दार्शनिक प्लेटोले भनेका थिए, यदि तिमी सरकारको चालचलन प्रति कुनै महत्व राख्दैनौ भने तिमी मूर्खहरुद्वारा शासित हुन बाध्य हुनेछौ।
हाम्रो यो समयमा ‘राजनीति भन्दा बाहिर रहने’ भन्ने कुनै चिज हुँदैन। हरेक विषयहरु राजनीतिक विषय हुन्, र राजनीति आफैंमा झुट, कपट, मूर्खता, घृणा अनि पागलपनको थुप्रो हो। असीमित शक्तिको प्रयोगबाट नागरिक माथि हुकुमी शासन लादेको यथार्थ हो। जनताले प्रतिपक्षमा बसेर सरकारलाई सहि मार्ग निर्देश गर्ने मत पाएका साना दलहरु चास्निमा झिँगा भन्भनिए झैं सधै सत्ताकै वरिपरि भन्भनिईरहे। झिँगाले सधै चास्नीको रसास्वादन गर्न सक्दैन। कुनै दिन चास्निमै डुबेर मर्छन् पनि।
सत्ता मोहले राजनीतिक पार्टीका नेताहरुको अवस्था पनि उस्तै उस्तै छ। पीडाबाट मुक्त हुन प्रयासरत नेपाली समाजलाई उन्मुक्ति दिनुको साटो शासकहरु शासन गर्न लिप्त भए। पीडाको समयमा त्यहाँ कोहि हिरो हुँदैन तर शासक हिरो भई दिँदा राजनीतिमा अपराधिकरण हाबी भयो। यो प्रवृत्ति समाज अनि देशको लागि घातक र हानिकारक छ।
संविधानसभा मार्फत नागरिकलाई अग्रगामी निकासको खाका परिकल्पना सहित प्रमुख राजनीतिक दलहरु मिलेर आमूल परिवर्तन गरेका थिए। अठार बर्षमा मुलुकमा चौध वटा सरकार बने यता पार्टीहरुले आफू अनुकूल निर्माण गरेका संविधानलाई गिजोल्ने कार्य गरे। जताबाट जसरी पनि ब्याख्या गर्न सकिने छिद्रहरु राखेर बनाईएको तदर्थ संविधान नौ बर्ष पछि गलपासो बन्न पुग्यो। एकै ब्यक्ति दोहोर्याई तेहर्याई सरकारमा बिराजमान हुने उत्कट चाहना प्रमुख पार्टिको उद्देश्यले आर्थिक स्थिति धरासायी बन्यो। नागरिकको थाप्लोमा तेईस खर्ब वैदेशिक ऋण थोपर्ने दुस्साहस गरे। थाप्लोमा जन्मदै चौरासी हजार ऋणको भारी बोक्नु पर्ने अवस्था आयो। राजनीति स्थीर नहुँदाको परिणाम हो यो भन्दा अत्युक्ति नहोला।
आफ्नै जन्मभूमिमा बस्न पनि जनतालाई भय र त्रास उत्पन्न भएको छ। गाँस बास र कपासको प्रत्याभूति नहुनु, धर्म, संस्कृति अनि भूमिको सुरक्षा नहुनु जस्ता यावत कारणले गर्दा जनता पीडामा बाँच्न विवश भए। नेपाललाई पीडितैपीडितको देश भन्दा फरक पर्छ ररु उखु किसान पीडित, दूध किसान पीडित, चिया किसान पीडित, अदुवा किसान पीडित, तरकारी किसान पीडित, सहकारी पीडित ,लघुबित्त पीडित, सुकुम्बासी पीडित, भूमिहिन पीडित, बेरोजगारी पीडित अन्य कयौं पीडितहरु चर्चामा छैनन्। घाम पानी भोक प्यास नभनी सडकबाट राज्यसँग याचना गरिरहेका छन्।
नेताहरुबाट सत्ता र शक्तिको अनुचित प्रयोग भएकै कारण जनता कष्टकर जीवन जिउन बाध्य छन्। पीडितको माग सम्बोधन गर्न विभिन्न समिति बनाइन्छ। समितिले प्रतिबेदन बुझाउन नपाउँदै सरकार परिबर्तन भैसक्छ। सरकारले न्याय देला भनेर बसेका पीडितको इहलिला समाप्त भैसक्छ। मै खाउँ मै लाउँ, सुखसयलमा मोज म गरुँ भन्ने ध्येय दलहरुमा रहेको प्रष्ट छ। मुख्यतः तीन पार्टी माझ भागबण्डा र मिलिजुली खाने प्रवृत्ति रहेको देखिन्छ। एक आपसमा मिले झैं गरेता पनि भित्रभित्रै अर्कोलाई सिध्याउन लागिपरेका छन्। यथार्थमा आफैं सिद्धिरहेको पत्तो छैन।
