रवि लामिछानेलाई १५ दिन हिरासतमा राख्न अनुमति

कास्की। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले १५ दिन म्याद थप गरेको छ।

न्यायाधीश भीमलाल बेलबासेको इजलासले रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। यसअघि कात्तिक २५ मा उनलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो।

उनिमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।

कात्तिक २ गते पक्राउ परेका लागिछानेमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पहिलो पटक ६ दिन, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिनको समय दिएको थियो।

त्यसबिचमा रुपन्देहीमा पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई रुपन्देही लगेर बयानसमेत लिइएको थियो।

रविविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ। प्रहरीले लामिछानेसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा पूर्व डिआइजी छविलाल जोशी र कुमार रम्तेललाई काठमाडौँ ल्याएर बयान लिइसकेको छ। छविलाल जोशीलाई शुक्रबार मात्रै कास्की फिर्ता गरिएको थियो। लामिछानेलाई पनि काठमाडौँ ल्याउने तयारी भएको छ।

प्रतिक्रिया