काठमाडौँ। नेपालले आइसिसी विश्वकप लिग-२ मा साविक विजेता स्कटल्यान्डमाथि सहज जित निकालेको छ।
अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा मङ्गलबार राति भएको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हरायो। नेपालले लिगमा आठ महिनापछि जित निकालेको हो। लिग-२ मा यसअघि नेपालले घरेलु मैदानमा गत फेब्रुअरीमा नेदरल्यान्ड्सलाई एउटा खेलमा हराएको थियो।
जितका लागि एक सय ५५ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले २९.५ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो।
नेपालका लागि आरिफ शेखले ४२ बलमा आठ चौकाको मद्दतले अविजित ५१ रन बनाए। गुलशन झाले अविजित २५, कुशल भुर्तेलले २५, आसिफ शेखले २१ र अनिल साहले १३ रन बनाए।
बलिङमा स्कटल्यान्डका ब्रेन्डन म्याकमुलनले दुई विकेट लिए। ब्राण्ड करी, मार्क वाट र ज्याक जार्विसले एक एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५४ रन बनाएको थियो।
स्कटल्यान्डका लागि मार्क वाटले सर्वाधिक ३४ रन बनाए। कप्तान रिची बेरिङ्गटन र माइकल जोनसले १९/१९, ब्रेन्डन म्याकमुलनले १६, म्याथ्यु क्रसले १५ र माइकल लिस्कले १४ रन बनाए।
बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए। करण केसी, सोमपाल कामी र गुल्शन झाले दुई दुई तथा आरिफ शेखले एक विकेट झारे।
यस सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो। अब नेपालले शनिबार घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले चौथो तथा अन्तिम खेल कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ।
जितसँगै १० खेलमा पाँच अङ्क बनाएको नेपाल सातौँ स्थानमा छ। पराजित स्कटल्यान्ड नौ खेलबाट ११ अङ्क जोड्दै चौथो स्थानमा छ।
प्रतिक्रिया