गौतमबुद्ध विमानस्थल दिगो सञ्चालन गर्न चेम्बरको माग

लुम्विनी। नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन, लगानी र सम्भावनाबारे सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको छ। 

भैरहवामा आयोजित कार्यक्रममा चेम्बर लुम्बिनी प्रदेशले मुख्यमन्त्री चेत नारायण आचार्य, पदेशका मन्त्री, निजी क्षेत्रका प्रतिनिधीसंग वृहत अन्तरक्रिया आयोजना गरेको हो। 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्ने बताए।

‘लुम्बीनीमा लगानीः अवसर र चुनौति’ विषय कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले विमानस्थल सञ्चालनका लागि केन्द्र सरकारसँग समन्वय गर्ने प्रतिवद्धता समेत जनाए।

प्रदेश सरकारलाई बलियो बनाउनेगरी आन्तरिक समन्वय एवं लगानीको वातावरण सिर्जना गर्ने गरी काम भइरहेको उनको भनाई छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्णरुपमा संचालन गर्नका लागि सरकार प्रयासरत रहेको उनको भनाई छ। 

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले निजी क्षेत्रमा लगानीको वातावरण बन्नुपर्ने बताए। लुम्बिनी प्रदेश लगानी र प्राकृतिक श्रोतको दृष्टिकोणले उत्कृष्ट प्रदेश रहेको वरिष्ठ उपाध्यक्ष मल्होत्राको भनाई छ। 

लुम्बिनी प्रदेश चेम्बरका अध्यक्ष टंक प्रसाद पोख्रेलल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लािग सरोकारवाला निकायबीच पुर्ण समन्वय र पहल कदमी लिनुपर्नेमा जोड दिए। भारतीय पर्यटकलाई चेकजाचका नाममा अनावश्यक दुख दिने काम बन्द गर्नुपर्ने उनको भनाई छ। लुम्बिनी प्रदेशमा लगानी भित्र्याएर पर्यटक आर्कषित गर्नुपर्नेमा उनले जोड दिए। भैरहवा विमानस्थल पुर्णरुपमा सञ्चालन गर्नका लागि सवैको पहल आवश्यक रहेको अध्यक्ष पोखरेलले जोड दिए।  

प्रतिक्रिया