लुक्लाको मौसम खराब हुँदा पर्यटकलाई सास्ती

मन्थली (रामेछाप)। लुक्लामा मौसम खराब भएपछि एक हजारभन्दा बढी पर्यटक मन्थलीमा रोकिएका छन्। लुक्लाहुँदै सगरमाथालगायतका क्षेत्रमा पदयात्रा तथा घुम्न जाने स्वदेशी र विदेशी पर्यटक मन्थली विमानस्थल हुँदै त्यसतर्फ जाने गरेका छन्।

काठमाडौँलगायतका विभिन्न स्थानबाट मन्थली आइपुगेका पर्यटकहरु लुक्लाको मौसम उडानयोग्य नभएपछि मन्थलीमै रोकिएका हुन्। मौसममा सुधार नआएपछि केही पर्यटक भने अन्यत्रैको गन्तव्यतर्फ लागेका छन् भने केही पर्यटक सडकमार्गबाट सोलुखुम्बुतर्फ लागेको यहाँका पर्यटन व्यवसायीले जनाएका छन्। 
    
सोलुखुम्बुको खुम्बु क्षेत्रको मौसम खराब हुँदा सोमबारदेखि मन्थली लुक्ला नियमति उडान हुन नसकेको नेपाल नागरिक उड्ययन प्राधिकरण रामेछाप कार्यालयका सूचना अधिकारी प्रज्जवल गुरागाइँले जानकारी दिए। “सोमबारदेखि यहाँ पर्यटक रोकिएका छन्, बुधबार केही उडान भएपनि त्यसयता फेरि उडान प्रभावित भएको छ”, उनले भने।

उनका अनुसार बिहीबार मात्रै विभिन्न कम्पनीका हेलिकप्टहरुले २८ वटा उडानमार्फत एक सय ३५ पर्यटकलाई सोलुको फाप्लु तथा सुर्के पु¥याएका थिए। नियमित उडान नहुँदा मन्थलीमा एक हजार तीन सयभन्दा बढी पर्यटकहरु रोकिएका छन्। 

हवाई उडान प्रभावित हुँदा दैनिकजसो मन्थलीमा पर्यटक बढिरहेकाले होटलमा समेत रुम पाउन मुस्किल भइसकेको जनाइएको छ। हाल मन्थलीका होटलसँगै यहाँका होमस्टे पनि पर्यटकले भरिभराउ भएको होटल तथा पर्यटक व्यवसायी सङ्घले जनाएको छ। 

शरद ऋतु पर्यटकका लागि उपयुक्त समय भएका कारण  यस बेला रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको आधार शिवरसम्म भ्रमण गर्ने पर्यटक बढेका छन्। 

नागरिक उडययन प्राधिकरण रामेछापका कार्यलय प्रमुख हिरोण शाहले अनुकुल मौसम भएका समयमा मन्थली विमानस्थलबाट दैनिक ५५ वटासम्म उडान हुने गरेको बताए। उनका अनुसार बुधबार विमान कम्पनीका विमानले १८ वटा उडानमार्फत तीन सयभन्दा बढी पर्यटकलाई मन्थलीबाट लुक्ला पु¥याउने र लुक्लामा रोकिएकालाई मन्थली ल्याएका थिए।  (रासस)

प्रतिक्रिया