संगिनी नाच संरक्षणमा पथरी शनिश्चरेका महिला

मोरङ । गाउँघरमा आधुनिक मनोरञ्जनको साधनको पहुँच बढेसँगै परम्परागत रुपमा नाचिँदै आएको सङ्गिनी नाच लोपउन्मुख भएको छ । यसको संरक्षण र पुस्तान्तरणमा पथरी शनिश्चरे ३ शान्ती टोलका महिलाहरु लागिपरेका छन् । यहाँ रहेको महिला जागरुक हरिकीर्तन तथा सङ्गिनी समूहले सङ्गिनी नाचको प्रचारप्रसार गर्न र नयाँ पुस्तामा यसका बारेमा जानकारी दिन प्रत्येक हप्ताको मंगलवार साँझ सङ्गिनी प्रशिक्षण कार्यक्रम नै सञ्चालन गरेको छ ।

पछिल्लो समय यो समूहले सङ्गिनी नाच संरक्षणमा गरेको काम प्रशंसनीय रहेको स्थानीयहरु बताउँछन् । विषेश गरी विवाह, पूजा, पुराण समारोह उत्सव आदिमा सङ्गिनी नाचिने र सो नाचमार्फत महिलाले आफ्नो पीडा पोख्ने गरेका थिए । बिस्तारै पश्चिमा संस्कृतिको बढ्दो प्रभावले अहिले सङ्गिनी एकादेशको कथा जस्तै बनेको छ । कुनै समय नेपालमा नै सङ्गिनीको हाईहाई थियो । मान्छे टाढाटाढाबाट बालन र सङ्गिनी हेर्न पुग्थे । विगत ४ वर्षदेखि यस समूहले आफ्नै खर्चमा सङ्गिनी संरक्षणका लागी आमा समूह, बुहारी समूह र छोरी समूह बनाएर सङ्गिनी खेल्दै आएका छन् । गाउँका थोरै महिलाहरु भेला भएर गाउँमै खेल्दै आएको संगिनीलाई हाल छिमेकी पालिकाहरुले समेत बोलाउन थालेका छन् । मौलिक संस्कार र संस्कृतिको संरक्षण गर्दै प्रचारप्रसारमा लागि परेको महिला जागरुक हरिकीर्तन तथा सङ्गिनी समूहलाई पुरुषहरुले समेत साथ दिन थालेका छन् । विवाह गरेर गएका महिलाहरुले आफ्ना मनमा लागेका वेदनाहरु गीतका माध्यमबाट पोख्ने ठाउनै संगीनी भएको बताउनु हुन्छ स्थानीय खगेन्द्र लुइँटेल । 

सङ्गिनीमा महिलाका दुःख सुखका कुराहरु, जाँतो पिस्दादेखि ढिँकी कुट्दासम्मका कुरा गीतका माध्यमबाट पोख्ने गरिन्छ । खास गरी व्राह्मण, क्षेत्री समुदायमा नाचिने बालन पश्चिमा संस्कृतिको प्रभाव बढेसँगै समाजमा हराउँदै गएको हो । जुनसुकै शुभ कार्यमा संगिनी नाचिने गरिन्थ्यो । झन्डै डेढ दशक अघिसम्म गाउँघरमा बालन नाचेको स्मरण स्थानिय भुवनेश्वर पोखरेलको रहेको छ ।

१४ वर्ष अगाडी भजन कीर्तन गर्न बनेको समूहले अब भजन कीर्तन गरेर मात्र हुँदैन भन्ने हेतुले लोप हुँदै गरेको संगिनीको पनि संरक्षण गर्न थालेका हुन् । ५ वर्ष अगाडीदेखि संगिनी ठाउँठाउँमा देखाउँदै आएको समूहकी अध्यक्ष देवीमाया पोखरेल बताउनु हुन्छ ।  

पश्चिमा संस्कृतिको प्रभावकाबीच संगिनी के हो रु भन्ने पुस्तालाई चिनाउन यसरी साप्ताहिक रुपमा प्रशिक्षण थालिएको हो । ‘सामुहिक रुपमा शुरुवात गरेको सङ्गिनी प्रशिक्षणले समाजमा समेत सकारात्मक प्रभाव बनाएको छ । सङ्गिनी  प्रशिक्षणले बालबालिकाहरुमा पनि नैतिकवान, अनुशासन र संस्कारको विकास हुँदै आएको छ । हजुरआमा, आमासँगै सङ्गिनी प्रशिक्षण गरिरहेकी अपेक्षा खतिवडा यसले आफ्नो संस्कारबारे थप जान्ने मौका मिलेको बताउनु हुन्छ । 

पश्चिमा संस्कृतिको प्रभाव बढिरहँदा यो समूह मौलिक परम्परा रहेको सङ्गिनी संरक्षणमा लागिरहेको छ । हाल झापा मोरङ्ग र सुनसरीका क्षेत्रमा हुने धार्र्मिक समारोहमा सङ्गिनी प्रश्तुत गर्न उक्त समूहलाई निमन्त्रणा हुन थालेको छ । भजन कीर्तन गर्दै गरेको समूहले सङ्गिनी संरक्षणमा काम गर्न थालेपछि यसलाई सबै क्षेत्रबाट प्रशंसा र सहयोग प्राप्त भएको छ । हाल यस समूहमा पथरी शनिश्चरे ३ शान्ति टोलका ३५ घर परिवार यो कार्यमा सहभागी रहेका छन् । लोप हुन लागेको संस्कारलाई ५ वर्षदेखि संरक्षण गर्दै आएको बताउनुहुन्छ समूहकी सचिव यशोदा पोख्रेल ।

महिलाहरुले आफ्ना पीडा गीतमार्फत प्रश्तुत गरी नाचमार्फत पहिलापहिला प्रश्तुत गर्ने गरेको सङ्गिनी अहिले बिस्तारै हराउँदै गएको छ । मौलिक तथा परम्परागत नाचका रुपमा रहेको सङ्गिनीको संरक्षणका लागि समूहले आमा पुस्ताबाट बुहारी र नातिनी पुस्तालाई भेला गराई प्रशिक्षण दिने गरेको नर्मदा खतिवडा बताउनु हुन्छ ।

युवापुस्तामा परम्परागत संस्कृतीको हस्तातरण हुनुपर्ने र यसको महत्व सबैमा गराउनसके हराउदै गएको मैलिक संस्कार सहतिको संस्कृतिको संरक्षण हुने देखिन्छ । मैलिक संस्कार बोकेका संगिनी र बालनलाई महिला जागरुक हरिकीर्तन तथा सङ्गिनी समूहले जस्तै हजुरआमा पुस्तावाट नातिनी पुस्तासम्म पुर्याउन सबै पक्ष एकजुट हुनुपर्ने देखिएको छ । (न्युज एजेन्सी नेपाल)

प्रतिक्रिया