चामलिङको जीवनवादी प्रजातान्त्रिक समाजवाद र हाम्रो वार्ता

-एमएन दाहाल

विश्वमा आजसम्म भएका प्रगति मानव मस्तिष्कको देन हो। बर्बर मानव समाजदेखि आजसम्म आइपुग्दा अनेक राजनैतिक, सांस्कृतिक र धार्मिक परिवर्तनहरू यो दुनियाँले देखेको छ। बर्बर मानव समाजमा शक्तिशालीहरूको थिचोमिचो हुनथालेपछि मानव समाजले न्याय र समानताका निम्ति गरेको प्रयास नै आजको राजनीतिको धरातल हो। राजनैतिक व्यवस्था शुरु भएपछि अनेक नेताहरूले मानवीय विकास, न्याय र समानताका निम्ति अनेकानेक सिद्धान्तहरू समाजलाई दिँदै आएका हुन्।

हामीले केवल इतिहासमा उल्लेखित सिद्धान्तहरूलाई व्याख्या गर्दै आए तापनि वर्तमान युगमा आएर राजनीतिका दुई प्रमुख धारहरू वामपन्थी र दक्षिणपन्थी बीचबाट एउटा नयाँ अवधारणाको सूत्रपात भयो, जसलाई भारतीय उपमहाद्वीपमा लोकनायक जयप्रकाश नारायण र नेपालका पूर्व प्रधानमन्त्री बीपी कोइरालाले प्रजातान्त्रिक समाजवाद भनेर स्थापित गर्ने प्रयास गरे। प्रजातान्त्रिक समाजवादको कुनै स्पष्ट नीति व्याख्या गर्न नसकिने हुनाले नेताहरू यसको समाजवादी पक्षलाई प्रचारमा बढ्ता ल्याउने गर्दछन्।

SK 122

       (तस्बिर: प्रधानमन्त्री केपी शर्मा ओली र सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङका बीचमा लेखक दाहाल) 

वर्तमान युगमा आएर सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङले यसै नीतिअन्तर्गत उनको राजनीतिलाई शुरुमा गरीबवादी प्रजातन्त्रको रूपमा व्याख्या गर्न चाहे। कालान्तरमा जब उनले पवित्र क्रान्तिको घोषणा गरे, त्यसपछि भने उनी स्वयंले आफ्नो राजनीतिक सिद्धान्तलाई जीवनवादी प्रजातान्त्रिक समाजवादको रूपमा स्थापित गर्न सफल भए। अहिले विश्वले उनको जीवनवादी प्रजातान्त्रिक समाजवादलाई नवीन विचारधाराको रूपमा अध्ययन, समीक्षा र व्याख्या गर्न शुरु गरेको छ। कुनै पनि राजनीतिक सिद्धान्तलाई स्थापित हुन युगौं लाग्दछ भने उनको यो   जीवनवादी प्रजातान्त्रिक समाजवाद सिद्धान्तलाई पनि स्थापित हुन युगौं लाग्ला। 

सिक्किममा यो सिद्धान्तलाई लिएर उनले वर्षौंदेखि राजनीति गर्दै आए तापनि यसको सार्थक प्रयोगका निम्ति अहिले पनि उनले हाँकेको९ताकेको झैं गरी समाजले यस नीतिलाई अंगिकार गर्न सकिरहेको छैन। यतिसम्म कि उनकै पार्टीका वरिष्ठ कार्यकर्ताहरू समेत आफ्ना नेताको यस सिद्धान्तलाई व्याख्या गर्न सफल देखिएका छैनन्।  

भर्खर मात्र सिक्किम क्रान्तिकारी मोर्चाको मूख९पत्र मानिएको हाम्रो वार्ता नामक दैनिक अखबारको सम्पादकीय कलममा पूर्खेउली खेतीको प्रसंगलाई लिएर परोक्ष रूपमा चामलिङको जीवनवादी प्रजातान्त्रिक समाजवादको सिद्धान्तअन्तर्गत जैविक मिशनको प्रसंगलाई परोक्षरूपमा वकालत गर्दै लगातार दुईवटा सम्पादकीय लेखिएको थियो। उक्त सम्पादकीयमा हाम्रो पारम्परिक अर्थस्रोत र आत्मनिर्भरताका निम्ति तत्कालीन जैविक कृषि व्यवस्था सक्षम थियो भन्ने पुष्टि गरिएको छ। आजसम्म हुँदै आएको राजनीतिले आर्थिक विकासका निम्ति औद्योगिक क्षेत्र र वैज्ञानिक प्रविधिलाई बढ्ता महत्त्व दिँदै आयो। औद्योगिक विकास र आधुनिक प्रविधिमा रासायनिक तत्वहरूको उपयोग र प्रकृतिको अत्याधिक शोषणका काराण मानव समाजले भौतिक, मानसिक र आर्थिक क्षतिसमेत भोग्दै आएको सबैलाई थाहा छ। 

