लुम्बिनीबाट अन्तर्राष्ट्रिय उडान सुरु भएकामा उद्योगी प्रशन्न

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि सुखद् भएको उद्योगी व्यवसायीहरुले बताएका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रवारदेखि करिव पाँच महिना दैनिक १० घण्टा बन्द भएसँगै विमानस्थलको उडान कटौती गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वायुसेवा कम्पनीहरुले उडान शुरु गरेका छन् । 

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पूरा हुँदा पनि पूर्णरुपमा सञ्चालन हुन सकेको थिएन । तर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न लागेकाले उडान कटौती गरी विकल्पको रुपमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु गरेसँगै उद्योगी व्यवसायीहरु उत्साहित छन् ।

विमानस्थल बन्ने भएसँगै भैरहवामा निजी क्षेत्रले होटल लगायत पर्यटन पूर्वाधारमा ठूलो लगानी गरेका थिए । विमानस्थल सञ्चालनमा आउन नसक्दा खर्बौैंको लगानी डुब्ने चिन्तामा रहेका उद्योगी व्यवसायीहरुलाई थोरै भएपनि राहत हुने देखिएको छ । उद्योगी व्यवसायीहरुले राज्यले नीतिगत रुपमा वैदेशिक रोजगारीमा जाने यात्रुहरुको लागि पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही उडान गर्ने व्यवस्था गरी पर्यटनको लागि प्रचारप्रसार गर्नुपर्ने व्यवसायीहरुको भनाई छ । उनीहरुले बहाना गर्ने नभइ अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई सहुलियत र सेवा सुविधा दिएर दीर्घकालिन रुपमा सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । 

जजिरा,थाई र एयर एशियाले विमानस्थलबाट उडान नै शुरु गरेका छन् । विमानस्थल सञ्चालनसँगै आर्थिक क्षेत्रसँग जोड्न आवश्यक रहेको निजी क्षेत्रले बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको लागि १० घण्टा बन्द गर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि सुखद् भएको बताए।

ढकालले निजी क्षेत्रले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न बारम्बार सरकारसँग माग गर्दै आएको भन्दै काठमाडौंमाको विमानस्थल बिस्तारको क्रममा उडान कटौती गरी भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि सकारात्मक भएको बताए । ढकालका भनाईमा पर्यटन आगमनको सिजनको समयमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपर्ने अवस्था भएकाले काठमाडौं आउने पर्यटकमा कमी देखिएको छ । 

पर्यटन सिजनको समय भन्दा अन्य समयमा विमानस्थल बिस्तार गर्न व्यवसायीहरुले माग गरेको चर्चा गर्दै ढकालले काठमाडौं त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान कटौती गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान शुरु गर्दा नयाँ अवसरहरु शुरु हुने बताए।

उद्योगी व्यवसायी पवन गोल्यानले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि सकारात्मक भएको बताउनु भयो । उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको बहानामा भएपनि निजी क्षेत्रका लागि सुखद् र उत्साह बढाउने काम भएको उल्लेख गरे। गोल्यानका धारणामा थाई एयर एशियाले उडान शुरु गरेको भन्दै गौतमबुद्धको जन्म भूमिलाई सरकारले मार्केटिङ गर्न सक्नुपर्ने र थाइल्याण्डका ९९ प्रतिशत बुद्धर्धमालम्वीहरुलाई बुद्ध नेपालमा जन्मिएको भन्ने थाहा नभएको भन्दै नेपालले प्रचारप्रसार गर्न आवश्यक छ । उनले वैदेशिक रोजगारीमा जाने उडानहरु पनि भैरहवाबाट शुरु गर्नुपर्नेमा जोड दिए ।
 
गोल्यान भन्छन्, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि उत्साहित हुने खबर हो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बिस्तारको बहानामा भएपनि निजी क्षेत्रका लागि सुखद् र उत्साह बढाउने विषय हो । थाई एयर एशियाले उडान शुरु गरेको छ । नेपालको मार्केटिङ गर्न सक्नुपर्छ । थाइल्याण्डका ९९ प्रतिशत बुद्धर्धमालम्वीहरुलाई बुद्ध नेपालमा जन्मिएको भन्ने थाहा छैन । नेपालले प्रचारप्रसार गर्नुप¥यो । लुम्बीनीको प्रचारलाई महत्व दिनुपर्छ । वैदेशिक रोजगारीमा जाने उडानहरु पनि भैरहवाबाट शुरु गर्नुपर्छ । सबै काठमाडौंमा चाप परिरहेको छ । केही उडान पोखरा र केही भैरहवबाट गर्नुपर्छ । बुद्धको जन्मभूमिको रुपमा सरकारले विश्वमा प्रचार गर्नसके गौतमबुद्ध विमानस्थल सञ्चालनसँगै  लुम्बीनी पर्यटकको हब बन्नसक्छ । लुम्बिनीमा होटल ठूला लगानी भएको छ भने उद्योगको राजधानी बनेको छ । खर्च गर्ने क्षमता पनि बढी छ । पर्यटक गतिविधिहरु बढाउन आवश्यक छ ।’ (न्युज एजेन्सी नेपाल)

प्रतिक्रिया