काठमाडौं । गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने र पूर्व उपाध्यक्ष छविलाल जोशीलाई म्याद थपका लागि मङ्गलबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएकोछ । लामिछाने र जोशीको बयान सकिए पनि अनुसन्धानका अरू काम बाँकी रहेकाले म्याद थपका लागि उपस्थित गराउन लागिएको हो ।
सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा लामिछाने र जोशीमाथि अनुसन्धान जारी छ । यो प्रकरणका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले आज अदालतमा उपस्थित गराउने तयारी भएको जानकारी दिए । “बयान सकिए पनि अरू प्रक्रिया बाँकी छन् । उहाँहरूलाई आज अदालत लगिन्छ,” शर्माले भने।
गोरखा मिडियामा पोखराको सूर्य दर्शनको रकम नियम विपरीत लगी ठगी गरेको अभियोगमा पूर्वगृहमन्त्री लामिछानेलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरेको थियो । ३ गते बिहान पोखरा ल्याइएपछि उनलाई यसअघि पहिलो पटक पाँच दिन र दोस्रो पटक सात दिन म्याद थप भइसकेको छ । बिचमा तिहार बिदा परेकाले मङ्गलवार मात्र म्याद थपका लागि लैजान लागिएको हो ।
असोज ६ गते पक्राउ परेका जोशीसँगै सूर्य दर्शन ठगी आरोपमै पक्राउ परेका लीला पछाई र रामबहादुर खनाललाई पनि सँगै म्याद थपका लागि अदालत लैजाने तयारी छ । सूर्य दर्शन सहकारीमा एक अर्ब ३५ करोड अपचलन भएकोमा साढे पाँच करोड गोरखा मिडियामा गएको देखिएको छ भने एक करोड लामिछानेकै नाममा सहकारीबाट जम्मा भएको देखिएको छ ।
आफ्नो बयानमा लामिछानेले सहकारी ठगीमा संलग्नता अस्वीकार गरेका छन् भने गोरखा मिडियामा रकम व्यवस्थापन र परिचालन आफूले गर्ने नगरेको उल्लेख गर्दै उनले सूर्य दर्शनको सञ्चालक समिति, लेखा समिति, सेयर सदस्य कतै नभएकाले ऋण लिने कुरै नहुने बयान दिएका छन् ।
प्रतिक्रिया