हिउँदयाम सुरु भएसँगै वायुको गुणस्तर खस्किदो

काठमाडौँ। काठमाडौंलगायत विभिन्न सहरहरुमा वायु प्रदुषण बढ्न थालेको छ। हिउँदयाम सुरु भएसँगै वायुको गुणस्तर खस्किदो छ।

विहीबार काठमाडौं उपत्यकाको रत्नपार्क र खुमलटार क्षेत्र अस्वस्थकरको वर्गमा परेको छ भने चितवनको भरतपुर सबैभन्दा ‘प्रदूषित’ सहरका रुपमा देखिएको छ।

पछिल्लो २४ घण्टामा भरतपुरको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १६५ पुगेको वातावरण विभागले जनाएको छ।

रत्नपार्क र खुमलटारमा पनि एक्यूआई क्रमशः १६४ र १५७ पुगेको छ। यसअघि काठमाडौँ विश्वको आठौँ प्रदूषित सहरको रूपमा रहेको थियो।
 
विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ। विश्वभर वायु प्रदुषणका कारण वार्षिक रुपमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ।

नेपालमा ४२ हजार १ सय र काठमाडौंमा मात्र ५ हजार व्यक्तिको मृत्युको कारण वायु प्रदुषण भएको अध्ययनहरुले देखाएको छ।
 

प्रतिक्रिया