जनमत

मिन बहादुरको दक्षिणा र लोकतन्त्रको लावण्य

काठमाडौं । प्रधानमन्त्री पदमा आसिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशैंको दक्षिणास्वरुप करोडौं मूल्यको जग्गा ग्रहण गरेका छन् । काठमाडौंको कीर्तिपुरमा एमालेको प्रधान कार्यालय पनि आफैं निर्माण गरिदिने वाचासहित व्यवसायी मिन बहादुर गुरुङ्गले ओलीलाई जग्गा दान दिएका हुन् । 

विजयादशमीको अघिल्लो दिन नवमीमा जग्गा दान लिएका प्रधानमन्त्री ओलीसँग टिका थाप्न तयार भैसकेका कैयौं नयाँ र पुराना एमालेजन मन खुम्च्याएर बसे । 

दाता र दानपात्रको शुध्दतालाई शास्त्रहरुमा ठूलो महत्व दिईएको छ । दुवै शुध्द भएमात्र दानको महिमा अखण्डित रहने विद्वानहरुको मत छ । द्वापर र त्रेतायुगमा ऋषिमुनीहरुले अशुध्दपात्र र दान ग्रहण नगरेका कथाहरु आज पनि पढ्द पाईन्छ । छल गरेर कसैले त्यस्तो दान दिन प्रयाश गरेमा ऋषिमुनीहरु त्यस्ता दातालाई श्राप दिएर फर्किन्थे भनिएको छ कथाहरुमा । किनभने ऋषिमुनी स्वयं कठोर अनुशासनका प्रिय थिए र उल्लंघन गर्नु मृत्यु समान ठान्दथे । आफू शुध्द थिए त्यसैले अशुध्द दान, संगत र वार्तालाप उनीहरुका लागि वर्जित थियो ।

‘आफू पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न’ भन्ने प्रधानमन्त्री ओलीको महावाणी अहिले पनि सिंहदरबार यत्रतत्र पढ्न पाईन्छ । झण्डै दुइतिहाई मतको अघिल्लो सरकारको नेतृत्व गर्दा करिब करिब जंग बहादुर सरहको तागत प्रदर्शन गर्ने प्रयाश गरेका ओलीले राष्ट्रिय सम्पत्तिहरुमा कानून र संविधानसँग चिनजान नै नभएका व्यापारीहरुलाई नांगो नाच गर्ने छुट दिएका थिए ।  

यति समूह, ओम्नी, ललिता निवास, गिरी बन्धु चिया बगानको जग्गा जस्ता ठूलो धनराशी जोडिएका स्वदेशी पक्षहरु र कतिपय निकै ठूलो धनराशी लगानी हुने विदेशी व्यवसायमा समेत प्रधानमन्त्री ओलीको गहिरो अभिरुची रहेको आरोप उनीमाथि लागेको छ । जसका बारेमा आजसम्म ओलीले आफ्नो असंलग्नता प्रष्ट पारेका छैनन् ।

एमाले पार्टीको प्रधान कार्यालय समेत बनाईदिने वाचावन्धन सहित यसपाली विजयादशमीको अघिल्लो दिन ओलीले मिन बहादुर गुरुङ्गबाट जग्गा दक्षिणा ग्रहण गरेका हुन् । 

मिन बहादुर गुरुङ्ग नेपाली उपभोक्ताबीच   अपरिचित नाम होइन । भाटभटेनी सुपर स्टोरका संस्थापक सञ्चालक गुरुङ्ग सबै दल रिझाउन सिपालु व्यवसायी मानिन्छन् । भन्न त उनले आफूलाई एमाले निकट भनेका छन् । तर गुरुङ्गका हातबाट दक्षिणा नबुझ्ने दल र नेताहरु खोज्नु भनेको स्यालको सिंग फेला पार्नु जस्तै ठान्छन् जानकारहरु । कहिलकाहीँ जीवनसँग नै हार खाने अवस्थामा पुगेका गुरुङ्गलाई आफ्नो दान दिन सक्ने क्षमताले नै निराशाबाट जोगाएको हो । राजनीति सहजै खरिद गर्न सकिने सुरक्षाकवच हो भनेर प्रष्ट थाहा पाएका गुरुङ्गले ‘खर्बपति’ विनोद चौधरीको सत्तारोहण र सरस्वतीको सिँढी चढेर लक्ष्मीको दरबारमा पसेका उमेश श्रेष्ठको राजनीतिक पहुँचबाट पनि राम्रै शिक्षा लिएका हुनसक्छन् । यसलाई प्रेरणाको स्रोत माने भने अन्यथा भन्न पनि मिलेन । चलेको चलनबाट नै शिक्षा लिँदै अघि बढ्ने हो ।

