हिरासतबाट दुर्गा प्रसाईंको पत्र

संसारभरि छरिनुभएका नेपालीमा म दुर्गा प्रसाईंको नमस्कार!

म यहाँ हिरासतमा आरामै छु। भगवान पशुपतिनाथसँग तपाईंहरुको पनि आरामीको कामना गरेको छु। 

हिरासत नजाँदासम्म सरकारले सत्य बोलेकोमा सजाय स्वरुप उपहार दिन कतिबेला भर्याङ्ग चढेर आउँछ अनि हिरासतमा लिएर जान्छ भन्ने कौतुहलता हुँदोरहेछ। 

अन्तत: हिरासतमा आईसकेपछि क्षणिक कौतुहलता मेटिएर जाँदो रहेछ अनि एकाग्र र अनगिन्ति प्रश्नले मन पिरोलिँदो रहेछ। हिरासत भित्रको अँध्यारो कोठाभित्र मैले हिजो मात्रै विपि (विश्वेश्वर प्रसाद कोइराला)को आत्म वृतान्त पढेर सकें। मलाई विपिको आत्मवृतान्त खुब मन पर्यो र आत्मवृतान्त पढेर सक्दा एकोहोरो उहाँप्रति असीमित सम्मान जागेर आएको छ। 

लाउँलाउँ खाउँखाउँको यौवन अवस्था देखि विपिले दक्षिण एसियाका नागरिकको मुक्तिका लागि आफ्नो जीवन समर्पित गर्नु भएको रहेछ। भारतको स्वतन्त्रता आन्दोलन देखि नेपालको राणा बिरोधी आन्दोलन र बंगलादेशको स्वतन्त्रता आन्दोलनमा समेत उहाँले अत्यन्त ठूलो भूमिका निर्वाह गर्नुभएको रहेछ। 

जनतालाई हाम्रो मौलिक अधिकार के हो भन्नेसम्म ज्ञान नहुँदा विपीले जनतालाई अधिकार सम्पन्न बनाउन नेपालमा राणा बिरोधी आन्दोलन गर्नु भएको रहेछ। फलस्वरूपस् श्री ३ महाराज मोहन शमशेरले अँध्यारो कालकोठरीमा थुनिदिएका रहेछन्। 

अँध्यारो कालकोठरीमा हतकडिमा बाँधिएका विपीलाई दिन कतिबेला भयो। रात कतिबेला भयो भन्ने थाहा समेत नभएको र खोपाको किरण देख्नासाथ भित्तामा धर्को तानेर कति दिन कति महिना बित्यो भन्ने गिन्ती गरेको र बिस्तारै धर्को तान्न समेत भुल्दै जानु भएको भन्ने पढ्दा मेरो गह भरिएर आयो। जेलभित्र लगातारको झण्डै महिना दिनको भोक हडतालको खबर बाहिरिए पछि अन्तर्राष्ट्रिय जगतको दवाबमा विपी छुट्नु भएको रहेछ। सात सालको आन्दोलन, ०३६ सालको जनमत संग्रहको आन्दोलन हुँदै बीपीले आफ्नो जीवन नै नागरिकको मौलिक अधिकार र लोकतन्त्र प्राप्तिको लडाईंमा समर्पित गर्नुभएको रहेछ। मलाई एकदिन बिहान भेट्न आउने एकजना पढेलेखेको तन्नेरी भाईले विपिको आत्मवृतान्त पढेको देखेर हाँस्दै भन्नु भयो, दाई क्रुर साशकले जनताको मुक्तिका लागि लड्ने क्रान्तिकारीलाई जेलमा थुन्छन् अनि निस्किँदा क्रान्तिकारीहरु विद्वान बनेर निस्किन्छन् भन्ने सुनेको थिएँ, तपाइँ पनि त्यसमै पर्ने छाँट देखें, भन्नुभयो। त्यसपछि हामी दुवैजना एकछिन खित्का छोडेर हास्यौं। मैले उहाँको नाम समेत सार्वजनिक गरिदिने थिएँ तर राज्यले उहाँलाई समेत निगरानीमा राख्न सक्ने हुँदा म भन्न असमर्थ छु। 

