एनपीएल उद्घाटन खेलको टिकटका लागि फोन नगर्नुहोला: पारस खड्का

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएल उदघाटन खेलको टिकट सकिएको बताएका छन्। सीमित पूर्वाधारका कारण टिकट सकिएकाले घरबाटै खेल हेर्न आग्रह पनि गरेका छन्।

उनले खेलको लागि टिकट नभएकाहरूले टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्न अनुरोध गरेका हुन्।

साथै एनपीएलको पहिलो म्याचका टिकट र भिआईपी पासहरू सीमित पूर्वाधारका कारण सकिएको हुँदा सबैलाई समन्वय गर्न उनले अनुरोध गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “क्रिकेट संघ नेपाल (क्यान) ले आयोजना गरिरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गतको पहिलो म्याचका टिकट र भिआईपी पासहरू सबै सीमित पूर्वाधारका कारण सकिएको हुँदा कृपया सबैलाई समन्वय गर्न अनुरोध गर्दछौं। भोलिको खेलको लागि टिकट नभएका महानुभावहरूले कृपया टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्नुहुन हार्दिक अनुरोध गर्दछौं। कृपया भोलिको पासका लागि फोन वा सन्देश नगर्नुहुन हार्दिक अनुरोध गर्दछौं। बाँकी खेलहरूको लागि पनि अवसर हुनेछ। यहाँहरूको समर्थन निरन्तर रहोस्, र भविष्यमा पर्याप्त पूर्वाधारको साथ सबैलाई समेट्न सक्ने नेपाल क्रिकेट संघ बन्ने हाम्रो प्रयास जारी रहनेछ।”

साथै उनले भोलि(शनिबार)को खेलको पासका लागि फोन वा सन्देश नगर्न समेत आग्रह गरेका छन्। आठ टिम सम्मिलित एनपीएल शनिबारदेखि काठमाडौंमा सुरू हुँदैछ। उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स खेल्ने‍ छन्।
 

प्रतिक्रिया