काठमाडौँ। कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजमाथि रोमाञ्चक जित निकालेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हरायो।
जितका लागि एक सय ३१ रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले १९.५ ओभरमा चार विकेटको क्षतिमा एक सय ३२ रन जोड्दै लक्ष्य पूरा गरेको हो।
कर्णालीका लागि भारतीय क्रिकेटर शिखर धवनले ४५ रन बनाए। उनले ४१ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका हुन्।
यस्तै चाडविक वाल्टनले ३० र देव खनालले २९ रन बनाए। जिसन मक्सुदले अविजित १२ र अर्जुन घर्तीले ११ रन बनाए। बलिङमा चितवनका कुशल मल्ल, रवि बोपरा र जान निकोल लफ्टी-इटनले एक एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन बनाएको थियो ।
चितवनका लागि बोपाराले ४० बलमा सात चौका र एक छक्काको सहयोगमा ५९ रन बनाए। कप्तान कुल मल्लले २३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिए। जिसम मक्सुदले दुई तथा सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिए। लिगमा तीन खेल सकेको कर्णालीको यो पहिलो जित हो।
यसअघि कर्णाली जनकपुर बोल्ट्ससँग आठ र काठमाडौँ गुर्खाजसँग तीन विकेटले पराजित भएको थियो। तीन खेलका पहिलो हार खेपेको चितवनले यसअघि पोखरा एभेन्जर्सलाई ८७ रन र काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको थियो।
शुक्रबार (आज) हुने अर्को खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया