काठमाडौँ। उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा राजनीतिकरण गर्न नहुने बताएका छन्।
आइतबार सिंहदरबारमा फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा बोल्दै उनले देशको राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्नेले अरु के कुरा व्यवस्थापन गर्न सक्छौं ? भन्दै प्रश्न समेत गरे।
उनले भने, “फोहोर मैलामा राजनीतिकरण गरेर त भएन नि। हामीले देशको राजधानीकै फोहोरमैला व्यवस्थापन गर्न नसक्ने हामीले अरु के कुरा व्यवस्थित गर्न सकौंला त ? प्रश्न आउँछ नि ,यो फोहोरमैलाको सवालमा विधिको शासनअनुसार हामी सबै चल्नुपर्दछ। चाहे सङ्घीय सरकार होस् वा प्रादेशिक सरकार होस् वा स्थनीय सरकार नै किन नहोस् विधिको शासनअनुसार त मान्नु प¥यो नि, प्रक्रिया अनुसार हामी जान्छौं।”
उनले फोहोर व्यवस्थापनको विषयमा हुने छलफलको मात्र समाचार बन्ने गरेको भन्दै अब एक्सनमा गएको समाचार आउने गरी काम गर्ने बेला आएको धारणा राखे।
उनले भने, “काठमाडौं उपत्यकाको फोहोरमैलाको व्यवस्थापन गर्नका लागि धेरै समय चाँही गइसकेको छ। स्थानीय निर्वाचनपछि हरेक समयमा पत्रपत्रिकामा समाचार मिडियाहरुमा फोहोरमैलाको बारेमा समाचार पढ्ने गछौं। तर अब चाँही छलफल गरेको मात्र समाचार बन्ने होइन कि एक्सनमा गएको समाचार आउने गरी काम गर्ने बेला भयो।”
प्रतिक्रिया