डोनाल्ड ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपति निर्वाचित

काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको नयाँ राष्ट्रपति पदमा निर्वाचित भएका छन् । ७८ वर्षीय ट्रम्प अमेरिकाका ४७औं राष्ट्रपति भएका छन् । उनी दोस्रो कार्यकालका लागि विजयी भएपछि विश्वका नेताहरुको वधाई पाईरहेका छन् । 

डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्पल कुल ५३८ सिटमा ट्रम्पले २७७ मत पाएका छन् । कमला ह्यारिसले २२४ सिट प्राप्त गरिन् । राष्ट्रपति पदमा जित्नका लागि कम्तीमा २७० सिटमा विजय हुनुपर्ने थियो । ट्रम्पको जितसँगै अमेरिकामा राजनीतिक दिशामा परिवर्तन आउन सक्ने सङ्केत देखिएको त्यहाँका सञ्चारमाध्यमहरुले टिप्पणी गरेका छन् ।

ट्रम्पको विजयले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न प्रतिक्रिया उत्पन्न गराएको छ, विशेषगरी अमेरिका–चीन सम्बन्ध, जलवायु परिवर्तन नीतिहरू र नाटो जस्ता मुद्दाहरूमा गहिरो प्रभाव पर्ने अनुमान गर्न थालिएको छ ।

ट्रम्पको दोस्रो कार्यकालले ‘अमेरिका प्रथम’ नीति अघि बढाउँदै अमेरिका र अन्य राष्ट्रहरूबिचको सम्बन्धलाई पुनः परिभाषित गर्ने सम्भावना औंल्याईएको छ । व्यावसायिक पृष्ठभूमिका ट्रम्पले पहिलो कार्यकालमा आर्थिक सुधारका कदमहरू उठाउनुका साथै आप्रवासन, कर नीति र व्यापार सम्बन्धमा कडा अडान लिएको इतिहास रहेको छ । उनका समर्थकहरूले यो जितलाई अमेरिकाको ‘स्वतन्त्र’ तथा ‘सशक्त’ नीति पुनःस्थापनाको विजय मानेका छन् भने आलोचकहरूले यसलाई अन्तर्राष्ट्रिय सम्बन्धमा अस्थिरता निम्त्याउने चेतावनी दिएका छन् ।

ट्रम्पको विजयले आर्थिक मोर्चामा समेत नयाँ तरङ्ग ल्याउने अपेक्षा गरिएको छ । विशेष गरी अमेरिकी बजारमा सकारात्मक सङ्केत देखिएको छ भने अमेरिका–चीन व्यापार युद्धलाई पुनः सुरु गरिने डर पनि छ । ट्रम्पको दोस्रो कार्यकालमा जलवायु परिवर्तन लगायतका अन्तर्राष्ट्रिय मुद्दामा अमेरिकाको सहभागितामा कमी आउन सक्ने र यसले विश्वव्यापी असर पार्न सक्ने विश्लेषकहरूको राय छ ।

अन्ततः ट्रम्पको विजयले अमेरिकाको आन्तरिक र बाह्य नीति, विश्वव्यापी सन्तुलन र कूटनीतिक रणनीतिमा दीर्घकालीन प्रभाव पार्ने विश्लेषण गरिन थालेको छ ।  तस्बिर: एएफपी

 

प्रतिक्रिया