स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्छौंः अर्थमन्त्री पौडेल

काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकभित्रै औद्योगिक वातावरण बनाइ वैदेशिक र निजी लगानी आकर्षित गरी स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न क्रियाशिल रहेको बताएका छन्।

मंगलवार अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको २६ औं क्षेत्रिय परिषद्को उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले वर्तमान सरकार मुलुकभित्रै औद्योगिक वातावरण तयार गरी वैदेशिक र निजी लगानी आकर्षित गर्ने योजनामा रहेको बताए। उनले औद्योगिक क्षेत्रमा वैदेशिक र निजी लगानी वृद्धि भएमा स्वदेशमा नै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न सकिने उल्लेख गरे । उनले असल औद्योगिक वातावरण तयार गर्न ट्रेड युनियन कर्मीको भुमिका महत्वपूर्ण रहेको बताए। अर्थमन्त्री पौडेलले वर्तमान सरकार श्रमिक र उद्यमी व्यवसायीहरुबीच सुमधुर सम्बन्ध कायम गर्दै व्यवस्थापनमा श्रमिकको सहभागितालाई प्रोसाहन गर्ने नीति लिएको बताए।

उनले श्रम सम्बन्ध सुधारको लागि श्रमसम्बन्ध समितिको व्यवस्था गरी औद्योगिक वातावरण निर्माणमा सरकार केन्द्रित रहेको उल्लेख गरे। अर्थमन्त्री पौडेलले नेपालको सन्दर्भमा श्रमिकलाई सबैभन्दा बढी आवश्यकता,प्रभावकारी सामाजिक सुरक्षाको व्यवस्था रहेको र सामाजिक सुरक्षालाई मात्रै प्रभावकारी रुपमा श्रमिकको सम्मानपूर्ण जीवन बाच्न र सुरक्षित भविष्य सुनिश्चित गर्न सकिने बताए। सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणालाई कार्यान्वयनमा ल्याएको भन्दै यो श्रमिक हितको लागि कोशेढुङ्गा बन्न पुगेको उनको भनाई थियो। उनले सामाजिक सुरक्षाको पहुँचलाई बिस्तार गर्दै थप प्रभावकारी बनाउनु आजको आवश्यकता भएको बताए। उनका अनुसार ले समाजिक सुरक्षालाई प्रभावकारी कार्यान्वयनमा ट्रेड युनियनले प्रभावकारी भुमिका खेल्न आवश्यक रहेको छ। 

उनले श्रमिकहरुले आफ्नो जीवनलाई सम्मानित बनाउन सम्मानजनक पारिश्रमिक पनि हुनुपर्छ भन्ने वर्तमान सरकारको मान्यता रहेको बताए। उनले सरकारले समय सापेक्ष न्युनतम पारिश्रमिकमा परिमार्जन गर्दै समयाअनकुल परिर्माजन गरी कार्यान्वयन गर्दै आएको पनि उल्लेख गरे। (न्युज एजेन्सी नेपाल)

प्रतिक्रिया