बीपीको आत्मवृतान्त पढ्दा मैले एकपटक सदनको रोष्ट्रममा उभिएर बोलेका स्वर्गीय कांग्रेसी नेता प्रदिप गिरिको त्यो अभिव्यक्ति पनि सम्झिएँ। उहाँले भन्नुभएको थियो, धेरै समय बिपी बाबुको संगत गर्दा बीपीको राजनैतिक चिन्तन र दुनियाँको भूराजनैतिक अवस्थितिको बारेमा उहाँको ज्ञान कति फराकिलो छ भन्ने कुरा मैले जहिले थाहा पाएँ बिपी बाबु प्रति मेरो सम्मान बढेर आयो, यस्तै केहि भन्नुभएको थियो। त्यसैले महामानव बीपीका बारेमा मैले जति बोले पनि थोरै हुन्छ। त्यसैले अब म वर्तमानका मूल मुद्दामा तपाईंको ध्यान केन्द्रित गर्न चाहन्छु।

भाग- १: कम्बोडियाको टेलिकममा लगानी

प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिएको कम्बोडियाको टेलिकम एक्जिएटामा लगानी भन्ने प्रमाणको आधारमा कम्बोडियामा प्रधानमन्त्रीको २१ करोड अमेरिकी डलर लगानी रहेको कुरा बाहिर सतहमा ल्याएँ। यसको लागि मैले आफ्नो समय र धनको लगानी गरें। नेपाली जनता माझ नेपाल सिध्याउने व्यक्तिको मुखुण्डो उतार्न पाउँदा म आज अत्यन्त हर्षित छु। मलाई थाहा छ भ्रष्टहरुको सत्ता निर्मम हुन्छ। उनीहरुले राज्यका सबै अंगलाई आफ्नो नियन्त्रणमा लिएर भ्रष्टाचारको दायराल़ाई आफू केन्दित गर्छन्। उनीहरुका बिरुध्द सत्ताको कुर्सि हल्लाउन सक्ने जो कोहि देश भक्तलाई अनेकन आरोपमा हिरासत र अन्तत जेलभित्र सडाउने षड्यन्त्र रचिन्छ। जसको परिणाम स्वरुप भ्रष्टको मुखुण्डो उतार्ने हिम्मत गरेकोमा निवासबाटै म पक्राउ परें। मलाई थाहा छ हिजो हिजो राणाकालमा राणा बिरुध्द बोल्ने, पंचायतकालमा पंच सरकार बिरुध्द बोल्ने र आज केपी ओलीका कालाकर्तुत बिरुध्द भण्डाफोर गरेर बोल्ने जो कोहीलाई बन्दुकधारी बर्दिवाला प्रहरीको दुरुपयोग गरेर पक्राउ गरिन्छ भन्ने कुरामा म पूर्ण रुपमा विश्वस्त नै थिएँ। सोहि बमोजिम म आफ्नै निवासबाट पक्राउ परें। क्रुर अलोकतान्त्रिक हिटलर प्रवृत्तिको शासक ओलीको नजरमा म मात्रै होइन आज रवि लामिछाने पनि त ओलीको नजरमा आँखाको कसिङ्गर भएका छन्। नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका स्वकीय सचिब राजेश बज्राचार्य हुँदै काण्ड ओली निवास प्रवेश गर्न थालेपछि रामेश्वर थापाको घरमा आधा रातमा कसरी भ्रष्टहरुको सरकार बन्यो भन्ने तपाईं हामी सबैले बुझेकै छौं। जसको प्रतिफल रवि लामिछानेले भोगिरहनु भएको छ। आज मैले भोगिरहेको छु र सुन्दै छु केही समयामा नै बालेनलाई पनि षड्यन्त्रको सिकार बनाइदै छ। 

मलाई विश्वास छ मैले सार्वजनिक गरेको प्रमाण १०० प्रतिशत सत्य हो। चार वर्ष अगाडि यही बिषय एक बिदेशी मिडियाले सार्वजनिक गरेको थियो। ग्लोवल वाच एनालाइसिस देखि नेपालका शासकका बारेमा अध्यन गर्ने अन्तर्राष्ट्रिय थिङ्क ट्याङ्कले केपी ओली एसियाकै भ्रष्ट नेताको रुपमा प्रमाणित गरेका थिए। एकाएक केपी ओलीको कम्बोडियाको टेलिकममा लगानी भनेर समाचार सार्वजनिक गर्ने मिडियालाई तत्कालिन समयमै वालुवाटार बोलाएर ओलीले अन्तरवार्ता दिएका छन्। गाइगुइँ हल्ला सुनिएको थियो, अन्तर्वार्तासँगै उक्त पत्रकारलाई समाचार लुकाउन झोला भरेर खजाना समेत दिइएको थियो। 

