काठमाडौँ। काठमाडौंको केशर महलमा केशर पुस्तकालय, नेपालका राणा प्रधानमन्त्री केशर शमशेर राणाद्वारा १९४९ मा स्थापना गरिएको हो। पुस्तकालय ऐतिहासिक र सांस्कृतिक महत्वको सार्वजनिक पुस्तकालयको रूपमा परिचित छ। नेपाली साहित्य, इतिहास, संस्कृति, र पुरातात्विक अध्ययनका लागि महत्त्वपूर्ण स्रोत मानिने केशर पुस्तकालयमा प्राचीन पाण्डुलिपिहरू, ऐतिहासिक दस्तावेजहरू, र नेपाली तथा विदेशी भाषाका पुस्तकहरूको विशाल संग्रह छ।
यसमा विशेषतः पुराना हस्तलिखित ग्रन्थहरू, ऐतिहासिक सामग्री, दुर्लभ नेपाली साहित्यिक कृतिहरू, तथा भारत, चीन र युरोपका पुराना पुस्तकहरूको संग्रह उपलब्ध छन्। तथापी, २०७२ सालको विनाशकारी भूकम्पले पुस्तकालयको संरचनालाई तहसनहस बनाएको थियो। त्यसपछि यसको पुनर्निर्माण र संरक्षणका लागि विभिन्न पहलहरू गरिएका छन्। अहिलेको केशर पुस्तकालय नयाँ प्रविधि र संरचनात्मक परिमार्जनसहित स्थापित छ। यसै सन्दर्भमा, नेपाल न्यूज बैंकका तर्फबाट सुस्मिता बानियाँले केशर पुस्तकालयका प्रमुख यादवचन्द्र निरौलासँग पुस्तकालयको वर्तमान अवस्था, भएका परिवर्तनहरू र संरक्षणका लागि भएका प्रयासका विषयमा गरेको कुराकानीको सम्पादित अंश:
केशर महल पुस्तकालयको भौतिक संरचनामा परिवर्तन आएको छ। पुस्तकालय संचालन गर्न र पाठकहरुलाई यसले कस्तो मद्दत पुर्याएको छ?
भूकम्पबाट क्षतीग्रस्त बनेको संरचना निर्माणकै क्रममा छ, पूरा भइसकेकै छैन। हस्तान्तरण गरिएकै छैन। ठेक्काको समयावधी यो वर्षभरी नै छ। यसको पुनर्निर्माणको सम्झौता २०८१ चैत मसान्तसम्म हो। प्राप्त जानकारी अनुसार बैंशाखको १ गते चाहिँ सबै काम पूरा गरेर हामीलाई हस्तान्तरण गर्ने कुरा छ। त्यसपछि सेवा दिन सहज हुन्छ र पाठकहरुलाई पनि बढी भन्दा बढी पुस्ताकलय प्रयोग गर्ने अवसर मिल्छ। अहिले भने सामान्य अवस्थामै चल्दैछ।
केशर पुस्तकालय एउटा ऐतिहासिक म्यूजियम पनि हो। यसको अवलोकनका लागि नयाँ के व्यवस्था छ?
वि.स. २०७२को भुकम्प अगाडि पुस्ताकलय र संग्रालय दुवै थियो। तर, भुकम्पमा यहाँका भवनहरु भत्किएपछि प्रवलीकरण गरी अहिले यहाँ सरेका हौं। तथापी, हामीले त्यतिखेरका पुरातात्विक सामग्री सम्भव भएसम्म पूरानो केशरमहल जस्तो अवस्थामा थियो त्यस्तै अवस्थामा राख्ने कोशिस गरिरहेका छौं। तर, अलिकति प्रावधिक अफ्ठ्यारो छ। केशरमहल भवन प्रवलीकरण गर्दा भित्तामा चाहिँ फलामको जाली र रडहरु राखिएको छ। त्यसैले जहाँ पाए त्यहीँ डि्रल गर्न सक्दैनौ। कतिपय सामग्रीहरु चाहिँ झुन्डाउनुपर्ने छ। त्यो साम्रगीहरुका लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने छ। वैकल्पिक व्यवस्था गर्दा पुरानो जस्तो थियो त्यस्तै चाहिँ गर्न नसकिने होकी भन्ने छ। प्राविधिक अफ्ठ्यारो छ। त्यस्तो भयो भने महत्वपूर्ण सामग्रीहरुलाई एउटा हलमा ग्यालरीको रुपमा प्रयोग गरी त्यसैलाई पुस्तकालय र संग्रालयका रुपमा सेवा दिने सोच छ।
पुस्तकालयको ऐतिहासिक पक्षबारे केही जानकारी छ ?
