हिउँदमा नेपाललाई ६ सय ५४ मेगावाट बिजुली आयात गर्न दिन भारत सहमत

काठमाडौं। भारत आगामी हिउँदयामका लागि नेपाललाई ६ सय ५४ मेगावाट बिजुली आयात गर्ने सहमति दिन सहमत भएको छ ।
 
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता तथा विद्युत् प्रणाली सञ्चालन विभागका निर्देशक चन्दनकुमार घोषले बताए अनुसार यही मंसिर ४ देखि आगामी चैत २ सम्म र आगामी असार १६ गरी दुई चरणमा अनुमति दिएको छ ।

यसअनुसार ढल्केबर-मुजफफ्फुर अन्तर्देशीय प्रसारण लाइनबाट ६ सय मेगावाट टनकपुरबाट ५४ मेगावाट बिजुली नेपालले हिउँदयामका लागि प्राप्त गर्नेछ ।
 
प्रवक्ता घोषका अनुसार नोभेम्बर १९ देखि मार्च १५ सम्मको अवधिमा भारतले राति ९ देखि भोलिपल्ट साँझ  ५ बजेसम्म उक्त परिमाणको बिजुली उपलब्ध गराउनेछ भने मार्च १५ देखि जून ३० सम्म बिहान ६ देखि बेलुकी ६ बजेसम्म (सोलार आवर) सम्म दिनेछ । 

मार्च १५ देखि जून ३० सम्म २० घण्टाको साटो १२ घण्टा मात्र बिजुली आयात गर्न पाइने गरी सहमति आएको र यसपालिको हिउँदमा अपेक्षित उच्चतम माग (पिक डिमाण्ड) २४ सय मेगावाट हुने घोषले बताए । त्यतिबेलाको उत्पादन भने ११ सयदेखि १२ सय मेगावाट हुने अनुमान छ ।

प्राधिकरणको सहायक कम्पनीले प्रवद्र्धन गरेको र यसै हिउँदयाममा उत्पादन गर्ने तयारीमा रहेका रसुवागढी, मध्य भोटेकोसी, साञ्जेलन लगायतका आयोजनाबाट हिउँदयाममा एक तिहाई प्राप्त हुनेछ । कुल एक सय ६० मेगावाटका यी आयोजनाहरुमो करिब ४८ मेगावाट फर्म इनर्जी उत्पादन हुनेछ ।

गत असोज १०–१२ को अबिरल वर्षाका कारण आएको पहिरोका कारण ठप्प भएको माथिल्लो तामाकोसी (जडित क्षमता ४५६ मेगावाट) लाई पूर्ण अर्धजलाशयको प्रकृतिमा उत्पादन हुने गरी अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडले मर्मत कार्य तीव्र बनाएको छ ।

 

प्रतिक्रिया