मन्त्री विरुध्द टिप्पणी गरेका सांसद बजगाईंले माफी मागे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे विरुध्द टिप्पणी गरेर विवादमा आएका नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले माफी मागेका छन् । मन्त्री पाण्डे विरुध्द आफूले गरेको टिप्पणीको कुनै आधार नभएको भन्दै उनले आफ्नो आधारहीन अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको भन्दै माफी मागेका हुन् । 

बजगाईंले सामाजिक सञ्जालमै लेखेर मन्त्री पाण्डेले क्यासिनोलाई इजाजत दिँदा मोटो रकम घुस लिएको आरोप लगाएका थिए । त्यसपछि मन्त्री पाण्डेले बजगाईंले आफूविरुद्ध बारम्बार कुप्रचारमा उत्रिएको भन्दै पार्टीमा उजुरी दिएका थिए । सोहीक्रममा मंगलबार अनुशासन समितिले बजगाईंलाई बोलाएर स्पष्टीकरण लिएको थियो । त्यसको भोलिपल्ट बजगाईंले माफी मागेका हुन् ।

‘सामाजिक सञ्जाल एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्तिउपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो,’ बजगाईंले एक्समार्फत भनेका छन्, ‘मैले लगाएको आरोपले मन्त्रीजीलाई निकै चोट परेको पाएँ । त्यसकारण उक्त अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु ।’
 

प्रतिक्रिया