पोखरामाथि चितवनको फराकिलो जित

काठमाडौँ। चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ।

त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलमा चितवनले पोखरा एभेन्जर्सलाई ८७ रनले हरायो। जितका लागि एक सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा सबै विकेटको क्षतिमा ७४ रनमा समेटिएको थियो।

पोखराका लागि नारयण जोशीले ३० र मार्कस क्रिच्ट्लीले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। पोखरालाई सस्तैमा समेट्न चितवनका सोहेल तान्भिर, रिजन ढकाल र लुक बेन्केसटनले तीन तीन विकेट लिए। दीपक बोहराले एक विकेट झारे। 

यस अघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६१ रन बनाएको थियो। चितवनका लागि रवि वोपराले ५१ रनको अर्धसतकीय इनिङ्स खेले। कप्तान कुशल मल्लले ३८ रन बनाए।

चितवनको यो लगातार दोस्रो जितको हो। यसअघि पहिलो खेलमा चितवनले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको थियो। पोखराले हारबाट एनपीएलको सुरुवात गरेको छ।

प्रतिक्रिया