जनमत

शहरभित्र के को हल्ला ?

गीतले प्रेमको सेरोफेरोमा आफूलाई वरपीपल झैं उभ्याएको छ भने राजनीतिले अस्थीरताको आँधीहुरीलाई निमन्त्रणा दिएको छ। फरक यत्तिमात्र हो तर आकाशपाताल जस्तै।

काठमाडौं । दावा ग्याल्मोले गाएको 'शहरभित्र के को हल्ला' बोलको गीत मानिसलाई झंकृत गराउने गीत हो। शब्द, संगीत र स्वरको त्रिवेणी यसरी बगेको छ जसले कसैलाई पनि सहज अवस्थामा उभिईरहन दिँदैन, हल्लाउँछ बेस्सरी नै हल्लाउँछ।

यो गीत जब रेडियोमा बज्न थाल्यो, तन्नेरीहरु सर्लक्कै यतातिर सोहोरिए । युवाको ढुकढुकी बढाउन यो गीतका शब्दहरु जति शक्तिशाली थिए, त्यसलाई अझ वजनदार बनाउन दावाको स्वर थप कारण बन्नपुग्यो। 

नेपाल होस् कि प्रवास यो गीत शरद यामको मीठो चिसो वतास झैं फैलियो र शिशिरको न्यानो घाम जसरी सर्दै गयो। पारिजातको फूलको वासना बोकेर बगेको वतासले नाकहरुमा दख्खल दिँदै गएजसरी यो गीतले स्रोताहरुलाई उन्दै गयो र फैलियो परपरसम्म। युवा पुस्ता त के उमेर ढल्किँदै गरेका मानिसहरुले पनि 'शहरभित्र के को हल्ला मेरी मायालु आउने बेलामा' बोलको गीत सुनेर आफ्नो उमेर बिर्सेका थिए। 

यो गीत आज पनि उस्तै तन्नेरी छ, बरु गायिका दावा ग्याल्मो, गीतकार बसन्त छेत्री र संगीतकार किरण ठकुरीको पो उमेर रोकिएन।

शहरभित्र के को हल्ला
मेरो मायालु आउने वेलामा,
पाउने छैनौ अँध्यारो खोस्न
सपनीमा आउने वेलामा!

यो त लोप्रिय गीतको प्रसंग भयो। सत्ताको कुरा अर्कै छ।

शहरमा भने भित्रभित्रै अर्कै कुराको हल्ला चलेको छ। जसरी सदैव चल्दै आएको छ। पुष्पकमल दाहाललाई विदा गरेर सिंहदरबार पसेका शेर बहादुर देउवा र केपी शर्मा ओलीबीच खटपट सुरु भएको छ, हल्ला यस्तो छ। उनीहरुको खटपट सामान्य छैन निकै नै बढ्दै गएको छ। शहरमा यस्तो हल्ला चलेको छ। 'यो हल्लैहल्लाको देश हो' भनेर कवि भूपि शेरचनले उहिल्यै ऐलान गरिसकेकाछन्।

हल्ला यसै चल्दैन, चलाईन्छ। काठमाडौंका औसत हल्लाहरु प्रायोजित हुन्छन्। त्यसको शुल्क बिचौलिया, दलाल र अनुचरहरुले भुक्तान गरिरहेका हुन्छन्। देउवा र ओलीबीच नै खटपट सुरु भैसकेको हल्ला पनि यस्तै प्रचलन अनुसार चलेको हुन पनि सक्छ, नहुन पनि सक्छ। यसले सतहमा आउन प्रयत्न गरिरहेको छ भनेर पनि भनिएको छ।

नियुक्ति, सरुवा, बढुवा र ठेक्कापट्टाको वैशाखी टेकेर हिँड्ने सत्तामा को कतिखेर कोसँग ठुस्किन्छ र रातभरमा अर्को समीकरण बनिसक्छ भन्ने कुरा पटक पटक उदाहरण भैसकेकै छ। सबैका टाउकामा आकाश खस्न लागेको थाहा पाए भने नेता, नीति र आदर्श बिसाएर रातारात महाअभियोग नै लाउन सक्ने सामथ्र्य जो दलहरुले सँगालेका छन्।

के हो त देउवा र ओलीबीचको खटपटीको खास कारण। प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर फर्किसके। त्यहाँ रहँदा उनी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट भयो जो निकै प्रचारित थियो। तर भेट सोचेजस्तो सुमधुर नभएको समाचार बन्यो। त्यो एक नितान्त प्राविधिक भेट मात्र थियो भनिएको छ। वास्तवमा कस्तो भएको थियो भेट, विवरणहरु सार्वजनिक भएका छैनन्। विमानस्थमा प्रधानमन्त्रीले भैंसी दुहेको कथा सुनाएकाले ठिकठिकै थियो कि भेट भन्ने अड्कलसम्म काटिएको छ।