केशर महल पुरातात्विक महत्वको भवन हो। करिब एकसय वर्ष पूरानो भइसकेको भएर यस भवनलाई विनिर्माण गरेर, नयाँ भवन बनाउन नमिलेकाले यसलाई पुरानो भवन जस्तो छ त्यस्तै गरी प्रवलीकरण गरिएको छ। केशर शम्शेर विक्रम सम्वत् १९४८ साल पुषमा जन्मनुभएको रहेछ र उहाँ १६ वर्षको हुँदा सन् १९०६ मा बुवासँग बेलायत जानुभएको रहेछ। सो समयमा बेलायतमा पु्स्ताकलय संग्रालयको व्यवस्था देखेपछि नेपालमा पनि गर्न पाए हुन्थ्यो भन्ने लागेर सन् १९०९ मा बेलायतबाट नेपाल उहाँ फर्किनुभएको इतिहास छ। बेलायतबाट फर्किएपछि बेलायतमा प्रकाशित पुस्तकहरु पनि नेपाल ल्याउने प्रबन्ध मिलाउनुभएको र पछि यसलाई पुस्ताकालय र संग्रालयका रुपमा विकसित गर्नुभएको पाइन्छ।
उहाँको देहावसनपछि उहाँकै परिवारले नेपाल सरकारलाई महल २०२४ सालमा हस्तान्तरण गर्नु भएको रहेछ। २०२६ सालदेखि पुस्कालय केशर शम्शेरकै नाममा केशर पुस्ताकलयका रुपमा संचालनमा ल्याइएको हो। अहिले केशर पुस्ताकलयमा ६५ हजार भन्दा बढी पुस्तकहरु छन्। त्यसमा केशर शम्शेर आफैंले त्यतिबेला संकलन गर्नुभएका लगभग २८ हजार पुस्तकहरु छन। रसबै पुस्तक केशरशम्शेरले सबै पढिसक्नु भएको र कुन पुस्तकमा के छ भनेर पनि उहाँलाई जानकारी थियो भन्ने गरिन्छ । त्यसैले त्यो समयमा केशर शम्शेरलाई ‘इन्साइकोपेडिया’ पनि भन्ने गरिन्थ्यो।
तपाईंले केशर शम्शेरका बारेमा कुनै रोचक कुरा वा किस्सा सुन्नुभएको छ ?
केशर शम्शेर ज्योतिष पनि हुनुहुन्थ्यो। उहाँलाई लगभग आफ्नो (केशर शम्शेर आफ्नो) स्वर्गारोहण हुन्छ भन्ने पनि पहिल्यै थाहा थियो भनेर भन्ने गरिन्छ। उहाँले भारतका तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरुलाई असाध्यै मान्नुहुन्थ्यो रे। उहाँले पुस्ताकालयमा बसेर पढिरहँदा अकस्मात जवाहरलाल नेहरुको मृत्यु भएको समाचार सुन्नु भएपछि एक खालको झड्का लागेको र उहाँ विरामी हुनुभएको थियो रे। विरामी भएको करिब सात आठ दिनपछि उहाँको देहावसन भएको भनिन्छ। केशर शम्शेर आफैं पनि अध्यनशिल भएकाले जवाहरलाल नेहरुको सिद्धान्तलाई मान्नुहुन्थ्यो।
उहाँ बेलायत गएर आएपछि पुस्ताकलय बनाएको, नेहरुको मृत्युको खबरले आठ दिनसम्म विरामी पनि पर्नुभएको कुरा गर्नुभयो। वास्तवमा उहाँले पुस्तकालय आफू पढ्का लागि बनाउनुभएको हो कि कोहीबाट प्रभावित भएर बनाउनुभएको हो, के लाग्छ ?
खासमा कुरा चाहिँ के हो भने केशर शम्शेर त्यतिबेलाको राणा परिवारको प्रधानमन्त्रीको सुपत्र भएर जन्मनुभयो। तथापि, पुस्ताकलय स्थापना गर्नको लागि पैसा कहाँबाट ल्याउने भन्ने समस्या हुँदा केशर पुस्ताकलय र स्वप्न बगैंचा बनाउनका लागि तिहारमा पारिवारिक जुवा खेल्दा तीन लाख रुपैयाँ जित्नु भएछ। र त्यहीँ पैसाबाट केशर पुस्ताकलय बनाउनु भएको भनिन्छ। उहाँमा पुस्तकालय खोल्नुपर्छ, अध्ययन गर्नुपर्छ, इतिहास जोगाउनुपर्छ भन्ने चेत थिएछ। सोही बेला उहाँले संकलन गर्नुभएको ११ सय वर्ष भन्दा पूरानो पुस्तक अहिले यहाँ संग्रहित छ। हस्तलिखित ग्रन्थहरु अहिले पनि सुरक्षित छन् ।
कुन पुस्तक हो त्यो ?