आज कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका मात्रै होइन राज्यको चौथो अंग पत्रकारिता समेत ओलीको मुठ्ठी भित्र कैद छ। मूलधारका मिडियाका मालिकहरु पत्रकार माथि कन्टेन्टमा कैंची लगाउन सिपालु छन्। किनकि मूलधारका मिडियाका मालिक नै सत्ता र शक्तिका वरिपरि रहेर अन्तर्राष्ट्रिय जासुस र एजेन्टका रुपमा देशद्रोही काम गरिरहेका छन्। 

अन्य मिडिया माथि सरकारले प्रेस काउन्सिल र साइवर ब्यूरो लगाएर नियन्त्रणमा राखेको छ। जसकारण सरकार बिरोधी कुनै पनि कालाकर्तुतका भण्डाफोर अब मिडियाले गर्न सक्दैनन्। त्यसका अलावा पनि देश बाहिर बस्ने देश भक्त बुध्दिजीवीहरु सत्यको खोजीमा अनवरत मुखरित हुँदै आएका छन्। म ती देशभक्तलाई कोटीकोटी धन्यवाद दिन चाहन्छु। 

आज नेपाल प्रहरी इतिहासमै सबैभन्दा बद्नाम भएको छ। प्रहरीका उच्चपदस्तहरु फुली थप्ने प्रलोभनमा शासकको गुलाम भएका छन्। जसको ज्वलन्त उदाहरण अहिले सीआईबीका प्रमुख दिपक थापा र प्रवक्ता होबिन्द्र बोगटी भएका छन्। मैले हिरासतमै थाहा पाएको छु होविन्द्र बोगटीले सरकारको प्रवक्ता जसरी मिडियामा बयान दिँदै हिँडेका छन् रे। जनताको हाडछाला घोटेर तिरेको करबाट तलब भत्ता खाने अनि देश र जनताको सेवा गर्ने कसम खाएको नेपाल प्रहरी आज भ्रष्टको मतियार ओलीको कठपुतली भएर अभिव्यक्ति दिनु आफैंमा राष्ट्रघात हो। 

मैले सार्वजनिक गरेको प्रमाणका आधारमा एकै रातमा झुटो हो भनेर भन्ने ओलीको प्रवक्ता बनेका होविन्द्र बोगटी र भ्रष्ट ओलीलाई पक्राउ नगरी भ्रष्टको प्रमाण सार्वजनिक गर्ने बिरुध्द नै जाइलाग्ने दिपक थापा बिरुध्द राज्यद्रोह लगायतका मुद्दा लिएर सम्मानित अदालत जान बरिष्ठ अधिवक्ता र पूर्व न्यायाधस्शसँगको छलफलमा मेरो तयारी भैसकेको छ। नेपाल प्रहरी भित्र सबै खराब छैनन्। राष्ट्रभक्त र कतब्यनिष्ठ जनताका सेवकहरु पनि छन् जसलाई वास्तवमै आइजीपीको फुली लगाइनुपर्छ। तर विडम्बना मैले सुनिरहेको छु ओलीको सेवामा आहोरात्र खटिएर देश र जनता प्रति गद्दारी गरेका दिपक थापा र होबिन्द्र बोगटीको काँधमा फुली थप्ने राष्ट्रघाती काम भ्रष्ट सरकारले गर्दै छ।

म माथि अनावश्यक झुटा मुद्दा थोपरेर थप प्रताडित बनाउने र आफ्नो देश लुट्ने धन्दामा कोहि बाधक बाँकी नराख्ने कुनियोजित खेलमा ओली छन्। मलाई विश्वास छ सम्मानित न्यायालयले कुनै दवाव र प्रभावमा नपरिकन न्यायको पक्षमा फैसला गर्ने छ। जुन गर्दै आइअरहेको छ। 

मेरो बिपक्षी दल प्रति पनि अनुरोध छ, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा र कांग्रेस भित्रका राष्ट्रवादी साथीहरुले केपी ओलीको कम्बोडिया लगानीको छानविनको लागि गैरराजनैतिक छानविन समिति निर्माणमा आवाज उठाउने छन्। यो बिषय केवल दुर्गा प्रसाईंको बिषय मात्रै नभएर देशमा मौलाएको भ्रष्टाचार नियन्त्रण राष्ट्रिय मुद्दा भएकाले सबैले यसमा साथ दिनुहुनुहुन्छ भन्ने पूर्ण विश्वास लिएको छु। 

- दुर्गा प्रसाईं
धन्यवाद  (सामाजिक सञ्जालबाट साभार)

प्रतिक्रिया