यसोभन्दा औद्योगिक विकासहरूले राज्यको अर्थ व्यवस्थालाई सुदृढ बनाउँछ भन्ने जुन आर्थिक नीति निर्धारित गरिएको थियो, त्यो नीति अहिले आएर कर्पोरेट जगत, सत्तासीन राजनीतिज्ञहरू र नोकरशाहीको कठपुतली बन्न पुग्यो। आजभन्दा अघि समाजमा हामी दुईवटा वर्गहरूलाई लिएर मात्र चर्चा गरिरहेका थियौं। अभिजात्य वर्ग र सर्वहारा वर्गबीचको दूरी समाप्त गर्न भौतिक विकासको जुन बाटो अपनाइयो, त्यसले सर्वहारा वर्गलाई खासै मद्दत पुर्यारउन सकेन। बाँच्नका निम्ति रोजगारका अवसरहरू प्रदान गरे तापनि उनीहरूको आर्थिक उन्नति हुन नसकेको देखेपछि पवन चामलिङले सर्वहारा वर्गको आर्थिक आत्मनिर्भरताका निम्ति एउटा नयाँ बाटो र विचारको आवश्यकता बोध गरे। त्यही आवश्यकता बोधको प्रतिफल हो, उनको यो नयाँ राजनीतिक वैचारिक धरातल। "हाम्रो वार्ता"मा पवन चामलिङको त्यस योगदानलाई उल्लेख नगरिएको भए तापनि त्यही विचारको आधारमा उक्त सम्पादकीयलाई लिन सकिन्छ। 

आखिर जीवनवादी प्रजातान्त्रिक समाजवाद के हो त, राजनीतिक समाजले जहाँ दक्षिणपन्थी र वामपन्थी विचार मात्र सुनेर आएको छ, मार्क्सवाद, गान्धीवाद, लेनिनवाद, माओवाद वा प्लेटोको गणतन्त्र वा हेगेलको युटोपियन सिद्धान्तको इतिहास पढ्दै आएको छ, यस समाजले पवन चामलिङको जुन नयाँ अवधारणालाई स्वीकार गरिरहेको छैन। वास्तवमा राजनीति केवल विकासका निम्ति मात्र नएभर न्यायसंगत जीवनका निम्ति हुनुपर्छ भन्ने नै उनको सिद्धान्त र अभीष्ट हो। उनीभन्दा अघिका राजनीतिक सिद्धान्तहरूले पर्यावरण र राजनीतिलाई समान महत्त्व दिन सकेनन्। केवल मानव विकास केन्द्रित ती नीतिहरूले प्रकृति र पर्यावरणको सहयोग बिना मानव विकास सम्भव हुँदैन भन्ने कुराको पहल गर्न सकेनन्। 

पवन चामलिङले मान्छेका विकासका निम्ति पर्यावरणमा भएका तमाम जीवजन्तु, किरा फट्याङ्ग्रासमेत सम्पूर्ण उद्भिदहरूको संरक्षण नभए मानव जगतको आयु सिद्धिने आभाष गराए। दुनियाँलाई थाहा भएकै कुरा हो, आज यस विश्वबाट प्राणी मात्र होइन, उद्भिद जगतका पनि अनेक प्रजातिहरू मासिएर गएका छन्। पर्यावरणमा पशुपंक्षी, मानव र उद्भिदको अन्तरंग सम्बन्ध हुन्छ र त्यहीं सम्बन्धले नै यो पृथ्वीलाई जीवन्त र संचालित राख्ने हुनाले राजनीतिमा एउटा नयाँ क्रान्तिकारी सोचको विकास हुन नसके एक दिन मानव समाज मात्र होइन, यो पृथ्वी नै संकटमा पुग्ने छ भन्ने उनको दृष्टिकोण हो। 

केही वर्षअघि उनले पवित्र क्रान्तिको घोषणा गरे। आजभन्दा अघिका क्रान्तिहरूले मानव र मानवबीचका संघर्षहरूलाई मात्र अर्थाएर आएको हो। यद्यपि २१औं शताब्दीको शुरुतिर विश्वको राजनीतिक समाजले पर्यावरणमा भइरहेको अतिक्रमणलाई रोक्न अनेक शीर्ष सम्मेलनहरू गर्दै आए। यहाँसम्म कि रियो द जेनेरियोमा अर्थ समिट गरी विभिन्न देशहरूले पर्यावरण रक्षाका निम्ति सन्धि पत्रमा हस्ताक्षरसम्म गरे।

