काठमाडौं । निर्वाच आयोगले भोलि मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । विभिन्न ४१ रिक्तपदका लागि आइतबार मतदान हुँदैछ ।
आयोगककी प्रवक्ता सहसचि वनिता पोख्रेल अर्यालका अनुसार निर्वाचन हुने सम्बन्धित स्थानीयतहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि आईतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदकालागि उपनिर्वाचन हुन लागेको हो ।
अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखानम्बर परिचय पत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।
गर्भवती, अपाङ्ग व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथाअन्य (लैङ्गिकतथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिइन् ।
मतदान सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणना स्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ । मतगणनाको अद्यावधिक परिणाम आयोगको वेबसाइटमा हेर्न सकिने आयोगले जनाएको छ ।
आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मताधिकारको उपयोग गर्न सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वाराष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखानम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ।
मतदान स्थलको निश्चित क्षेत्र बाहेक निर्वाचन सुरक्षामा असर नपर्नेगरी यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालय मार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन हुनुका साथै मतदान हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक विदाकालागि आयोगले सम्बन्धित निकायलाई अनुरोध समेत गरिसकेको जनाएको छ ।
प्रतिक्रिया