जनकपुरधाम । मधेश प्रदेशका जिल्लामा यो वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार यस वर्ष प्रदेशमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिक टन धान उत्पादन हुने अनुमान छ ।
गत आर्थिक वर्षमा १२ लाख ९६ हजार ६ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष उत्पादन बढ्ने मन्त्रालयको अनुमान छ । समयमै पानी परेको, मल तथा बीउ सजिलो गरी उपलब्ध भएको तथा मौसमले साथ दिएकाले धान उत्पादन राम्रो भएको मन्त्रालयका कृषि प्रसार अधिकृत तथा प्रवक्ता रोशनकुमार मेहताले बताए ।
धानबाली लगाइएको क्षेत्रफल तथा उत्पादन हुने अनुमानका आधारमा गएको वर्षको तुलनामा यस वर्ष प्रतिहेक्टर शून्य दशमलव पाँच मेट्रिक टन धान बढी उत्पादन हुने मन्त्रालयको अनुमान छ । गत वर्ष प्रतिहेक्टर तीन दशमलव ५० मेट्रिक टन धान उत्पादन भएको थियो ।
सप्तरीमा ६५ हजार दुई सय ८० हेक्टर जमिनमा दुई लाख ६१ हजार एक सय २० मेट्रिक टन र रौतहटमा ३७ हजार ६ सय २० हेक्टरमा एक लाख ५० हजार चार सय ८० मेट्रिक टन धान उत्पादन हुने मन्त्रालयको अनुमान छ ।
पर्सामा ४६ हजार हेक्टरमा एक लाख ८४ हजार सात सय ४९ मेट्रिक टन, सर्लाहीमा ४५ हजार हेक्टरमा एक लाख ८२ हजार एक सय ६० मेट्रिक टन, धनुषामा ४१ हजार पाँच सय ६५ हेक्टरमा एक लाख ६६ हजार दुई सय ६० मेट्रिक टन धान उत्पादन हुने अनुमान छ ।
महोत्तरीमा ४१ हजार नौ सय ८२ हेक्टरमा एक लाख ६७ हजार सात सय ७० मेट्रिक टन, सिरहामा ५२ हजार तीन सय ८० हेक्टरमा दुई लाख नौ हजार पाँच सय २० मेट्रिक टन, बारामा ४५ हजार ९९ दशमलव पाँच हेक्टरमा एक लाख ८० हजार तीन सय ९८ दशमलव चार मेट्रिक टन धान उत्पादन भएको अनुमान गरिएको सरल पत्रिकाले लेखेको छ ।
प्रतिक्रिया