एघार सय ५० वर्ष पुरानो हस्तलिखित पुस्तक छ–सुश्रुतसंहिता। सुश्रुतसंहिता आयुर्वेद एवं शल्य चिकित्साको प्राचीन संस्कृत ग्रन्थ हो। यूनेस्कोले यसलाई मेमोरी अफ द वल्र्डमा पनि सन् २०१३ मा दर्ता गरेको छ।
त्यसोभए पुस्तक र दस्तावेजहरुको संरक्षणका लागि कस्तो प्रयास भइरहेको छ ?
यहाँ हस्तलिखित ग्रन्थहरु पनि छन्। यी सबै ऐतिहासिक महत्वका हुन्। तिनीहरुलाई पुस्तकालयले अहिलेसम्म संरक्षण र संर्वद्धन गरेर राखेको छ। कतिपय कुराहरुलाई हामीले प्रकाशन गर्न मिल्छ। कतिपय कुराहरु पुस्ताकलयको नितान्त सम्पत्ति हुन। त्यसैले हामीले राज्यको कानुन, प्रतिलिपी अधिकार लगायतले दिएको परिधिमा बसेर के के गर्न सक्छौ त्यो काम गर्न तयार छौं।
केशरमहल आफैंमा पुरातात्विक भवन हो। यसको मौलिकता जोगाउनका लागि कालिगढ र इञ्जिनियरहरु विदेशबाट झिकाइएको भन्ने चर्चा छ, खासमा के हो ?
केशर महल र सिंहदरबारको डिजाइन गर्ने राणाहरुका इनि्जनियर कुमारनरसिंह राणा हुनुहुन्थ्यो। उहाँहरुकै टिमले डिजाइन गर्नु भएको हो। यो सानो भएपनि बेलायतको राजदरबार हेरेर बनाइएको भनिन्छ। त्यसैले अहिले प्रवलिकरण गर्दा केही परिर्वतन गरिएको छैन। सकेसम्म त्यहीँ चिज राख्न खोजिएको छ। आर्किटेक्चर भने नेपाली नै हुन। केशर शम्शेरज्यू कै पालामा बनेको भएर त्यतिबेलाको प्रविधिलाई त्यतिकै परिवर्तन गर्न सकिदैन। अहिले नयाँ धेरै केही थपेको छैन्, पूरानै सेपमा छ। प्रतात्विक महत्वको भएकाले पनि यसमा हामीले केही गर्न मिल्दैन पनि।
अहिलेको केशर महलमा नयाँ के थपियो त ?
पूराना काठहरु प्रयोग गर्न मिल्ने थिएनन्। त्यसमा हामीले नयाँ काठहरु थप्यौं। फलामहरु थपिएको छ, रडहरु थपिएको छ। अरु त केही नयाँ प्रयोग छैन। त्यतिबेला चुनासर्कि प्रयोग भएको थियो अहिले पनि त्यहीँ नै प्रयोग गरिएको छ।
पुनर्निर्माण गर्दा प्रयोग भएका सामग्री र गुणस्तरका विषयमा प्रश्नहरु उठेका छन् नि?
यसमा प्रश्न उठ्नुपर्ने जस्तो लाग्दैन्। स्थानीय प्रविधि यहीँका प्रयोग गरेका छौं। कतिपय नेपालका हुन। अधिकांश सामग्रीहरु आयात गरिएको छ। कार्नेसका कुराहरु भारतबाट ल्याइएको हो। हामीले डिजाइन पठाएका थियौं।
पुस्तकालयमा दैनिक आगन्तुकको संख्या कति छ ?
दैनिक करिब एक सयजना भन्दा बढी आउनुहुन्छ।
पछिल्लो समय प्रविधिको प्रयोग बढ्दो छ। पुस्तकालयसम्म पुगेर अध्ययन गर्ने वा पठन संस्कृतिको अवस्था कस्तो छ ?
पठन संस्कृतीको कुरा गर्दा अहिले छापा माध्यमबाट पढ्ने, छापिएका पुस्तक तथा पत्रपति्रकाहरु पढ्नेहरुको संख्या घटेको छ। अहिले पति्रकाहरु पनि पहिला जुन रेसियोमा प्रकाशन हुन्थ्यो अहिले कतिपयको प्रकाशन नै बन्द भएको अवस्था छ। पहिला घरघरमा पुग्ने पत्रिकाको संख्या अहिले अलि कम भएको छ। यसरी हेर्दा छापा माध्यम कम भएको छ। तर, अर्कोतर्फ छापामा कम भएको संख्या विद्युतीय माध्यममा सिफ्ट भएको छ।
त्यसोभए डिजिटल लाइब्रेरीको बारेमा सोच्नु भएको छ ?
