'पशुपति विकास कोष इसाई मिशनरीको भर्ती केन्द्र' पूर्व प्रधानन्यायाधीश पराजुली

काठमाडौं । पशुपति गौशाला धर्मशालाको संचालन व्यवस्थापनको जिम्मेवारी मारवाड़ी सेवा समितिबाट पशुपति क्षेत्र विकास कोषले खोसेकोप्रति विभिन्न संघसंस्थाले रोश प्रकट गर्दै त्यसकार्यको विरोध गरेका छन् । कोषको प्रभावमा परेर काठमाडौं महानगरपालिकाले बलजफ्ती गुण्डागर्दी शैलीमा पशुपति गौशाला धर्मशाला आफ्नो नियन्त्रणमा लिएर मारवाडी सेवा समितिलाई गौशाला सञ्चालनको भूमिकाबाट च्यूत गरेको भन्दै ती संघसंस्थाहरुले आपत्ति जनाएका छन् ।

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले मारवाड़ी सेवा समिति सहित अरु धार्मिक तथा सामाजिक संघ संस्थाहरुसँग त्यो समस्याबारे छलफल गर्न एक कार्यक्रम आयोजना गरेको थियो । त्यहाँ उपस्थित प्रतिनिधिहरुले पशुपति गौशाला धर्मशाला माथिको आक्रमण मारवाड़ी समुदाय माथि मात्रै नभइ आराध्य देव भगवान् पशुपतिनाथसँग सम्बन्धित पवित्र भूमि माथिको आक्रमण भएको भन्दै रोश प्रकट गरेका थिए ।

विश्वभरीबाट आउने हिन्दू श्रद्धालुहरुको बसोबास र भोजनको व्यवस्थापन सँगै गौशालामा गौ पालन हुँदै गरेको र झण्डै एक सय जना मृगौला रोगीको निःशुल्क डाइलेसिस भई रहेको अवस्थामा उक्त भवनलाई प्रचलित कानून तथा विभिन्न समयमा भएको सम्झौता विपरित महानगरपालिकालाई संचालनको जिम्मा दिएकोप्रति उनीहरुको आरोप छ । 

पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले पशुपति गौशाला धर्मशाला माथिको आक्रमण सामान्य कुरा नभएको र यसको पछाडि हिन्दू धर्ममा आस्था राख्ने विरुध्दको षड्यन्त्रको सानो शुरुआत भएको बताए ।

पशुपति क्षेत्र विकास कोष पछिल्ला केही वर्षदेखि इसाई मिशनरीहरुको भर्ती केन्द्र बनेको पराजुली दावी छ। उनले कोषको जग्गामा चर्च र मस्जिद चलाउन दिने तर हिन्दूहरुले गौशाला चलाउँदा अवरोध गर्ने कुरा सह्य नहुने बताए ।

पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्यले कोषका अहिलेका पदाधिकारीहरुले मारवाड़ी सेवा समितिलाई अनाहकमा दुःख दिएको बताए ।

विश्व हिन्दू परिषद नेपाल, विश्व हिन्दू महासंघलगायत एक दर्जन संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए । 

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानका महासचिव देवेश झाले बाहिरबाट घटना सामान्य देखिए पनि भित्रबाट ठूलै षड्यन्त्र भएको बताए ।

झाले कोषका सदस्य सचिव मिलन थापाको भूमिका शंकास्पद रहेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको धर्मशाला कब्जा गर्ने कार्यशैली ‘गुण्डा नाइक’जस्तै रहेको टिप्पणी गरे ।

प्रतिक्रिया