असामाजिक र अराजक क्रियाकलापहरु फस्टाउन दिँदैनौँः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा असामाजिक क्रियाकलापहरु फस्टाउन नदिइने बताएका छन्।

मङ्गलवार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभुत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न शक्तिहरु नेपाली मनलाई विभाजित गर्न खोजेका बताएका छन्।

उनले साम्प्रदायिक विद्वेष र अराजक क्रियाकलापहरुमार्फत नेपाली मनलाई विभाजित गर्न कोसिस भएको भन्दै त्यसलाई सफल हुन नदिने बताए। 

प्रधानमन्त्री ओलीले भने, “यतिबेला अनेक प्रकारका शक्तिहरु, नेपाली मनलाई विभाजित गर्न खोज्नेहरु, भुमी त विभाजित गर्न सक्दैनन्। त्यो भन्दा अगाडी नेपाली मनलाई विभिन्न नाममा नेपाली मनहरुलाई विभाजित गर्ने। साम्प्रदायिक विद्वेष अथवा अरु प्रकारका क्रियाकलापहरु अराजकता, संविधान विपरितका क्रियाकलापहरु र कानून विपरितका क्रियाकलापहरु, असामाजिक क्रियाकलापहरु, अराजकता मच्चाउने खालका क्रियाकलाप र प्रयासहरु भइरहेका छन्।”

प्रधानमन्त्री ओलीले थपे, “म प्रधानमन्त्रीको हिसाबले भन्न चाहन्छु, ति कुराहरुलाई हामीले कुनै पनि हालतमा यस्ता असामाजिक क्रियाकलापहरुलाई मौलाउन, फस्टाउन पनि दिँदैनौँ। सफलताको त कुरै छोडिदिउँ त्यस्ता कुराहरु नेपालमा सफल हुन दिइने छैन । यस्ता कुराहरु प्रति तपाईंहरु सजग हुनुहुन्छ भन्ने मलाई लागेको छ। तपाईहरुको संगठन सजग छ भन्ने मलाई लागेको छ। हामी कानूनी क्षेत्रमा, कानूनमा के–के सुधार गर्नुपर्छ र कसरी सुविधा दिनुपर्छ भन्ने कुरामा अझ दत्तचित्त भएर लागेका छौँ। आगामी संसदको अधिवेशनबाट हामी यि कुराहरु अगाडी बढाउँछौ। कानूनी व्यवस्था पनि अझ बढाउँदै लगिनेछ। उल्लेख्य सुधार गरिनेछ। ३० वर्षे सेवा अवधि हटाइने छ त्यस कानूनबाट। लगायतका अरु कुराहरु पनि हुनेछन्।”

उनले नयाँ कानूनमार्फत सशस्त्र प्रहरी बल नेपालको ३० वर्षे सेवा अवधि हटाइने पनि बताए। (न्युज एजेन्सी नेपाल)

प्रतिक्रिया