यसै प्रसंगमा एउटा पौराणिक कथा यहाँ सान्दर्भिक हुन आउँछ । कुनै समयमा कुनै एक जंगलमा चारजना चोरहरु बस्थे। ती चारैजना स्वार्थी र दुष्ट, कपटी स्वभावका थिए । त्यसो भएता पनि उनीहरु एकले अर्कालाई निकै माया प्रेम देखाउने गर्थे। मनमा चाहिँ इर्ष्या राख्थे। एक दिन चारैजनाले ठूलो धनराशी चोर्ने योजना बनाउन्छ्न्। त्यसको लागि धनी महाजनको खोजी गर्न थाले। धेरै दिनको प्रयास पछि धनी महाजनको घर पत्ता पनि लगाए । बडो होशियारीपूर्वक महाजनको घरबाट हिरा, मोती, सुन जवाहरत चोर्न सफल भए। चोरी सकेपछि उनीहरु चोरीको माल लुकाउन जंगल पसे।
महाजन चोरिएको सम्पत्ति खोजी गर्न लागे। महाजनको प्रभाव शहरमा राम्रो भएकोले प्रहरीले पनि चोर समाउन सक्रियता बढायो। प्रहरीको डरले गर्दा चोरहरु जंगल बाहिर निस्कन पाएनन्। हप्तौसम्म लुकेर बसेका चोरहरुसँग भएका खानेकुरा सकिए। उनीहरु भोकले इन्तु न चिन्तु भए अनि एउटा सल्लाह गरे। दुई जना साथी सम्पत्ति कुरेर बस्ने दुई जना साथी बजार गएर खाना ल्याउने कुरामा सहमती भयो। दुई जना जसोतसो बजार पुगे र पेट भर खाना खाए। जंगलमा भएका साथीहरुलाई पनि लिएर आए। बजारबाट जंगलतर्फ लाग्दै गर्दा एउटा चोरले साथी चोरलाई भन्यो( यो खानामा वीष हालेर लगौं, जंगलमा भएका साथीहरुलाई खान दिउँ अनि वीष खाएर उनीहरु मर्छन् । ती सबै जवाहरत हाम्रो हुन्छ अनि हामी बराबर बाडेर लिउँ। अर्को चोर साथीले आफ्नो चोर साथीको जुक्तिमा तुरुन्तै सहमति जनायो र मनमनै त्यसलाई पनि मारेर सबै आफ्नै बनाउने सोच बनायो।
यता जंगलमा सामाज रक्षा गरेर बसेकाहरु पनि बजारबाट खाना ल्याउने बित्तिकै दुबैलाई मार्ने योजना बनाएर बसेका थिए। जब बजारबाट दुईजना खाना लिएर जंगलमा भएका साथीसँग भेटे। तिनीहरु तत्काल पानी भन्न नपाई मारिए। सम्पत्तिको लोभले दुईजना मारे पछि खुशी हुँदै साथीले ल्याएको खाना खाए तर त्यो खानामा वीष थियो। बाँकी दुई पनि तड्पिएर मरे। लोभले लाभ लाभले बिलाप भयो।
राजनीतिमा इमान्दारिता र मानब मानबबीच हुने भेदभावको अन्त्य गरि मानवीय समाज, मानवीय संस्कृति निर्माण गरिनु पर्छ। जनतालाई भ्रष्टाचार रहित, इमान्दारितामा आधारित, ढिलासुस्ती बिहिन, सरकारी सेवा सुबिधा र न्याय दिने वातावरण हुनु पर्छ। सुशासनको निमित्त स्वचालित पद्धतिको बिकास अत्यन्त महत्त्वपूर्ण छ।
मुलुक आर्थिक सबलिकरणमा अघि बढ्न प्रत्येक वडाका स्थानिय प्रतिनिधिले शिक्षा, स्वास्थ, कृषि, पशुपालन घरेलु उत्पादन, जडिबुटीलाई उच्च प्राथमिकता दिईनु पर्छ। गरीब घर परिवारको पहिचान गरेर गाउँमै बसि आयआर्जनका काम गर्न प्रेरित गर्नु पर्छ।
दलगत स्वार्थ त्यागेर राष्ट्र निर्माणमा प्रेरित हुन सबै राजनीतिकर्मीलाई सद्बुद्दी प्राप्त होस् भन्ने कामना छ।
प्रतिक्रिया