काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको मुख्य कार्यालयमा आफ्नो कार्यकक्ष स्थापना गरेका छन् ।
प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष समेत रहेका मन्त्री खड्काले कार्यसञ्चालनका सन्दर्भमा छलफल, सम्वाद र समन्वय गर्न सहज हुने भएकाले प्राधिकरणमै कार्यकक्षको आवश्यकता परेको स्पस्ट पारेका छन् ।
सिंहदरबारस्थित उर्जा मन्त्रालयमै धाउनुपर्ने वाध्यताले पर्ने गरेको व्यवहारिक अप्ठेरोलाई अन्त्य गर्दै मन्त्री आफैं प्राधिकरणमा उपस्थित भैदिँदा कार्यसञ्चालमा सहजता हुने बताईएको छ । यसअघि प्राधिकरण मुख्यालयमा अध्यक्षको कार्यकक्ष थिएन । कार्यकक्ष बनेको भोलिपल्टै मन्त्री खड्का प्राधिकरण पुगेर कार्यशैलीमा परिवर्तन गरेका छन् ।
प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिंगको अनुपस्थितिको मौका छोपेर मन्त्रीले कार्यकक्ष बनाउन लगाएको भनि गरिएको प्रचारमा कुनै सत्यता नभएको र त्यस्तो प्रचार आग्रहपूर्ण रहेको मन्त्रीका एक सहयोगीले बताएका छन् ।
मन्त्री खड्काले सम्वादादाताहरुसँग भने, ‘आफू प्राधिकरणका अध्यक्षको जिम्मेवारी पूरा गर्न आउँदा कार्यकक्षको अभावमा असहज भएकाले कार्यकक्ष बनाउन आवश्यक देखेर बनाएको हो । यसमा अन्यथा शंका आशंकाको कुनै अर्थ छैन र सत्यता बाहिरको प्रचारमा कुनै आधार छैन ।’
प्रतिक्रिया