वैद्यखाना सरकारले सञ्चालन गर्न नसके महानगरलाई दिनुस्ः प्रमुख साह

काठमाडौँ। काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके काठमाडौँ महानगरपालिकालाई सञ्चालनको जिम्मेवारी दिन आग्रह गरेका छन्। बुधबार सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले सिंहदरबार वैद्यखाना सरकारले पूर्णरुपमा सञ्चालन गर्ने जिम्मेवारी लिनुपर्ने बताए। उनले बिक्री हुने कुरा घाटामा जान नसक्ने भन्दै औषधी उत्पादन बढाएर अर्थतन्त्रमा टेवा पुर्‍याउन सकिने भनाइ राखे।

‘‘मन्त्रालयले हेर्ने दृष्टि ठ्याक्कै बराबर छ, केही पनि फरक छैन। सबै चिज डुबाइएको छ। यो सबै चिज उकास्न जरुरी छ। वीर अस्पताल पनि उकासिनु पर्छ, सिंहदरबार वैद्यखाना पनि उकासिनुपर्छ। औषधी उत्पादन हुनुपर्‍यो।,’’ प्रमुख साहले भने, ‘‘औषधी उत्पादन गर्ने संस्था कसरी घाटामा जान्छ, यसले बेच्छ त। बेच्ने चिज पनि कसरी घाटामा जान्छ। सरकारले गरिदिनुपर्‍यो। सरकारले वैद्यखाना सञ्चालन गर्न सक्दैन भने महानगरपालिकालाई दिनुपर्‍यो । महानगरपालिकाले सञ्चालन गर्छ।’’

प्रमुख साहले देश किन डुब्यो भन्नेकुराको जानकारी पाउन सिंहदरबार वैद्यखाना आएर हेर्दा स्पष्ट हुने बताए। सरकारी ९० प्रतिशत उद्योगहरु लिजमा दिएर बेचिने गरेको उनको भनाइ छ। उनले लिजमा दिन नसके निजी संस्थाको प्रभाव र दबाबमा आएर सरकारी उद्योगहरुलाई डुबाइने गरेको बताए।

उनले ०५८-५९ सालमा यहाँको बजेट पाँच करोड बजेट पाउने सिंहदरबार वैद्यखानाको अहिलेको बजेट एक करोड पनि नरहेको बताए। सरकारले ५० करोड बजेट छुट्याए पनि कम हुने ठाउँमा बजेट नै नहुनु दुःखद् भएको उनको भनाइ छ। उनले आयुर्वेदिक उपचार नेपालको संस्कार र संस्कृति भएको बताए।

सिंहदरबार वैद्यखाना र आयुर्वेदलाई जोगाउन नसके देश जोगाउन नसकिने बताउँदै प्रमुख साहले मन्त्रालयले एलोपेथिक र आयुर्वेदिक दुवैलाई बराबर हेर्ने गरेको बताए। उनले सरकारले हेरेका निकायहरु सबै डुबेको उदाहरण दिँदै मन्त्रालयले हेर्ने खृष्टिकोण सबैमा बराबरी रहेको बताए। डुबेका उद्योगहरु उकास्न जरुरी रहेको बताए।

उनले भने, ‘‘सिंहदरबार वैद्यखाना जोगाउन सकिँदैन, आयुर्वेदलाई जोगाउन सकिँदैन भने हाम्रो देश कसरी जोगाउन सकिन्छ। देश जोगाउन सुरुमा यस्तो ठाउँ जोगाउनुपर्छ। सचिवज्युको एउटा कुरामा म सहमत भएँ, मन्त्रालयले एलोपेथिक र आयुर्वेदिक दुवैलाई बराबर हेर्छ। एलोप्याथिक पनि डुबेको छ, आयुर्वेदिक पनि डुबेको छ। वीर अस्पताल पनि डुबेको छ, टिचिङ पनि डुबेको छ, वैद्यखाना पनि डुबेको छ। सबै बराबर छ।’’ प्रमुख साहले सबै सरकारी निकायहरु उकास्नुपर्ने बताए। (न्युज एजेन्सी नेपाल)

प्रतिक्रिया