स्वदेश फर्किँदा भीषण वर्षापछिको बाढी पहिरोले देश आक्रान्त थियो। विमानस्थलमा प्रधानमन्त्रीले दिएको प्रतिक्रियाले उनको मूड प्रष्ट पारिरहेको थियो, प्रधानमन्त्री प्रशन्न छैनन्। मोदीसँगको भेटको तयारीमा परराष्ट्र प्रणालीले पर्याप्त सहयोग नगरेको प्रधानमन्त्रीको बुझाई रहेको जानकार सूत्रहरु बताईरहेका छन्। सर्वविदितै छ कि नेपाली कांग्रेसका सभापति देउवाकी धर्मपत्नी आरजु जो परराष्ट्र मन्त्रालयको बागडोर सम्हालिरहेकी छन्।

खटपटीको अर्को कारण हो रवि फ्याक्टर। रवि अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने। जो सहकारीको वचत अपचलन देखि राहदानीको विवाद लगायतसँग जोडिएका छन्। संसदीय विशेष छानविन समितिको प्रतिवेदनबाट आफूले क्लिन चिट पाएको दावी गरिरहेका लामिछाने कार्वाहीबाट उम्कन नसक्ने भनाई समितिका सभापति सांसद सूर्य थापाको छ। 

यो विवादसँगसँगै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लामिछानेमाथि कार्वाही हुनैपर्छ भनेर पार्टी नेतृत्व र संसदमा दवाव बढाईरहेका छन्। हालसालै सभापति देउवासँग निकट भएका थापाले रविमाथि कार्वाही नगरे सत्ता नै संकटमा पर्नेसम्मको चेतावनी दिएका छन्। रविलाई प्रधानमन्त्री ओलीले संरक्षण दिएकोले सुरक्षा निकायले कार्वाही गर्न नपाएको भनेर नेपाली कांग्रेसभित्र बहस पनि चलिरहेको छ। सभापति देउवाले यसबारेमा प्रधानमन्त्री ओलीसँग कुरा गर्दा रवि हाम्रै मान्छे हो चिन्ता गर्नुपर्दैन मैले भनेको मान्छ भनेर कार्वाही गर्न हतार गर्नु नहुने सल्लाह दिएको चर्चा पनि छ। गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्रीको यही कथनकै कारण प्रहरीलाई निर्देशन दिन नपाएको गुनासो गरेको जानकारहरु बताउँछन् ।

सत्ताभित्र खटपटको यो दोस्रो कारण राजनीतिक रुपले निकै संवेदनशील देखिन्छ। संसदभित्र चौथो शक्ति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई चिढ्याउँदा भोलि सत्ता समीकरण फेरबदल भैहाल्यो भने आफू कमजोर नदेखिन पनि यस्तो रणनीति अपनाईएको हुनसक्ने कुरा अस्वाभाविक लाग्दैन।

शहरमा व्याप्त यी हल्लाहरु राजनीतिक बजारमा आउने जाने गरि नै रहन्छन्। कहिले यी सतहमा आउँछन् र सिंहदरबारमा नयाँ नेता स्थापित गरिदिन्छन्। कहिले छिचिमिरा झैं अल्पायु मै परमधाम हुन्छन्। 'हावा नचली पात हल्लिँदैन' भनेझैं कानेखुसी नभइ यी हल्ला पनि चल्दैनन्। राजनीतिको चरीत्र नै यस्तो बनिसकेको छ।

दावा ग्याल्मोले गाएको 'शहरभित्र के को हल्ला' बोलको गीतको मान सम्मान स्रोताहरुले बढाउँदै आएका छन्। मानिसका मनमष्तिस्कमा निवास गरिसकेको यो गीत अमर भैसकेको छ। कतिपय लोकप्रिय बिषयहरु समाजका अनेक प्रसंगमा विम्व बनेर आउने गर्छन्। यो गीत त्यसैगरी राजनीतिको ताजा प्रसंग चर्चा गर्दा विम्व बनेको छ। 

गीतले प्रेमको सेरोफेरोमा आफूलाई वरपीपल झैं उभ्याएको छ भने राजनीतिले अस्थीरताको आँधीहुरीलाई निमन्त्रणा दिएको छ। फरक यत्तिमात्र हो तर आकाशपाताल जस्तै।

 

प्रतिक्रिया