पर्यावरणलाई लिएर विश्वमा अनेक सन्धिहरू भए पनि ती सन्धिहरूमा वृक्षारोपण र कसरी औद्योगिक क्षेत्र र परिवहन आदिबाट उत्पादन हुने कार्बन९मनोअक्साइडलाई रोकथाम गरी मानव, उद्भिद र प्राणीहरूको स्वास्थ्यलाई जगेर्ना गर्न सकिन्छ भन्नेसम्म सीमित रह्यो। यसो त माटोको उर्बरा शक्ति ह्रास र भूस्खलन जस्ता प्राकृतिक आपदाहरूलाई कसरी रोक्न सकिन्छ भन्ने कुरामा यस्ता सन्धिहरू बढ्ता केन्द्रित रहे। पवन चामलिङ त्यहाँसम्म मात्र अडिएनन्, माटोको उर्बरा शक्तिको ह्रासलाई रोक्नका निम्ति मानव जगत पुनः आफ्नो पारम्परिक जैविक जीवनशैलीमा फर्किनु पर्छ भन्ने अडान लिएर उनले राजनीतिलाई जीवन र जगतसँग जोड्ने नीतिको प्रतिपादन गरे।

सिक्किमे समाजले जैविक मिशनलाई केवल राजनीतिको दृष्टिबाट मात्र हेरिरह्यो। विशेष गरेर पवन चामलिङका विरोधी कथित राजनीतिज्ञहरूले जैविक नीतिको सफलतामाथि नै प्रश्न उठाए र यसलाई जसरी भए पनि क्रान्तिको स्वरूप हुन नसकोस् भनी प्रयास गरिरहे। ती विरोधी व्यक्ति विशेषहरूका कारण जैविक मिशनको दार्शनिक पक्ष ओझेलमा पर्योक। कतिले सिक्किममा स्थापित पन बिजुली परियोजना र अन्य उद्योगहरूका कारण भएको प्रकृतिको विनाशका निम्ति सोझै पवन चामलिङलाई दोष दिन पछि परेनन्। पवन चामलिङसित एकातिर अत्यन्त दुर्बल आर्थिक शक्ति भएको तर विलाशी मनोवृति भएको समाजलाई नेतृत्व दिने एउटा बाध्यता थियो।

सिक्किम पहाडी राज्य भएकोले कम्तीमा ६ महिनामा मात्र एउटा फसल तयार हुने, सानो राज्य भएकाले सार्वजनिक क्षेत्रमा नोकरीहरूको अवसर कम्ती हुनु तर शैक्षिक क्षेत्रमा धेरै अघि आइसकेको सिक्किमको बेरोजगार युवा जमातलाई तत्काल जीवन धान्ने उपाय दिनुपर्ने गहन जिम्मेवारी पनि उनीसित थियो। यस्तो अवस्थामा प्रकृतिको श्रोत र संशाधनहरूको उपयोग गर्नु र औद्योगिक विकास गरेर मात्र उनीहरूलाई रोजगार दिनसक्ने अवस्था हुनाले उनले त्यो क्षेत्रमा ध्यान दिएका थिए। उनले केवल प्रकृतिको श्रोत साधनहरू मात्र उपयोग गरेनन्, तर यसरी उपयोग गर्दा हुने नोक्सानीको क्षतिपूर्तिका निम्ति सम्बन्धित निकायहरूलाई बाध्य पनि तुल्याएका थिए। उनको त्यस प्रयासको प्रतिफल नै आज राज्यको राजश्व वृद्धि भएको छ भने हजारौं युवाहरूले रोजगारका अवसरहरू पाएका छन्। भन्नु नै हो भने पवन चामलिङको समयमा राज्यको जीडीपी दर अरू राज्यहरूको तुलनामा धेरै  राम्रो रहेको केन्द्रिय आर्थिक तथ्यांकहरूले पनि बताउँछ। 

पवन चामलिङले रोजगारको क्षेत्रमा र राज्यको राजश्व विकासको क्षेत्रमा त्यति प्रगति गरिसकेर पनि चित्त बुझाएनन्। उनले आफ्नो राजनीतिको शुरुमा गरीबवादको जुन नीति अपनाएका थिए, त्यसले बताउँछ उनी सर्वहाराको समुचित आर्थिक विकासको पक्षमा छन्। औद्योगिक तथा पर्यटन क्षेत्रको विकासले रोजगारसम्म उपलब्ध गराए पनि ग्रामीण क्षेत्रको गरीबी उत्थानका निम्ति उनले सोचे झैं प्रतिफल हासिल नभएको अनुभव गरेपछि उनले ग्रामीण क्षेत्रतर्फ ध्यान केन्द्रित गरे। सिक्किमको ग्रामीण क्षेत्र अघि भने झैं ६ महिनामा पाक्ने फसलमा निर्भर गर्नुपर्ने हुँदा उनले कृषि क्षेत्रमा क्रान्तिकारी परिवर्तनको परिकल्पना गरे। रासायनिक मलमा निर्भर पर्दै आएको सिक्किमको कृषि व्यवस्थालाई जैविक कृषिमा आमूल परिवर्तन गर्ने उनले संकल्प लिए। यसरी संकल्प लिँदा उनीअघि एउटा ठूलो अड्चनको रूपमा घट्दो जनसंख्या र गौपालनप्रतिको ग्रामीण निराशा एक चुनौतीको रूपमा थियो। पहिलेबाट वन्य सम्पदा संरक्षणको निम्ति उनले जंगलमा गोठ राख्न प्रतिबन्ध लगाइसकेका थिए।