हामीले विद्युतीय लाइब्रेरीको विकास गर्नेतर्फ योजना बनाएका छौं। अर्थात, घरमै बसेर मोबाइल वा ल्यापटबाट पढ्ने वातावरण विकास गर्नपर्ने भएको छ। त्यसको प्रारम्भिक काम नेपाल सरकारले विशेषतः शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले डिजिटल लाइब्रेरीको प्रारम्भिक खाका तयार गरेको छ। एसियाली विकास बैंकको प्राविधिक सहयोगमा, कोरियाली सरकारको आर्थिक अनुदान र युनेस्कोको पनि केही प्राविधिक सहयोगमा, केशर पुस्ताकलय, राष्ट्रिय पुस्ताकलय, डिल्लीरमण रेग्मी पुस्ताकलयमा रहेका महत्वपूर्ण पुस्तक तथा दस्तावेजहरुलाई डिजिटाइजेसन गर्ने र डिजिटलाइज गरिएका दस्तावेजहरुलाई डिजिटल लाईब्रेरीमा राख्ने कुरा भएको छ। संँगसँगै एउटा राष्ट्रिय विद्युतीय पुस्तकालय बनाउने भनेर परियोजना सुरु भएको छ। त्यसको प्रारम्भिक काम पनि सुरु भएको छ। निकट भविष्यमा केशर पुस्ताकालयले डिजिटाइजड् गर्नुपर्ने पुस्तकहरु कुन कुन छन् भनेर पहिचान गर्नुपर्ने छ। किनभने, सबै पुस्तकहरु गर्नु पर्दैन। कहीँ न कहीँबाट पहिचान भइसकेका छन। त्यसैले डिजिटल लाइब्रेरीमा हामी उन्मुख छौं।
पुस्तकालयलाई विकास समितिअन्तर्गत लैजाने चर्चा पनि थियो । के भयो ?
चर्चा भएको हो। तर, पुस्ताकलय अहिले नेपाल सरकार अन्तर्गत नै संचालन भइरहेको छ। अहिलेलाई केशर पुस्तकालय विकास समिति अन्तर्गत लैजाने सोच छैन।
समिति अन्तर्गत लैजानुपर्ने जरुरी छैन त्यसोभए ?
विकास समिति हुँदा सशक्त ढंगले चल्न सकेन भने कर्मचारीमा एक खालको नैराश्यता पैदा हुन्छ। विकास समिति अन्तर्गत हुँदा सरकारले विकास समितिलाई आफैं आर्जन गरेर आफैं धानिन् सक्नुपर्छ भन्छ। यो पुस्तकालयलाई विकास समिति बनायो भने आफैं आयआर्जन गरेर आफैं सस्टेन हुन समस्या पर्छ। छापाको पठन वा अध्ययन घटिरहेको बेलामा पाठक आउँछन र केही शुल्क दिएर पढ्छन भन्ने निश्चित छैन्। निशुल्क हुँदा त पाठक पाउन गाह्रो परिरहेको छ। त्यसैले भोलि विकास समिति भइसकेपछि नियमित सेवा दिन हामी सक्छौ कि सक्दैनौ ? नियमित स्रोतको व्यवस्था हुन्छ की हुँदैन लगायतका कुराहरु निश्चित नगरी विकास समितिमा गयौं भने दुर्घटना हुनसक्छ। त्यसैले केशर पुस्तकालय विकास समितिमा जानु हुँदैन।
तपाईं भर्खरै प्रमुखको जिम्मेवारीमा आउनुभएको छ। केशर पुस्ताकलयमा केही नयाँ योजनाहरु छन ?
निकट भविष्यमा समय विस्तार गर्ने र योजनाहरु बनाएर काम गर्ने छौ। जाडोको समयमा बिहान् ९ बजेदेखि साँझ ५ बजेसम्म, गर्मीको समयमा बिहान् ९ बजेदेखि साँझ ६ बजेसम्म पुस्तकालय खोल्ने योजना बनाइरहेका छौ।
पुस्तकालयसँगै रहेको स्वप्न बगैंचा पनि केशर महलकै मातहतमै संचालित हो ?
छैन। स्वप्न बगैंचा विकास समिति अन्तर्गत संचालन भइरहेको छ। स्वप्न बगैंचा केशर शम्शेरले केशर पुस्ताकलयसँगै स्थापन गर्नु भएको हो। स्वप्न बगैँचामा हिमाल, पहाड र तराइका फूलहरु छन्। नेपालका मात्रै नभएर यूरोपियन देशहरुमा फूल्ने फूलहरु पनि छन्। बगैंचाको आफ्नै ऐतिहासिक र पुरातात्वीक महत्व छ।
प्रतिक्रिया