काठमाडौँ। नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र भण्डारीले अस्वभाविक रुपमा हवाई भाडा वृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मारमा परेको बताएका छन्।
अध्यक्ष भण्डारीले ट्राभल एजेन्सीहरुले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बिस्तारका लागि १० घण्टा बन्द गरेर उडान कटौती भएको मौकामा हवाई भाडा वृद्धि गर्दा वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा परेको बताएका हुन्। उनले अस्वभाविक रुपमा वृद्धि भएको हवाई भाडा सरकारले तत्काल नियन्त्रण गरी पुरानै भाडादर कायम गराउन माग गरे। अध्यक्ष भण्डारीले कार्टेलिङ गरेर तीन सय प्रतिशतसम्म हवाई भाडा वृद्धि भएको दाबी गरे। उनले अहिले अन्य समयमा ३०÷३५ हजारमा पाइने हवाइ टिकट अहिले एक लाखसम्म तिर्नुपर्ने अवस्था आएको उल्लेख गरे। उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल उडान कटौती हुँदा टिकट नपाउने समस्या भोगिरहेका श्रमिकले भाडा महँगीका कारण श्रमिकहरुको बिच्चली रहेको बताए।
उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरु हवाई भाडा वृद्धि र टिकट नपाउँदा अप्ठ्यारो अवस्थामा रहेको बताए। उनले श्रम,पर्यटन र परराष्ट्र मन्त्रालयलाई हवाई भाडा नियन्त्रणको लागि दबाब दिइरहेको पनि बताए। अध्यक्ष भण्डारीले नेपालबाट दैनिक १२ सयदेखि १५ सय र विदामा आएर फर्किने ५ सय गरी दैनिक २ हजार जना विदेश जाने गरेको बताए।
अध्यक्ष भण्डारीले भने, “नेपालमा अन्तर्राष्ट्रिय उडानमा सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने श्रमिकले होल्ड गर्छन्। दैनिक रुपमा एक हजार दुई सयदेखि एक हजार पाँच सय नयाँ श्रमिकहरु विदेश जान्छन्। त्यस्तै दैनिक रुपमा विदेशबाट नेपाल आएर पुनः विदेश नै फर्कने करिव ५ सय श्रमिकहरु हुन्छन्। अहिले दशैंतिहारको समय भएकाले विदेशबाट विदा मनाउन नेपाल आएको अवस्था छ। अहिले दशैंतिहार सकिएर विदेश जाने चाप बढेको छ।”
उनले अहिले नेपालमा पर्यटन आगमन वृद्धि हुने सिजन पनि हुँदा हवाई टिकट पाउन मुस्किल रहेको बताए। उनले हवाइ भाडा बढ्दा अहिले कामदार पठाउन नसकिने अवस्था रहेको उल्लेख गरे। उनले एयरलाइन्स र ट्राभल एजेन्सीहरुले कार्टेलिङ गरेर टिकटको मूल्य २÷३ सय प्रतिशतसम्म बढाएको आरोप लगाए। अध्यक्ष भण्डारीले सिजनको समयमा विगतमा १५÷२० प्रतिशतसम्म हवाई भाडा बढ्ने गरेको भए पनि अहिले एकैचोटी २÷३ सय प्रतिशतले बढ्नु राम्रो नभएको बताए। उनले ट्राभल एजेन्सीहरुले पहिले नै टिकट बुक गर्ने र महँगोमा बेच्ने गरेको बताए। उनले एजेन्सीलाई टिकट बेच्न नदिने सहमति गरेको भन्दै कार्यान्वयन गर्न आवश्यक रहेको बताए। उनले हवाई भाडा वृद्धि र टिकट नपाएपछि तेस्रो मुलुकबाट मानिसहरु विदेश जाने खतरा बढेको बताए।
उनले भने, “नेपालमा ट्राभल एजेन्सीहरुले वायुसेवा कम्पनीहरुसँग टिकट किन्ने प्रचलन पनि छ। त्यसले गर्दा वैदेशिक रोजगारीमा जाने गन्तव्य मुलुकहरुको ४० देखि ४५ हजार पर्ने टिकट अहिले १ लाखमा पनि नपाउने अवस्था सिर्जना भएको छ। त्यो तेब्बर रुपमा वृद्धि हुँदा श्रमिकहरुले टिकट नपाएर बिच्चली भएको छ। टिकट नपाएको अवस्थामा अस्वभाविक रुपमा हवाई भाडा पनि बढ्यो। अस्वभाविक हवाई भाडाँ वृद्धि हुँदा आगामी दिनमा बेथिति जन्माउँछ। नेपालबाट टिकट नपाउँदा तेस्रो मुलुकबाट जाने अवस्था आउँछ।”
उनले हवाइ भाडाको कारणले गर्दा वैदेशिक रोजगारीमा जानेहरुको विचल्ली भएको बताए। उनले अच्चाकाली रुपमा वृद्धि भइरहेको भाडाबारे पर्यटन मन्त्रालय र सरोकारवाला निकायले अनुगमन र नियन्त्रण गर्नुपर्ने बताए। उनले विमानस्थल बिस्तार गर्ने समय अनकुल नभएको पनि बताए। (न्युज एजेन्सी नेपाल)
प्रतिक्रिया