त्यसरी प्रतिबन्ध लगाउनका लागि मूलरूपले दुईवटा व्यावहारिक कारण थिए, जसमध्ये एउटा त सिक्किमको शिक्षाको विकासले जंगलमा गएर गोठ बस्ने मानिसहरूको अभाव थियो भने अर्कोतिर उच्च श्रेणीका गाई वस्तु त्यसरी पाल्न सकिँदैन भन्ने थियो। उनले सत्तामा आउनसाथ वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङलाई पशुपालन विभागको अभिभारा सुम्पिएर त्यस क्षेत्रमा तृणमूल स्तरबाट विकास गर्न जिम्मेवारी दिएका थिए। भर्खर राज्य बनेको र प्रचुर आर्थिक सहयोग केन्द्रबाट प्राप्त गरिरहेको सिक्किमको समाजले कृषिमा गौपालन जस्ता परिश्रमको लगानी गर्ने क्षेत्रलाई अस्वीकार गरेर सहज आर्जनको बाटो समातिसकेको हुनाले उनको यो उद्देश्यलाई व्यावहारिक स्वरूप दिनु धेरै चुनौतीपूर्ण थियो।

तत्कालीन नोकरशाहीले पवन चामलिङको त्यस नीतिलाई अक्षरस पालन गरी ईमानदारीपूर्वक लागू गर्न सहयोग गर्दो हो त आज सिक्किमको ग्रामीण क्षेत्र स्वनिर्भर बनिसकेको हुने थियो। दुर्भाग्यवश एकापटि ग्रामीण शिक्षित युवाहरूमा कृषिप्रति रहेको वितृष्णा र अर्कोपटि नोकरशाही र चामलिङ कै पार्टीका कार्यकर्ताहरू समेतले नीतिको महत्त्वलाई गम्भीरतापूर्वक नलिइदिनाले जैविक मिशनजस्तो महत्त्वाकांक्षी नीति समग्ररूपमा सफल गराउन धेरै गाह्रो भएको थियो। 

अब कुरा गरौं हाम्रो वार्ताको सम्पादकीय कलमको। उक्त कलममा पुर्खेउली खेतीबारे सम्पादकले महत्त्वपूर्ण कुराहरूको उठान गरेका छन्। उनले यतिसम्म भनेका छन् कि पूर्खाहरू त्यही आर्थिक प्रयासद्वारा आत्मनिर्भर थिए भने अबको समाजमा पनि पूर्खाको त्यस परम्परालाई कायम गर्न सके समाज आत्मनिर्भर हुनसक्छ भन्ने उनको भनाइ छ। दुर्भाग्यवश विगत केही वर्षदेखि सिक्किमले सम्पूर्ण जगतका निम्ति विचारको एउटा नयाँ आलोक दिने प्रयास गरिरहेको थियो भने वर्तमानमा आएर त्यस प्रयासलाई राजनैतिक रूपले निस्तेज गराउने प्रयास गरेको बुझिन्छ।

राजनीति हो वर्तमान सरकार पवन चामलिङको प्रतिरोधी भएको हुनाले उनका विचारहरूको प्रसंशा गर्न र प्रयोगमा ल्याई सफलताको शिखरसम्म पुर्यासउन गाह्रो मान्ने नै छ। त्यसो गर्नाले चामलिङको राजनैतिक महत्त्व बढ्ला भन्ने प्रतिपक्षलाई एक प्रकारको डर हुनाले केवल राजनीतिका निम्ति यस महत्त्वपूर्ण क्रान्तिको गला घोट्ने असफल प्रयास भइरहेको बुझिन्छ। आशा छ, सरकारले केवल सिक्किम मात्र होइन, विश्वलाई आफ्नो परिचय दिने राज्यको यस महत्त्वकांक्षी नीतिको उचित मूल्यांकन गरी आगामी दिनहरूमा प्रयास गर्ने नै छ।  

(लेखक सिक्किमका लेखक, साहित्यकार र राजनैतिक बिश्लेषक हुन्)

प्रतिक्रिया