काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको बताएका छन्।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले आफूहरुले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यताबाट पछि हट्न खोज्ने आफैँभित्र पनि कोही भए उनीहरुलाई सफल हुन दिन नहुने बताए। उनले संविधानको मर्म र भावना विपरित संसद विघटन गरेर देशलाई फेरि एउटा भुमरितर्फ लैजाने प्रयासका बिरुद्ध पुनः एकीकृत हुनुपर्ने आवश्यकता औंल्याए।
उनले विगतको जस्तै संविधान मिच्ने, संसदलाई विघटन गर्ने कसरत हुन दिनु नहुने बताए। देशलाई फेरि एक पटक प्रतिगमनतिर लैजाने कसरत सफल हुन नपाओस् भन्नेकुरामा शतर्क हुनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।
“समाजमा अलि बढी अराजकतातिर, निरंकुशतातिर फर्काउने कसरतहरु कतै न कतै पछाडितिर फर्काउने कसरत देखिएका छन्। हाम्रो अगाडि मैले जहिले पनि आज भोलि भन्ने गरेको कुरा के छ भने हामीले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यताबाट पछि हट्न खोज्ने हामी भित्रै कसैको मनशाय छ भने त्यसलाई पनि सफल हुन नदिनुपर्ने आवश्यकता छ। हामीले विगतमा पटक पटक संविधानको मर्म र भावना विपरित संसद विघटन गरेर देशलाई फेरि एउटा भुमरितर्फ लैजाने प्रयासका बिरुद्ध हामी लोकतन्त्रवादी, वामपन्थी मिलेर संघर्ष गरेर त्यसलाई असफल पारेको हो।” अध्यक्ष दाहालले भने, “अहिले पनि त्यो कोशिस कतैबाट हुन थाल्यो भने त्यसलाई रोक्न हामी सबै यो परिवर्तनका हिस्सेदारहरु, यो संविधानका पक्षधरहरु जो साँचो अर्थमा हृदयदेखि नै संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध थियौँ, छौँ। हामी कहीँ न कहीँ सजग हुनुपर्ने, शतर्क हुनुपर्ने आवश्यकता छ। फेरि कतै विगतको जस्तै संविधान मिच्ने, संसदलाई विघटन गर्ने कसरत कतै नहोस्। देशलाई फेरि एक पटक प्रतिगमनतिर लैजाने कसरत सफल हुन नपाओस् भन्नेकुरामा शतर्क हुनुपर्ने आवश्यकता छ।”
अध्यक्ष दाहालले संविधान आवश्यक मात्रामा संशोधन गर्नुपर्ने तर संविधानका पक्षधरहरु गम्भीर हुन जरुरी रहेको बताए। आफूले केही नराम्रा काम गरेको स्वीकार गरेको पनि बताए।(न्युज एजेन्सी नेपाल)
प्रतिक्रिया