काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढीपहिरोले क्षति पु¥याएको दोलखाको अपर तामाकोशी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।
मन्त्री खड्काले आज गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले क्षति पुगेको दोलखास्थित ४५६ मेगावाट क्षमताको अपर तामाकोशी जलविद्युत आयोजनाको ड्याम साईड, पावर हाउस, सडक लगायतका भागमा भएको क्षतिको स्थलगत निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा मन्त्री खड्काले अपर तामाकोशी जलविद्युत आयोजनामा क्षति पुग्दा राज्यले जलविद्युत क्षेत्रमा दैनिक ठूलो घाटा व्यहोर्नुपरेको भन्दै यथाशक्य चाँडो यसलाई मर्मतसम्भार गरी सञ्चालनमा ल्याउनुपर्ने सुझाव दिए ।
सो जलविद्युत आयोजना बन्द हुँदा राज्यले असोज महिनामा मात्र करिब रु ८५ करोड ६ लाख ४७ हजार ९३० घाटा व्यहोर्नुपरेको बताइएको छ । मन्त्री खड्काले बाढी पहिरोले आयोजनामा निम्त्याएको आर्थिक नोक्सानीको प्रत्यक्ष असर राज्य र जनतामा परेको भन्दै पहिरोको कारण उत्पन्न अवरोध चाँडो हटाई आयोजना सञ्चालनमा ल्याउन कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।
मन्त्री खड्काले आयोजना बन्द हुँदा भोलिका दिन देखिनसक्ने उर्जा सङ्कटलाई ध्यान दिएर आयोजना निर्माणको काम द्रुत गतिमा गर्नुहोस्, मन्त्रालय आवश्यक सहयोग गर्न तयार रहेको आश्वासन पनि दिए । मन्त्री खड्काले आयोजनाको (हेडवक्स) बाँधस्थल, कन्टोल विल्डिङ, आयोजनासम्म जाने बाटोको अवस्था अवलोकन गरी असोज ११ र १२ गतेको पहिरोमा परेर उक्त आयोजनामा मात्र चार जनाले ज्यान गुमाएको विवरण जानकारी लिएका थिए ।
आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मोहनप्रसाद गौतमले तीन हप्ताभित्र नै थोरै भएपनि विद्युत उत्पादन थाल्नेगरी काम गरिरेहको बताए । उनले हेडवक्स क्षेत्रमा थुप्रिएर बसेको ढुंगा, माटो र ग्रेगान हटाउने काम आयोजनाले गरिरहेको बताए। यस्तै, दोलखादेखि लामाबगर सडकखण्डस्थित काभ्रेभीर आसपासमा ठूला ढुंगा खसेकाले बाटो अवरुद्ध हुँदा आयोजना क्षेत्रमा जानआउन समस्या परेको सिईओ गौतमको भनाई थियो ।
उर्जामन्त्री खड्कासँगै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललगायतले आयोजना क्षेत्रको निरीक्षण गरेका थिए ।
प्रतिक्रिया