जब यात्रामा कठिनाईहरु आईपर्छन् तब पनि जुझारु मानिस कसैगरी आफ्नो यात्रा रोक्दैन, जारी राख्छन् । जब सडक नराम्रो हुन्छ तैपनि हिम्मतिला मानिस अगाडि बढिरहन्छन्, ती हार खाँदैनन्, अन्तत तिनले विजय प्राप्त गरिछाड्छन् । शिखर चुमेरै छाड्छन् ।
यहाँ आलुको सन्दर्भ बडो रोचक छ, मानिस पनि आलु जस्तै हुन्छन् । जब आलु बिक्री गर्न तयार गरिन्छ, तिनलाई विभिन्न तहमा छुट्याईन्छ, सानु मझौला र ठूलो । यसरी छुट्याएर बिक्री गर्दा फरक फरक मूल्य पनि पाईने र फाइदा समेत हुन्छ । यो व्यापारिक चतुर्यांई हो । आलु उत्पादक किसान देखि आलु व्यापारी समेत यो तरिका अपनाउँछन् । तर एकजना किसान भने आलु व्यापारको अनौठो शैली अपनाएर आम्दानी बढाउने गर्छन् । उनको यस्तो तरिका थाहा पाएका अरु किसानले उनलाई सोधे कि कसरी उनी यस्तो काम गर्छन् । सफलताको रहस्य के हो ?
ती किसानले आफ्नो अनुभव यसरी सुनाए, ‘म आलु गाडीमा लोड गर्छु र सबैभन्दा खराब बाटोबाट बजार जान्छु । यसरी खराब बाटोमा हिँड्दा गाडी उफ्रेर आलु तलमाथि पर्छन् । तलमाथि पर्दा सबैभन्दा सानो आलु तल पर्छ, मझौला बीचमा र सबैभन्दा ठूलो आलु सबैभन्दा माथि आउँछ । ८ माइलको यात्रामा आलु मिलाउने काम यात्रामै सम्पन्न हुन्छ । यसरी म आलुको व्यापारमा समय र श्रमको बचत गरेर अरु भन्दा बढी आम्दानी गर्छु ।’
यो आलुको व्यापारको मात्र कथा होइन, मानिसको जीवनमा सफलतासँग जोडिएको उदाहरण पनि हो । ठूलो आलु खराब सडकमा उफ्रेर सबैभन्दा माथि बस्छ, संघर्ष गर्ने मानिस कठिनाईमा पनि सफलताको शिखरमा पुगिछाड्छ ।
कठिनाई सदैव हार्छ भने संघर्ष गर्ने मानिस सँधैं जित्छ । यो जीवनको नियम पनि हो ।
चिन्तकहरुले भनेका छन् सम्भावनापूर्ण चिन्तनले जीवनमा काम गर्छ । यस्तो चिन्तनले आफू, आफ्ना पूर्वज र भावी सन्ततिलाई समेत काम गर्छ ।
प्रतिक्रिया