बुधवार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने

काठमाडौँ। अवरुद्ध कान्ती राजमार्ग बुधवार बिहानसम्म पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ।

मंगलवार ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा.उदयशमशेर जबरासहितको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुको टोलीले सो ठाउँको अनुगमन गरेको हो। सो क्रममा कान्ती राजमार्गका इन्जिनियर सीताराम बुढाथोकीले सडक विभाग र नेपाली सेनाको सहयोगमा सडक खुलाउने काम भइरहेको र बुधवार बिहानसम्म पूर्ण रुपमा सडक सञ्चालन गरिसक्ने बताए। उनले असोज ११ गतेदेखि आएको वर्षा बाढी र पहिरोका कारण कान्ती राजमार्गमा १५.७५ मिटरको सिम्प्ली सपोर्टेट ब्रिच क्षति हुँदा आवतजावतमा समस्या भएको बताए। बाढीका कारण पुल, सडक र पुलको निर्माणको लागि राखिएको पाइल ड्राइभिङ मेसिन लगायत अन्य मेसिनहरु र ८० टनको रेन्सफोर्समेण्टहरु पनि बगाएको बताए।

त्यस्तै ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा.उदयशमशेर जबराले आज आफूहरुले वागमती गाउँपालिका र कोन्जसुम गाउँपालिकाका केही बाटोहरु अवलोकन गरेको बताए। उनले सो क्रममा कान्ती लोकपथको पनि अवलोकन गरिएको र ललितपुर र मकवानपुर जिल्ला जोड्ने कान्ती लोकपथमा विशेष गरेर बगुवाको पुलमा आधा भन्दा बढी क्षति गरेकाले आवतजावत असहज भएको बताए। अहिले पुलमा साना सवारीहरु चलाउनसक्ने बनाइएको जानकारी दिए। टिकाभैरव, देवीचौर घुसेल क्षेत्रमा पनि यातायात सुचारु गर्न लागिएको बताए। दलचोकीसम्म सडक पुगेको र अब शंखुसम्म पुयाउनुपर्ने काम बाँकी रहेको बताए। 

ललतिपुर निर्वाचन क्षेत्र नम्बर १ मा पूर्ण क्षति भएका घरहरु ६ सयदेखि ८ सय रहेको अनुमान छ। सरकारले ५० हजार दिएर अस्थायी व्यवस्थापन गरेको भएपनि स्थायी व्यवस्थापनका लागि ध्यान दिनुपर्ने छ। (न्युज एजेन्सी नेपाल)

प्रतिक्रिया