विभिन्न कानूनविपरितका अपचलनको अभियोगमा जेल परेका गुरुङ्गलाई छुटाउन ओलीको विशेष भूमिका रहेको बताईन्छ । कुनैबेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग निकट व्यापारिक सम्बन्ध रहेको भएपनि गुरुङ्गले जेल परेका बेला दाहालबाट सहयोग नपाएको गुनासो मनमा पोको पारेर बसेका थिए । माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालले मधेश प्रदेशमा रहेको भाटभटेनी सुपर स्टोरमाथि आँखा लाएर त्यसमा हक स्थापित गर्ने प्रयाश गरेको पनि बुझिएको छ । तर गुरुङ्गले त्यसमा असमति जनाएपछि दाहालसँगको सम्बन्धमा तुसारो परेको बताईन्छ । 

आफूलाई जेलबाट रिहा गर्न भूमिका निर्वाह गरेका प्रधानमन्त्री ओलीलाई त्यसबेलै प्रशन्न तुल्याएका गुरुङ्गले भविष्यमा थप ‘सरप्राईज’ दिने आश्वासन दिएका थिए । पूर्व प्रधानमन्त्री दाहाललाई ‘देखाईदिन’ र ओलीलाई प्रशन्न तुल्याएर राजनीतिक सुरक्षाकवच पहिरिने रणनीति स्वरुप गुरुङ्गले कीर्तिपुरको महँगो दक्षिणा ओलीलाई अर्पण गरेको प्रष्ट भएको छ । 

लोकतन्त्र सबैलाई फाप्छ नै भन्ने पनि छैन । लोकतन्त्रले कतिको सिंहासन खोस्छ भने कतिको आँसु पनि पुस्छ । विधान र संविधानले चिन्दैनचिनेका व्यक्तिहरु सत्ताको ढोका चाँदीको जुत्ताले ढक्ढक्याउने हैसियतमा पुग्छन् भने लोकतन्त्रका लागि जीवन नै अर्पण गर्नेहरु फुटपाथमा बुटपालिस गरिरहेका पनि हुन्छन् । एमाले र मिन बहादुर गुरुङ्गको साइनो सम्बन्धको आधार पनि यही हो । कानूनले कठालो नसमातुञ्जेल मिन बहादुर गुरुङ्गको सम्बन्ध कुन पार्टीसँग कस्तो थियो भनेर छुट्याउनु असम्भव जस्तै थियो । उनी सबैका साझा थिए, उनकै गल्लाबाट गएको द्रव्य सबै दलको निर्वाचन बजेटमा खर्च थपिन्थ्यो । सत्य यही नै हो । तर यो गाउन नसकिएको गीत मात्रै हो । 

कीर्तिपुरमा एमालेको नयाँ भवन निःशुल्क बनाउन लाएर प्रधानमन्त्री ओलीले राजनीतिक जीवनको उत्तराध्र्दमा नयाँ कीर्तिमान बनाउने छन् । विन्दा पाण्डेलाई अध्यक्ष ओलीको यो निर्णय मन नपर्दैमा मिन बहादुर गुरुङ्गले दिएको दान फिर्ता हुने छैन भन्ने कुरा सबैलाई थाहा छ । उपाध्यक्ष गुरु बराल देखि महासचिव शंकर पोखरेलसम्मलाई उपदेश दिएर ग्रहण गरिएको दक्षिणा हो यो । यसको भावी रुपरेखा समेत उनीहरुले पढिसकेका छन् । 

