनेकाले यी पाँचै तत्वको प्रतिनिधित्व गर्ने पाँच औंला जोडेर अक्षता लगाइदिदा आज्ञा चक्र झँकृत हुन्छ । आशिष रुपी मन्त्रले त्यसमा हथौडा प्रहार गर्छ । अनि व्यक्तिको तेश्रो नेत्र खुल्नसक्छ ।
आज्ञाचक्र भनेको मान्छे र दैवी चेतनाबीचको सेतु या द्वार हो । मान्यजनले दशैंको टिका लगाउँदा दिने आशिषसँगै धन, बुद्धी, यश, स्वास्थ्य, सुख, सम्पन्नता सबै पाउन ‘तेश्रो नेत्र खुलोस्’ भन्ने अव्यक्त भाव पनि जोडिएको हुन्छ । अक्षता लगाउँदा निधार चिसो हुन्छ, त्यसले आज्ञा चक्रमा एकखालको एक्कुप्रेशर गर्छ । टिका थाप्नेको सम्पूर्ण ध्यान त्योबेला आज्ञा चक्रमै केन्द्रित हुन्छ ।
यसरी ध्यान केन्द्रित हुँदा मानिसको उर्जा पनि त्यही पुग्छ । जब आज्ञा चक्रमा उर्जा उर्ध्वगमन हुन्छ, तब मानिस दिव्य उल्लास र आनन्द भावमा रमाउँछ । यो आनन्द भावलाई पकडेर नियमित रुपमा आज्ञा चक्रमै ध्यान केन्द्रित गर्ने चेत खुल्यो भने मानिस ध्यान र ज्ञान मार्गतर्फ अग्रसर हुन्छ । भौतिकताबाट आध्यात्मिकताको यात्रा प्रारम्भ हुन्छ ।
निधारमा लगाइने दशैंको टिकाको यति गहन महत्व ऋषिमुनी र हाम्रा अग्रजहरुले धेरै वर्ष पहिले बुझीसकेका थिए । सोही कारण शुभ कार्यमा टिका लगाउने प्रचलन रहँदै आयो । निधारमै टिका लगाउने भनेको मानिसलाई आध्यात्मिक यात्रातर्फ अग्रसर गराउने प्रभावकारी सेतु हो । यही कारण तिलक लगाइन्छ, टिका लगाइन्छ ।
प्रतिक्रिया