काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार अहिले पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु लागेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाका साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
आज काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दै गएको महाशाखाले जनाएको छ। आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रह्यो भने अहिले केही सुधार भई १० डिग्री सेल्सियस पुगेको छ। विभागले आज सङ्घीय राजधानीको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने प्रक्षेपण गरेको छ।
प्रतिक्रिया