झापा । प्रधानमन्त्री केपी शर्मा ओली झापा आउँदैछन् । विभिन्न कार्यक्रममा सहभागी हुन उनी आउने भएका हुन् ।
प्रधानमन्त्री ओलीले आइतबार झापाको मेचीनगरमा मावनसेवा आश्रम भवनको शिलान्यास गर्ने कार्यक्रम छ । यस्तै, दमक नगरपालिका–३ मा नवनिर्मित ‘विजनेश टावर’ उद्घाट गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।
ओलीले सोमबार दमक–३ स्थित बेलडाँगी खानेपानीको उद्घाटन, गौरादह नगरपालिकाअन्तर्गत महारानीझोडामा जग्गा धनीपुर्जा वितरण, गौरादहमै ताजपुरिया समाजको भेला तथा बिर्तामोडस्थित सीटी सेन्टरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
यसैबीच, प्रदेश नामकरणप्रति असन्तुष्ट पहिचानवादी संगठनहरुले प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रममा अवरोध गर्ने तयारी गरेका छन् । कोशी प्रदेशको ‘प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ ले प्रधानमन्त्रीलाई लक्षित गरेर कार्यक्रममा अवरोध गर्ने निर्णय गरेको हो ।
समितिका संयोजक प्रेम एक्तेनको अध्यक्षता तथा घटक संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागितामा मंसिर २० गते बिहीबार बसेको भर्चुअल बैठकले प्रधानमन्त्री सहभागी कार्यक्रममा सशक्त रूपले अवरोध एवं प्रतिरोध गर्ने निर्णय गरेको हो । समितिले कोशी नामको प्रयोग र कोशी नाममा हस्ताक्षर गर्ने प्रदेश सांसद उपस्थित हुने कार्यक्रममा प्रतिरोध गर्ने निर्णय यसअघि नै गरेको थियो ।
संघर्ष समितिमा पहिचानवादी मोर्चा, किराँत, याक्थुम चुम्लुङ, पहिचानसहितको प्रदेश नम्बर १ पुनः नामांकन अभियान समिति, जसपा नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल जनमुक्ति पार्टीलगायत छन् ।
समितिले पहिचानविरोधी भन्दै कोशी नामको पक्षमा हस्ताक्षर गर्ने कांग्रेस, एमाले र माओवादीका ८२ जना प्रदेशसभा सदस्यलाई कार्यक्रमहरुमा सहभागी नगराउन आह्वान गर्दै आएको छ ।
सरल पत्रिकाका अनुसार, २०७९ फागुन १७ गते प्रदेशसभाको दुई तिहाइभन्दा बढी बहुमतबाट तत्कालीन प्रदेश १ को नाम ‘कोशी’ राखिएको थियो । (फायल तस्बिर)
प्रतिक्रिया