राजनीतिमा शुध्दताको प्रश्न अब असान्दर्भिक भएको छ । नेपाली नागरिकलाई नागरिकता परित्याग गर्न लाएर नक्कली भूटानी शरणार्थी बनाएर बेचविखन गरिएको विवाद सामसुम भएको छ । लडाकूलाई दिन भनेर राष्ट्रिय ढुकुटीबाट झिकिएको अर्बाैं  रकमको हिसाबकिताब हेर्ने रुचि कसैलाई छैन । सुन तस्करी, सरकारी जग्गा र सम्पत्तिको अपचलन र असंख्य लाभदायक निर्णयहरुमा भैरहेको राजनीतिक लेनदेन राष्ट्रिय राजनीतिका अभिन्न अंग भैसकेका छन् । 

 नेपाली कांग्रेस होस् कि एमाले या माओवादी केन्द्र नै किन नहोस् । यस्तो सौदाबाजीका मुख्य अंशियार हुन् भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ । नयाँ उदाएका पार्टीको शीर्ष नेतृत्व दोहोरो राहदानी देखि बचतकर्ताको रकम अपचलन देखि कैयन काण्डैकाण्डमा मुछिएको कुरा काँकडभित्तादेखि कञ्चनपुरसम्मका नेपाली जनताले थाहा पाईसकेका छन् । अब होहल्लाले मत सोहोरेर सत्तामा चढ्ने दिन गए । सबैले कहिँ न कहिँ कम्बल ओढेर घ्यू पिएकै छन् । संविधान निर्माण गर्दा देखि त्यसको कार्यान्वयनसम्मका चरणहरु सबै दलको दोहोर चरीत्र निर्माण गर्न सफल भएका छन् ।

प्रधानमन्त्री ओलीले मिन बहादुर गुरुङ्गसँग जग्गा र घर दानमा लिए तर पारदर्शी शैलीमा लिए । जसले गर्दा अपारदर्शीताको प्रश्न उठ्न पाएन । तर लिनेले किन लिए, दिनेले किन दिए ? यो भने प्रश्नको घेरामा छ । अभियोगबाट सफाई पाउन बाँकी नै कुनै व्यक्ति वा संस्थाबाट दान, दक्षिणा र उपहार ग्रहण गर्दा प्रधानमन्त्री ओली र उनको पार्टीको साख कति माथि उक्लियो, त्यो त जनताले पनि नापेकै होला । आफ्नो समर्थनमा सत्ताको नेतृत्वमा रहेका प्रधानमन्त्रीसँग किञ्चित असमति नजनाईकन मौन बसेर नेपाली कांग्रेस लगायतका सत्तारुढ दलहरुले पनि आफ्नो परिचय प्रष्ट पारेर जनतालाई गुमराहबाट मुक्त गरिदिएका छन् । यो पनि राजनीतिको विशेषता नै मान्नुपर्छ ।

राजनीतिक दलहरुको यतिञ्जेलका लाभकारी निर्णय, सत्ता सहकार्य र उठबसले उनीहरुको उपकार नै भएको छ । तर लोकतन्त्रको  लावण्य ओझेलमा परेको छ । लोकतन्त्रको लावण्य फस्टाउन उसको सौन्दर्य झल्किन र माधुर्य फैलिन त राजनीति शुध्द हुन जरुरी थियो । राजनीतिक दलहरुले राष्ट्रिय राजनीति र राजकाजलाई शुध्द रहन दिएनन् । अब त्यसो गर्लान् भन्ने आशा पनि गर्न असम्भव जस्तै देखिँदैछ । लोकतन्त्रको असल शीलस्वभाव हुनाको लागि त्यसको गुण र  सुशीलता पनि प्रवल हुन आवश्यक पर्छ । राजनीतिक दलहरुले ती सबै गुणहरुमाथि थिचोमिचो गरेर लोकतन्त्रको लावण्य नै फिका पार्ने काम गरि नै रहेका छन् । 

तर दोष मिन बहादुरको होइन, खड्ग प्रसादको हो, शेर बहादुरको हो र पुष्पकमलहरुकै हो ।

प्रतिक्रिया